प्रचण्डको अमेरिका यात्राः पर्दाभित्र र बाहिरको कथा 

२०७५ चैत ५ मंगलबार १३:१९:०० मा प्रकाशित

प्रचण्ड आफ्नी पत्नी सीता दाहालको दीर्घरोगको उपचार गर्न अमेरिका आईपुगे । अर्काको सन्तान जति मारेपनि, उनीहरुको लाशमा टेकेर सत्ताको शिखरमा पुगेपनि, आफ्नोलाई पीडा हुँदा सबैको मन किचिक्क हुन्छ । सैध्दान्तिक रुपले उनको अमेरिका आगमनले कतिपयलाई आश्चर्यमा पारेको होला । तर यो आश्चर्यको कुनै तुक छैन । उनी गोरखामा मास्टरी गर्दा आफ्ना बिद्यार्थीलाई अमेरिकी साम्राज्यवाद  बिरुध्द जागरुक तुल्याउने होनहार कम्युनिष्ट नेता हुन् ।

त्यो बेला देखि अस्ति भर्खरको ‘बेला न कुबेला भेनेजुएला’ काण्डसम्म पनि उनको त्यो शास्वत सैध्दान्तिक अडानमा कुनै परिवर्तन आएको छैन । उनले माधव नेपालसँग मिलेर तयार पारेको एउटा बक्तब्यको खेस्राले पूँजीवादीहरुको डाभोस सम्मेलनमा पुगेका प्रधानमन्त्री केपी ओलीलाई नेपालको एयरपोर्टमा ओर्लिंदा आच्छु आच्छु पार्यो ।

प्रचण्ड व्यवहारिक राजनीतिमा बिश्वास गर्ने मान्छे हुन् । अलंकारयुक्त भाषाले लिपपोत नगरि भन्ने हो भने उनी खतरनाक अवसरवादी हुन् । उनी आफुलाई बाहेक जो सुकैलाई जतिसुकै बेला पनि भड्खालोमा जाक्न सक्ने सामथ्र्यका धनी हुन् । सामान्य जीवन यापन गर्नेहरुका लागि यो चरित्र गाली हो । राजनीतिका खेलाडीका लागि उपलब्धि । साम्यवादको रातो झण्डा ओढेपनि व्यवहारिक रुपले उनी पूँजीपति व्यापारीको अवतारमा रुपान्तरित भैसकेका व्यक्ति हुन् । राजनीतिको बजारमा आशाका नक्कली हिरामोती बेच्ने एक वाकपटु चनाचटपटेवाला ! आफ्नो व्यवहारिक राजनीतिको उपयोग गर्दै अहिले प्रचण्ड आफ्नी अर्धाङ्गिनीको स्वास्थ्यका खातिर अमेरिका आईपुगे ।

 
प्रचण्ड जानुपर्ने त क्युबा हो । त्यहाँको शासन प्रणाली प्रचण्डले चाहे जस्तै छ । त्यहाँका जनताले मौलिक नागरिक हकमा जतिसुकै सम्झौता गर्नुपरोस्, त्यो मुलुकका डाक्टरहरु अब्बल दर्जाका छन् । पिÞmडेलका भाई कास्त्रो अहिले त्यहाँका सर्वेसर्वा हुन् । प्रचण्डको एक अनुरोधका भरमा सीताका लागि क्युवामा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा रातो कार्पेटमा हाजिर हुनुपर्ने हो । तर प्रचण्डले उता जान उचित ठानेनन् । होला, हामीलाई थाहा नभएको कुनै कुरा ।

प्रचण्ड उत्तर कोरिया गएपनि हुन्थ्यो । उत्तर कोरियाको शासन व्यवस्था प्रचण्डको सैध्दाान्तिक आदर्शको उत्कर्ष हो । पार्टीभित्र ओलीलाई कमजोर तुल्याउन प्रचण्डको काँध थाप्ने माधव नेपाल र उत्तर कोरियाको सम्बन्ध नङ र मासुको जस्तै छ । माधव नेपालकै आग्रहमा उत्तर कोरियाका निर्विवाद नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने मनसाय बनाएको कुरा स्वयं माधव नेपालले भनेका हुन् । त्यहाँका जनता भोकमरीले मरेपनि शासक बर्गका लागि त्यहाँ सेवा र सुविधाको कुनै कमी छैन । तर प्रचण्ड त्यता पनि गएनन् । किन ? यसको जवाफ माधव नेपाललाई नै सोधे बेस ।

 ‘प्रचण्ड एक सामान्य लोभी, स्वार्थी र बिकाउ मान्छे’

