पर्यटकीय क्षेत्रमा ‘होमस्टे’ को आकर्षण

२०७५ चैत ४ सोमबार १३:१४:०० मा प्रकाशित

आकर्षक पर्यटकीय स्थलहरु रहेको प्रदेश नम्बर १ का विभिन्न जिल्लामा पर्यटन विकासका लागि स्थानीय स्तरबाट काम भइरहेका छन् । आगन्तुकका लागि घरैमा खाना र बासको प्रवन्ध गर्ने, स्थानीय मौलिक सांस्कृतिक पक्षसँग साक्षात्कार गराउने जस्ता गतिविधि भइरहेको छ ।

स्थानीय प्राकृतिक पोखरी संरक्षण गरेर डुंगासमेत चलाउन थालिएपछि इलामको सन्दकपुर क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय पर्यटन प्रवद्र्धनमा प्रयास थालिएपछि यस क्षेत्रका बासिन्दा होमस्टे सञ्चालनमा सक्रिय बनेका छन् ।


आउँदै गरेको पर्यटन वर्ष २०२० को लागि होमस्टे ले राम्रै आकर्षण दिने यस क्षेत्रका जानकारहरु बताइरहेका छन् ।

जिल्लाकै ठूलो पोखरीका रूपमा विस्तार भएको ढापमा डुंगा सवार गर्ने व्यवस्था मिलाइएपछि टाढाबाट पनि पुग्न थालेका छन् । पर्यटन क्षेत्र प्रवद्र्धनमा क्रियाशील मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र नेपाल पर्यटन बोर्डले तालिमको आयोजना गरेपछि अझ सहज भएको स्थानीयको भनाइ छ ।

चोयाटार क्षेत्रमा होमस्टे दर्ता गरेर सञ्चालन सुरु भइसकेको छ । तर त्यसको सञ्चालनका लागि आवश्यक तालिमको खाँचो भएकाले विन्दियासँगै अरू गाउँलेले पनि तालिम लिइसकेका छन् । दुर्लभ चरा र वन्यजन्तु काँडेभ्याकुर र रेडपाण्डासहित विभिन्न जनावर र चराचुरुङ्गीको बासस्थान रहेको हाँगेथाम सामुदायिक वन नजिक बस्तीका बासिन्दाले पनि पर्यटक सत्कारको तरिका सिकेका छन् ।

पर्यटकको स्वागत सत्कार, घर व्यवस्थापन, स्थानीय उत्पादन प्रवद्र्धन तथा बजारीकरण, दिगो पर्यटनको सञ्चालनलगायत विषयमा स्थानीय बासिन्दालाई जानकारी गराइएको मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समितिले जनाएको छ ।

यसैगरी धनकुटाको पर्यटकीयस्थल डाँडाबजार र नाम्जेलगायत क्षेत्रमा पनि होमस्टेको सुविधा दिन थालिएको छ । पर्यटक आकर्षण गर्न थालेपछि स्थानीय बासिन्दाले यस्तो सुविधा दिन थालेका हुन् ।
चिटिक्क परेका घर र बाक्लो बस्तीको डाँडाबजार आदर्शबस्तीमा सञ्चालन गरिएको होमस्टे पाहुनाको रोजाई भएको छ । स्थानीय जातिको संस्कृति तथा मौलिक परिकारका कारण बाह्य तथा आन्तरिक पर्यटकको ध्यान तानेको छ ।

कोशी राजमार्गको धरान धनकुटा खण्डअन्तर्गत भेडेटारबाट १३ किलोमिटर दूरीमा अवस्थित साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजार आफैंमा पर्यटकीय दृष्टिले महत्व बोकेको छ ।

उत्तरतर्फको मनोरम हिमशृंखला, ध्वजेको सूर्याेदय, गिद्धेभीर, कैलाशडाँडा, लाप्चेटारको ठूलो रुखलगायत नियाल्न पुग्ने पर्यटकका लागि होमस्टेसमेत आकर्षक गन्तव्य बनेको स्थानीय सुरेश रिजाल बताउँछन् । ‘होमस्टे सञ्चालन भएको छोटै अवधिमा पर्यटकको ध्यान तानिएको छ,’ रिजालले भने, ‘यसबाट स्थानीय निकै उत्साही छन् ।’

डाँडाबजार क्षेत्रका ३५ घरमा होमस्टे सञ्चालन गरिएको छ । विभिन्न संस्थाबाट पर्यटन प्रवद्र्धन र होमस्टेबारे तालिम लिएपछि व्यावसायिक रूपमा त्यसतर्फ जुटेको स्थानीय माला याखा बताउँछिन् । पाहुनाका लागि आवास, मौलिक परिकार र हुर्रा नृत्यको प्रबन्ध गरिएको याखाले बताइन् । उनी स्वयं पनि होमस्टे सञ्चालक हुन् ।

डाँडाबजारमा पर्यटकका लागि कम्तीमा २ सय ५० क्षमताको आवास छ सुविधा भने ३ सय ५० भन्दा बढीलाई खाना खुवाउन सकिने डाँडाबजार होमस्टे विकास समितिका अध्यक्ष त्रिलोचन घिमिरेले बताए । पर्यटकीयस्थल भेडेटार तथा राजारानीबाट नजिक भएकाले डाँडाबजार क्षेत्रमा पर्यटक पुग्ने गरेको उनी बताउँछन् ।

साँगुरीगढी गाउँपालिका ६ स्थित नाम्जेमा पनि व्यावसायिक होमस्टे सञ्चालनमा छ । हाल १९ घरमा होमस्टे सञ्चालन गरिँदै आएको नाम्जे होमस्टे सञ्चालक समिति अध्यक्ष अनिल राना मगरले बताए । स्थानीय परिकार सिस्नु, ढिँडो, मकै भटमास, गुन्द्रुक सिन्की तथा मौसमी फलफूल पनि पर्यटकको रोजाइ बन्ने गरेका छन् ।

नाम्जे क्षेत्रमा भारत, मलेसिया, अमेरिका, बेलायतलगायत मुलुकबाट पर्यटक पुग्ने गरेका छन् । उत्तरतर्फ चिहाएका मकालु तथा कञ्चनजंघा हिमालले त्यहाँको आकर्षण बढाएको छ । धेरै पाहुना आएमा विभिन्न घरमा बाँडेर खुवाउने तथा बास बसाइने गरिएको स्थानीय टंक भुजेलले बताए ।

सुनसरीको कोसीटप्पु आसपास, इलाम, तेह्रथुम, संखुवासभालगायत पर्यटकीय जिल्लाका थप स्थानहरुमा पनि पर्यटन प्रवद्र्धन गर्ने खालका क्रियाकलाप सञ्चालन हुन थालेका छन् । यसका लागि तालिम लिएर पर्यटक स्वागतमा मौलिक कार्यक्रम सञ्चालन गर्नेदेखि आफ्ना क्षेत्र भ्रमण गराएर आगन्तुकहरुलाई प्रशस्त जानकारी र मनोरञ्जन गराउने चलन विकास भएको छ ।

 

ताजा खबर