तिलिचोले लोभ्याउँछ पर्यटक

२०७५ चैत १ शुक्रबार १२:०३:०० मा प्रकाशित

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल सुन्दर र रमणीय पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । कठिन भौगोलिक अवस्थाले तिलिचो पुग्न केहि दुखनै गर्नु परेपनि त्यहाँ पुग्दा हुने स्वर्गीय आनन्दले बाह्य तथा आन्तरिक पर्यटकलाई सोचे अनुरुपको आनन्द प्रदान गर्ने गरेको बताइन्छ ।

समुद्रसतहदेखि ४९१९ मिटर उचाइमा रहेको यस स्वर्गीय स्वरुप भएको तालको लम्बाइ ३.९ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहेको छ । यसको गहिराइ ८५ मिटर भन्दा बढि रहेको बताइएको छ ।

कुल ४.८ वर्गकिलोमिटर क्षेत्रफलभएको यो तालको वरिपरी तिलिचो हिमाल, अन्नपूर्ण श्रृंखला र नीलगिरि हिमाल रहेको छ । हिमालको काखमा रहेकोले पनि तिलिचोको स्वरुपलाई थप राम्रो बनाएको स्थानीयहरुले भन्ने गरेका छन् । तिलिचोमा वर्षेनी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो क्रममै रहेको छ ।

मनाङ जिल्लामा रहेको यो ताल विशेषगरी वर्षा धेरै हुने बेला र हिउँदको मध्यमा भने जान सकिंदैन । वर्षामा फुल्ने लेकाली फूलहरुको गन्धले लेक लाग्ने स्थानीय हरुले बताएका छन् भने हिउँदमा पनि हिउँ परेर अवरोध हुनुका साथै चिसो हुने हुनाले तिलिचो घुम्नको लागि उपयुक्त सिजन पार्नु हितकारी हुन्छ ।

विशेषगरी असोज र कार्तिक महिना र चैत देखि जेठ सम्मको अवधिलाई तिलिचो घुम्न उपयुक्त मानिन्छ । यस समयमा आकाश खुला भइ तिलिचोको पूर्ण सुन्दरताको साक्षात्कार गर्न पाइने कुरा बताइने गरिएको छ ।

हिन्दु धर्मावलम्बीहरुको विश्वास अनुसार तिलिचो तालनै रामायणमा उल्लेख भएको काक भुशुण्डी ताल हो । बाल्मिकीले रामायण लेख्नुभन्दा धेरै पहिले नै काक भुशुण्डीले गरुडलाई तिलिचो ताल नजिकै बसेर रामायण भनिएको हिन्दु शास्त्रहरुमा उल्लेख भएको विश्वास रहेको छ ।  

पछिल्लो समय आन्तरिक पर्यटकको पनि छनौटमा परेको तिलिचोले आगामी पर्यटन वर्ष २०२० मा थुप्रै पर्यटकलाई लोभ्याउन सक्ने स्पष्ट छ । तीन देखि चार दिनसम्मको यात्रा भएपनि क्याम्पमा बस्नु नपर्ने भइसकेको छ । स्थानीय स्तरमा खुलेका होटल तथा लजहरुको सुविधाका कारण पनि तिलिचो यात्रा थप सहज हुनुका साथै मिठो आतित्थ्य पनि पाउन सकिन्छ ।

तिलिचो यात्रा विशेषगरी साहसिक पर्यटनमा रमाउनेको लागि विशेष महत्वपूर्ण हुन्छ । उच्च हिमाली क्षेत्र भएकोले त्यहाँको पर्यावरणसँग अभ्यस्त हुनु तथा त्यस क्षेत्रसम्म पुग्ने यात्रामा भोगिने कठिनाइका साथै सुन्दरताको लागि साहस अपरिहार्य छ ।

अलिक सहज यात्राको लागि गाडीकै व्यवस्था पनि हुने गरेको छ भने ट्रेकिङमा रमाउनेहरुका लागि ट्रेकिङ प्याकेजहरु पनि आकर्षित गर्दछ । जसरी पुगेपनि पर्यटकले त्यहाँ पुगेपछि भोगेको दुःखको सहि मुल्य पाउने दाबी गरिएको छ ।

तिलिचो जस्ता स्थानले विश्वका पर्यटकहरुको नजरमा नेपालको छविलाई उच्च बनाउन सकिने कुरामा विश्वस्त हुन सकिने जानकारहरु बताउँछन् ।

 

ताजा खबर