हिजो फेसबुकमा कसैले एउटा तस्वीर ‘पोष्ट’ गरेको थियो । तराईका एक बृध्द अनि निर्धन, शायद किसान या मजदूर, आफ्नो छोरालाई अरबतिर पठाउन बिमानस्थल पुगेका थिए । छोरा उनको आँखाबाट ओझेल भैसकेपछि पनि ती बाबु आफ्नो ठाउँबाट टसमस भएनन् । पहुँच भएकाहरु आफ्नालाई अध्यागमनको अन्तिम बिन्दुसम्म अँगालो मारेर पुर्याउन सक्छन् । ती बूढाको यस्तो सामथ्र्य थिएन । उनी शिशाको तगारोमा आफ्नो आँखा जोतिरहे । उनको छोरा अलप भैसकेको थियो । शायद उनी ऋण काढेर, भएको जायजेथा बन्धकी राखेर छोरालाई खाडीमा तातो बालुवामाथि पसिना बगाउन पठाएको क्रुर यथार्थका कारण बिक्षिप्त थिए । उनको छोरा भोली काठको बाकसमा बन्द भएर, नाकमा कपासको ठोसो कोचेर फर्किने पो हो कि भन्ने चिन्ताले यी बूढालाई गलाएको पो थियो कि ?

त्यतिनैबेला, विमानस्थलको अति विशिष्ट कक्ष बाहिर उन्मादी अभिषारकहरुको भीड थियो । उनीहरुको अनुहारमा हाँसो र हातमा खादा थियो । साम्राज्यवादी अमेरिका बिरुध्द आजीवन बिरोधको बिगूल फुक्ने कामरेड प्रचण्ड ईत्तेहाद एयरलाईन्सको विशिष्ट कक्षमा सपत्नी अमेरिका ऊड्दै थिए । उनकी पत्नीको उपचार पहिले भारतमा, त्यसपछि सिंगापुरमा पनि भएको हो । सत्र हजार मान्छेको जीवन केही होईन । सत्र हजार मान्छेको जीवनमा आधारित कति हजार मान्छेको जीवन प्रभावित भयो होला ? कति परिवार आफ्नो हुँदा खाँदाको घर खरानी तुल्याएर चपरी मुनिको बास बस्न विवश छन् ? त्यो बूढाको छोरा जस्तै कति हजार ‘अयोग्य’ माओवादी सेनाका लडाकुहरु अहिले मरुभूमिमा आफ्नो रगतको मूल्य   चुकाउँदैछन् ? प्रचण्डका लागि यस्ता प्रश्नहरुको कुनै मूल्य छैन । उनको सरोकार आफ्नी सीताको स्वास्थ्य लाभको हो । प्रचण्ड बामपन्थी लोकका रामचन्द्र जो हुन् !

 
प्रचण्ड परिवर्तनका सूत्रधार होईनन् । प्रचण्डका प्यादाहरुका लागि उनी माओ, लेलिन, मार्क्स, चे गुएवारा, हो चि मिन्ह, कानु सन्याल र चारु मजुमदारका एकीकृत स्वरुप हुनसक्छन् । तर भारतीय खुफिया एजेण्टहरुका लागि उनी फगत एक प्यादा हुन् । युरोपेली ख्रिस्तानहरुबाट विभिन्न भेषमा संचालित गैरसरकारी संस्थाका हाकिमहरुका लागि उनी लेण्डुप दोर्जे जस्तै एक अस्थायी रणनीतिक सहयात्री हुन् । उनीहरुको स्वार्थ सिध्द हुन्जेल प्रचण्डले हेगस्थित अन्तर्राष्ट्रिय अदालतको बन्दीले पाउने अण्डा र पाउरोटीको स्वाद चाख्नु पर्ने छैन ।

नेपालको संघीय गणतान्त्रिक संबिधान जारी हुनेबित्तिकै भारतीय ईशारामा डाक्टर बाबुराम त्यसै उछिट्टिएका होईनन् भन्ने कुरा प्रचण्डलाई ज्ञात छ । बुझ्नेहरुलाई ईशारा पर्याप्त हुन्छ । राजनीति गरेर देशको मुहार फेर्छु भन्दै देश लुट्नेहरु ईशारा बुझ्न सिपालु हुन्छन् ।

