चुनाव जित्न यस्तो ‘आइडीया’

२०७५ चैत ५ मंगलबार १२:५५:०० मा प्रकाशित

एजेन्सी । भारतमा चुनावको सरगर्मी बढेसँगै जनमत आफ्नो पक्षमा पार्न अनेक हथकण्डा अपनाउन शुरु भइसकेको छ ।

विपक्षी दल काँग्रेस आईले भारतीय जनता पार्टी (भाजपा) को कमि कमजोरी देखाउँदै आफ्नो लागि भोट मागिरहेका छन् । त्यस्तै भाजपा पनि हालसालै पाकिस्तान विरुद्ध गरेको हमलाको ‘विज्ञापन’ गर्दै भोट माग्दै आइरहेको छ ।

आगामी ११ अप्रिलमा शुरु हुने सत्रौं लोकसभाको चुनाव सात चरणमा हुने र यो मे महिनाको १९ तारिखसम्म चल्ने छ । यस्तोमा चुनावी हतियारको रुपमा फिल्मको पनि उपयोग हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ पनि चुनाव अघि नै रिलिज हुने भएको छ । यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त फिल्म एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै रिलिज हुने तरन आदर्शले जनाएका छन् ।

उनले ट्वीटरमा एक पोष्ट सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन् ।

प्राप्त जानकारी अनुसार यस फिल्ममा मोदीले गुजरातमा मुख्यमन्त्री हुँदा गरेका राम्रा कामहरुको बारेमा तथा सन् २०१४ को चुनावी जित पश्चात प्रधानमन्त्री बनेको विषयसम्म देखाइने भएको छ । उनको जिवनको सफल पक्षलाई आधार बनाउँदै तयार पारिएको यस फिल्मको बजेथ २ सय करोड भारु रहेको छ ।

चुनाव अघि मोदीकै बारेमा बनेको यस सकारात्मक फिल्मले भाजपालाई भोट तान्न सहयोग पुग्ने आँकलन गरिएको छ । भारतमा फिल्मले जनमानसलाई राम्रै प्रभाव पार्ने भएकोले पनि यो ‘आइडीया’ लगाइएको विश्लेषण गरिएको छ ।

यस फिल्ममा मोदीको भुमिकामा नायक विवेक ओबराय देखिंदैछन् भने फिल्मको निर्देशन ओमंग कुमारले गरेका छन् ।

 

 

ताजा खबर