पर्यटकको ‘फेभरेट स्पट’ पोखरा

२०७५ चैत ७ बिहीबार १२:१९:०० मा प्रकाशित

सुन्दर नगरी पोखरा पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । सुविधा र सुन्दरताको कारण पोखरालाई आन्तरिक तथा बाह्य दुबै पर्यटकले मन पराएको बुझ्न कठिन छैन ।

पोखरा प्रवेशसँगै धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमश्रृंखला देखेपछि मन गद्गद् नहुने शायदै कोही हुन सक्छन् । तालै तालको नगरी पोखरामा भएका उत्तम पर्यटकीय स्थलका कारण पनि पोखरा छुटाउनै नहुने गन्तव्यमा पर्दछ ।

हिमालको दृश्यावलोकनका बाहेक स्थानीय सत्कारका साथै फेवा, बेगनास, रुपा, गुदे र खास्टे जस्ता तालहरुले पनि पोखराको सुन्दरता बढाएको छ भने डेभिस फल्स, महेन्द्र गुफा जस्ता आकर्षणले पनि पोखरालाई थप लोभलाग्दो बनाएको छ ।

काठमाडौंबाट करिब २ सय किलोमिटरको दुरीमा मात्र रहेको कारण पनि यहाँ पुग्न सहज रहेको छ । पोखरा पुग्न सडक मार्ग तथा हवाइ मार्ग दुबै विकल्प रहेको छ ।

पोखराकै सराङकोटबाट देखिने सुर्योदयको दृश्य देखि त्यहाँ उपलब्ध प्याराग्लाडिङ, वाटर बलिङ, स्ट्याण्ड अप प्लाडलिङ, जिप लाइनिङ जस्ता अन्य साहसिक खेलले पनि पोखरालाई पर्यटकको छनौटमा पारिरहेको छ ।

मानिसको घना बस्ती भएपनि अन्य शहरको तुलनामा सफा रहेको पोखरा नै विदेशी तथा स्वदेशी पर्यटकको ‘फेभरेट स्पट’ बनेको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउनको लागि पोखराको विशेष योगदान रहने जानकारहरु बताइरहेका छन् ।

अन्य क्षेत्रको तुलनामा बढि वर्षा हुने भएपनि मानव जिवनलाई सुहाँउदो मौसमका कारण पनि पोखराले पर्यटकको मन जितेको पर्यटन व्यवसायीहरु बताउँछन् । व्यवसायिक रुपमा खुलेका साना ठुला होटल तथा लजहरुले पनि पर्यटकको रोजाइ र क्षमता अनुसारको माहोल दिने गरेको छ ।

प्रकृतिको सुन्दरता नजिकबाट हेर्न चाहने तथा सहजै हिमाली क्षेत्रको आनन्द महसुस गर्नेको लागि पोखरा एउटा प्रमुख गन्तव्य बन्न सक्छ ।

निमार्णाधिन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरामा पर्यटकको ओइरो लाग्ने लगभग पक्का नै छ । भारतीय, चिनियाँ तथा युरोपेली देशका पर्यटकले कम्तिमा पनि एक रात बस्न रुचाउने पोखरा पर्यटकीय नगरीको छविमा खरो उत्रेको छ ।

 

 

ताजा खबर