 
भारतको ईशारा बुझ्यो । सतहमा भारतको बिरोध गर्यो । अन्तर्यमा भारतको सन् १९४७ देखिको नेपाल रणनीतिलाई सघायो । देशलाई संघीय गणतन्त्रको चरणमा ल्याएर थन्क्याईदियो । युरोपेलीको ईशारा बुझ्यो । देशलाई जातिवादको भूमरीमा पार्न धर्म निरपेक्षताको दावानलमा   झोसिदियो । प्रचण्डका लागि रगतको आहुति दिने सिमान्तिकृत, दलीत र बिपन्न समुदायका सन्तान आज देशमा आजीविका धान्न नसकेर परदेशमा छन् । उनको युध्दमा टाउको, ढाड र गोडामा गोली थापेकाहरु फलामको टुक्रा बोकेर अपाहिजको जीवन गुजार्दैछन् । प्रचण्ड पत्नीको उपचारका लागि अमेरिकाको जोन हप्कीन्स अस्पतालमा आएका छन् ।

उनले छोरीहरुका लागि करोडौंको महल किनिदिएका छन् । उनका छोरा प्रकाश दाहाल आफ्नो सुरक्षाका लागि बाईस लाख पर्ने एउटा राइफल किन्न चाहन्थे । उनको सुरक्षा योजना पुरा नहुँदै आफू सुतेकै ओछ्यानमा कालले हरेर लग्यो । अर्की छोरी क्यान्सरले हरण गर्यो । सीता रुग्ण हुनु स्वाभाविक थियो । पैसा र ‘पावर’ले भरिपूर्ण छन् प्रचण्ड । तर उनी सुखी छैनन् । नीमको बिरुवा रोपेर स्याउ खान कहाँ पाईन्छ र ? तैपनि, जिजीविषाको कुरा हो । प्रचण्ड आफ्नै लागि संघर्षरत छन् । जुन काम गर्दा पैसा र ‘पावर’ प्राप्त हुन्छ, प्रचण्ड त्यो गर्न सिपालु छन् ।

 
अरिङ्गालको सिण्डिकेट

 
छयालीस साल अघिको पंचायती शासन प्रणाली सर्पको थियो भने त्यसपछि सत्तामा आउनेहरु नाग भएर निक्ले । नपाउनेले केरा पायो भने चियामा चोपेर खान्छ भन्ने एउटा उखान छ । सबैले पालैपालो शासन गरे । खाने मामिलामा कोही कोहीभन्दा कम देखिएनन् । बिदेशीहरु यो दृश्य चुपचाप हेरिरहेका थिए भन्ने कसैले सोचेको हो भने त्यो गलत हो । भारतले आफ्नो दाउ फेर्यो । प्रचण्ड त्यसमा मिसिए । भारतको बिरोध गरेको देखाएर भारतको दीर्घकालीन स्वार्थका लागि नेपालमा ‘जनयुध्द’ संचालन गरेर दिल्ली छेउको  नोएडामा सपरिवार आईस्क्रीम खाँदै बसे । गिरिजाले सशस्त्र प्रहरी खोले । हतियार चाहियो । गिरिजालाई दरवारले छिर्की लगायो । शेरबहादुर पार्टी फÞुटाएर सत्तामा आए । यूरोपेलीले हतियार बेचे । दरवार, सेना र शेरबहादुरको झुण्डले कमिसन लप्कायो ।

 

अरिंगाल ओलीका कार्यकर्ता होईनन् । यी त देखाउने बारुला मात्र हुन् । असली अरिंगाल त केपी ओली र शेरबहादुर देउवा हुन् । जसले जानाजान प्रचण्डसँग सत्ता स्वार्थका खातिर हात मिलाए । सेना समायोजनमा प्रचण्डले अर्बाैंको हिनामिना गरेको यथार्थ यी दुवैलाई थाहा थियो । जनयुध्दका बेला लुटेको धन प्रचण्डले अजेय सुमार्गी मार्फत बिदेशी बैंकमा जम्मा गरिएको सत्य यी दुवै नेताहरुबाट लुकेको छैन ।  

लेख्न त प्रचण्डले ‘बेला न कुबेला भेनेजुएला’ बक्तब्य जारी गरेपछि अमेरिकी राजदूत र उनको गोप्य भेट भएको कुरा पनि लेखिएकै हो । तर त्यो भेटमा त प्रचण्डले अमेरिकी राजदूतलाई आफ्नी पत्नीको अमेरिकामा उपचार गर्ने वातावरण मिलाइदिन ‘सहजीकरण’ गर्न पो अनुरोध गरेका रहेछन् ।  यू ओके मिष्टर ओली ?

