'ओलीको शासन पनि देखियो, माओवादी त सकिई नै हाल्यो' - प्रकाश कोइराला

२०७५ फाल्गुण ३० बिहीबार १५:२१:०० मा प्रकाशित

शहरभन्दा अलि पर कोलाहलले त्यति असर नपारिसकेको शान्त वातावरणमा बस्छन् प्रकाश कोइराला । दर्जनौं बृक्ष र बुट्यानले सजिसजाउ कुनै ध्यान केन्द्र झैं आभास हुने उनको निवासमा पसेपछि शहरको ध्वनि र धुलोको आक्रमणबाट अलिकति राहत मिलेको महसुस हुन्छ । उनी सपरिवार त्यहीं बस्छन् । साथीभाई शुभचिन्तक,संचारकर्मी वा पिता वीपीका राजनीतिक शिष्य जो आएपनि प्रकाश सहज उपलव्ध छन् । सबैलाई सुन्छन् अनि आफ्ना बिचारहरु पनि सुनाउँछन् । तर उनी एउटा धारणामा भने सदा दृढ छन् –‘वीपीको राजनीतिक मार्गचित्र नै नेपालको सही मार्गचित्र हो,यसलाई उलंघन गरेर नेपाली कांग्रेसले ठूलो गल्ती गरेको छ । अहिले त्यसकै परिणाम भोगिरहेको छ कांग्रेस ।’ प्रकाश कोइरालाको नाम चिनाउन न कुनै विशेषणको जरुरत पर्छ न त पूर्व र भूतपूर्व पदहरुसँगै जोडेर उनको चिनारी गराउनु आवश्यक छ ।  चलनचल्तीको भाषामा भन्दा ‘ब्राण्डेड’ नाम छ उनको ।

 केही समय मुम्बई बसेर हालै फर्किएका कोइरालाले भलाकुसारी सुरु गर्दै भने, हेर्नोस् ‘यहाँ एउटा मुलुक हाँक्ने दलको खाँचो छ ।’ उनले  सत्ता र प्रमुख प्रतिपक्षमा रहेका राजनीतिक दलहरु नेकपा र नेपाली कांग्रेसको साख खस्कँदै गएकोमा खिन्नता प्रकट गरे । कोइरालाले भने,‘अहिलेका दलहरुसँग कोही पनि सन्तुष्ट देखिँदैनन् ।’

पिता वीपी कोइरालाको राजनीतिक लाईन नै नेपालको लागि सर्वोत्तम लाईन रहेको आफ्नो पूर्व धारणामा अडिग छन् प्रकाश कोइराला । जति पनि आन्दोलन र हिंसात्मक संघर्ष भए तर तिनले जनतालाई सन्तुष्टि दिन नसकेको उनको निष्कर्ष छ । भन्छन्,‘पैसा कमाउने मामिलामा सबै (दल र नेता) मिलेका छन् । तर देश र जनताको हितमा काम गर्नमा सबै चुकिरहेका देखिन्छन् ।’

  ओलीको साख

दुइतिहाई बहुमतको वर्तमान सरकारले पनि जनता र अन्तर्राष्ट्रिय समुदायको विश्वसनियता आर्जन गर्न नसकेको कोइरालाको भनाई छ । भन्छन्,‘ओलीजीले पनि दुइतिहाईको सरकार चलाएको देखियो,तर दिनदिनै उहाँको समेत साख गिर्दो अवस्थामा देखिन्छ । सरकारको कुनै चर्चा गर्न लायकको छवि नै बनेको छैन । माओवादीको त कुरै नगर्दा हुन्छ, उ त छँदा पनि छैन अब माओवादी सकिईसक्यो ।’  

प्रधानमन्त्री केपीशर्मा ओली तीनवटा चर्चित घटनामा प्रभावहीन र असफल देखिएको कोइरालाको टिप्पणी छ । ‘निर्मला पन्त बलात्कार र हत्या काण्ड,३८ किलो सुन तश्करी काण्ड र वायु सेवा निगमको वाईडबडी जहाज खरिद काण्ड । यी तीनवटा चर्चित काण्डमा ओलीजीले खै के   गर्नुभयो ? यति शक्तिशाली सरकारका प्रधानमन्त्री कहाँ हराउनुभयो !’ कोइरालाले आश्चर्य प्रकट गर्दै भने–‘देशको अर्थव्यवस्था ‘कोल्याप्स’हुने अवस्थामा छ,नेपाल राष्ट्र बैंकको तथ्यांकले नै यसबारेमा प्रष्ट खुलासा गरिरहेको छ । खै दुइतिहाईको बलियो सरकार अनि कहाँ हरायो प्रमुख प्रतिपक्ष ?’  

