जल कमल
कमलु सदा !
तिम्रो फूलजस्तै शरीर बिसाउने
दुई फिट जमीन तिमीलाई दिन सकिन ।
एउटै देशमा छु म
बाढीले जब बगाउँदै लग्यो तिमीलाई
मैले बचाउन सकिन !
सकिन , बचाउन त सकिन
तिमीलाई अन्तिम बिश्रामको लागि एक टुक्रा जमीन पनि दिन सकिन ।
संसारमा तिमी नै त्यो वालक हौ
जसले तोते बोलीमैं धर्तीबाट बिदा हुँदा
आफुलाई विसाउने माटो पाएनौ !
सम्झिरहेको छु कमलु !
तिम्रो जलयात्रा कति कठिन भयो होला
अट्टहास गर्दै आएको भयानक भेलमा कता हेलियौ तिमी
तिम्रा माई - वापुले चिसोबाट जोगाउन बेरिदिएको कम्बल
कहाँ पुग्यो होला,
बाढीको भंगालोमा ?
कसैको आँखा नलागोस् भनेर लगाईदिएको कालो टीका बाढीको कुन रङले मेटियो होला ?
प्रिय कमलु !
कस्तो जीवन भोग्न आएछौ तिमी ?
तिमी बिदा हुँदाको तस्बिर हेरेरै म मरिरहेको छु ।
तिम्रो शोकमा आफैंभित्रको बाढीले
क्षतिग्रस्त बनिरहेछु ।
माफ गर प्रिय कमलु !
मसँग सबै चिज हुँदाहुँदै
मैले तिमीलाई केही दिन सकिन ।
तिमी फुलिरहनु कमलु बनेर पानीमाथि
र,
धिक्कारी रहनु जमीनमा राज गर्नेहरुलाई ।