वाशिंगटनस्थित नेपाली राजदुतावास भित्रका एकजनाले मलाइ खुसुक्क सुनाए,‘सीता दाहालको अमेरिकामा उपचार गर्ने चाहना बमोजिम प्रचण्ड त्यसको तारतम्य मिलाउन खोज्दैथिए । अचानक भेनेजुएला प्रकरणमा प्रचण्डको बक्तब्य जारी भयो।’

 
ती कर्मचारीका अनुसार,‘त्यो बक्तब्य, डाभोस सम्मेलनमा सहभागी हुन पुगेका ओलीका लागि एउटा अप्रत्याशित टाउको दुखाई मात्र थिएन।’ यसको आशय, प्रचण्डको आफ्नी पत्नीलाई अमेरिका निःशुल्क उपचार गराउने पृष्ठभूमिको पूर्वाधार तयार गर्नु थियो । भेनेजुएलाको मुद्दामा चीनले अमेरिकी अडानको बिरोध गरिसकेको अवस्था थियो ।

 त्यो बिरोधको शृंखलामा भारत पनि जोडिन पुग्यो । त्यसको भोलिपल्ट प्रचण्डको बक्तब्य जारी भयो । ‘त्यसपछि काठमाण्डौको अमेरिकी दुतावासको कान र रौँ ठाडा भए,’ मसँग टेलिफोनमा ती कर्मचारीले भनेको कुरा जस्ताको तस्तै,‘यसपछि, प्रचण्ड र अमेरिकी राजदूतको कुराकानी गर्ने वातावरण तयार भएको हो ।’  

 
यता सत्तासीन पार्टीभित्र ‘एकीकरण’को मुद्दाले प्रधानमन्त्री केपी ओलीलाई बिथोल्दैथियो । उनको मनसाय तदर्थवादमा टेकेर सत्ता चलाउने नै थियो र छ पनि । औपचारिक एकीकरणले पार्टी भित्रको समिकरणमा ओलीलाई कुईनेटोमा छेक्ने सम्भावना थियो, जो अझै छ । उनले आफ्ना प्रियपात्र ‘एन जी ओ किंग’ तथा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीसँग सम्पर्क गरे । कार्कीले अमेरिकी विदेश मन्त्रालयमा खासखुस गरे ।

 
प्रचण्डको मनसाय अमेरिकाले पुरा गरिदिए, नेपाल अमेरिका सम्बन्धमा ‘सकारात्मक’ मोड आउने र भेनेजुएला प्रकरण हावामा बिलाउने सहमति भयो । अमेरिकी सरकार सीता दाहालको निःशुल्क उपचार गरिदिन तयार भयो । ओलीले प्रचण्डलाई एउटा ‘फेवर’ गरिदिए । एकिकरणको जटील मुद्दा केहिदिनको लागि छाउपडीमा बास बस्न पुग्यो ।   

ओली र प्रचण्डको साम्यवाद देखाउने खोल हो । देउवाको प्रजातन्त्र देखाउने खोल हो । नेपालको ‘संघीय समाजवादी गणतान्त्रिक’ संविधान पनि देखाउने खोल हो । प्रचण्डले मान्छे हिंसात्मक राजनीतिको नेतृत्व गरेका थिए । ओलीले मुलुकको राष्ट्रिय चेतनाको श्वास नलीमा दखल दिएका    छन् । देउवाले त नेपाली कांग्रेसको मुटुनै चुँडेर दरवारलाई दस्तुर चढाईदिएकै हुन् ।

 
नेपाल सिक्कीम जस्तो बिलय हुँदैन । भुटान जस्तो बिक्री पनि हुँदैन । तर यो मुलुक साम्राज्यवादी र बिस्तारवादीको ‘कनट्र्याक्ट’ मा चल्नेछ । प्रचण्डको अमेरिका भ्रमण सीताको उपचारका लागि मात्र होला र ? शंका छ । किनभने, प्रचण्ड, ओली र देउवाको कर्तुत नै शंकाष्पद छ । यो सिंडिकेट हो ।

 
प्रचण्ड यो सिण्डिकेटका चालक, संचालक र खलासी पनि हुन् । उनी ‘साम्राज्यवादी’ अमेरिकाको शरणमा स्वास्नीको उपचारका लागि मात्र पुगेका होईनन् । उनी नेपाल फर्केपछि तथाकथित पार्टी एकिकरणको स्वरुपले कुन आकार लिन्छ, त्यो हेर्न बाँकी छ । तर त्यो केपी ओलीका लागि सुखद भने हुने छैन । (लेखक राजेश मिश्र psjtv.com का सम्पादक हुन् ।)  

ताजा खबर