सरकार–सीके प्रसंग 

हालै सरकारले सीके राउतसँग गरेको सहमतिबारे कोइराला आफू पर्याप्त अपडेट भइनसकेको बताउँछन् । तर उनले मधेशवादी दलले तराई मधेशका जनताको नेतृत्व गर्न नसकेको टिप्पणी गरे । राउतलाई अचानक अदालतबाट सफाई मिल्नु र रातारात सरकारसँग ‘विवादास्पद’ सहमति हुनु सामान्य घटना नभएको कोइरालाको तर्क छ । 

कोइरालाले गम्भीर मुद्रामा भने,‘अदालतले कसरी छोड्यो,उनी कसरी छुटे,सहमति नै भयो कसरी,सत्तारुढ दलकै नेता भीम रावल विरोध गरिरहेका छन् । म यी सबै कुराहरु कसरी भए भनेर हेरिरहेको छु । तर यसै हो भनेर भन्न सकिरहेको छैन ।’ 

दलहरुको साख खस्किएको टिप्पणी गरिरहँदा कोइरालाले आफ्ना पिताले स्थापना गरेको नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा प्रभावकारी नदेखिएको टिप्पणी गरे ।

 ‘खै कहाँ गयो कांग्रेस,उसको हालत त निर्वाचनमै देखिएको हो,अहिले आएर त संसदमा समेत प्रमुख प्रतिक्षको भूमिकामा कुनै हैसियत नै देखाउन सकेको छैन’,कोइरालाले असन्तुष्टि पोख्दै भने ।

धार्मिक भेलाको आकर्षण

यता दलहरुको साख र विश्वसनियता खस्किँदै गएको छ भने अर्कोतिर देशका विभिन्न भागमा ठूल्ठूला धार्मिक भेला र सभाहरु पनि आयोजना भैरहेका छन् । यसतर्फ हेर्दा सर्वसाधारण जनताले आफ्नो सांंस्कृतिक मूल्यमान्यताप्रति लगाव प्रष्ट रुपमा प्रदर्शन गरिरहेका र यथास्थितिप्रति पनि असन्तोष प्रकट गरिरहेको देखिएको कोइरालाको विश्लेषण रहेको छ । उनले हालै धरान र बीरगंजमा सम्पन्न भएका ठूला धार्मिक कार्यक्रमहरुको उदाहरण दिँदै त्यहाँको सहभागिताले नेपाल परम्परागत रुपमै वैदिक सनातन र हिन्दूत्वप्रति गहिरो सम्बन्ध भएको देशमा अझै त्यो भावना कमजोर नरहेको प्रष्ट देखिएको चर्चा गरे ।

धर्म निरपेक्ष मुलुक भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि उनले हिन्दूत्वको पकड बढाउँदै लगेको कोइरालाको ठम्याईं छ । उनले भने–‘मलाई के लाग्छ भने भारत चाहन्छ कि नेपालको धर्मनिरपेक्षता हटोस् ।’
 

बढ्दो भारतीय प्रभाव 

वीपीको राजनीतिक दर्शन र लाईन नै नेपालका लागि उपयुक्त रहने भनाई दोहोर्याउँदै कोइरालाले नेपालमाथिको भारतीय प्रभाव कम गर्न विगतका तीनजना राजाले प्रयास गरेको चर्चा गरे । उनले भने–‘वीपी यसमा राजासँग हुनुहुन्थ्यो ।’ 

तर अहिलेका दलहरु र नेताले त्यो प्रभाव झन्झन् बढाउन सहयोग गरिरहेको देखिएको चर्चा गर्दै कोइरालाले नेपालमाथि अरु कसैको अनावश्यक प्रभाव रोक्ने कुरामा वीपी बाहेक अर्को राजनीतिक नेतृत्व नदेखिएको बताए ।

अमेरिकी पछुतो

कोइरालाले दलहरुप्रति कटाक्ष गर्दै ‘ठूलो क्रान्ति गर्दै राजा हटाएर गणतन्त्र ल्याए तर सबै दलका नेताको ‘पर्फरमेन्स’ देखेर विदेशीहरु पनि पछुताईरहेका होलान्’ भने । कोइरालाले अझ यसमा जोड दिएर भने–‘दलहरुको पर्फरमेन्स देखेर अमेरिकीहरु त बेकारमा राजा हटाईयो भनेर पछुताईरहेका होलान् !’
 

त्रशित प्रचण्ड

सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्चित वक्तव्यबारेमा पनि कोइरालाले आफ्नो धारणा राख्न छुटाएनन् । उनले नेपालसँग कुनै औपचारिक सम्बन्ध नै नरहेको देशको आन्तरिक राजनीतिबारे प्रचण्डको भेनेजुएला प्रसंगको वक्तव्यलाई ‘चानचुने होइन निकै गम्भीर कुरा हो’   भने । कोइरालाले भने –‘प्रचण्डले उनको निजी रिस पोखेका हुन्,उनलाई परराष्ट्र नीति नै थाहा रहेनछ कि कसो ! अमेरिकाले द्वन्दको मुद्दा उठाउन लागेको ठानेर तर्सिएर त्यस्तो वक्तव्य दिएका हुनसक्छन् ।’ तस्बिर सौजन्यः चन्द्रशेखर कार्की (sadrishya.com)
   


  
 

ताजा खबर