बायोपिकमा काम गर्न मानिनन् सारा अली खानले

२०७५ फाल्गुण ३० बिहीबार १२:२१:०० मा प्रकाशित

एजेन्सी । जिवनको पहिलो दुई फिल्म सिम्बा र केदारनाथ चलेपछि नायिका सारा अली खान बलिउडमा स्थापित हुने संघारमा रहेकी छिन् । हालै उनले बायोपिकमा भने काम गर्न अस्वीकार गरेको खबर बाहिरिएको छ ।

बलिउड स्टार सैफ अली खान र अमृता सिंहकी छोरी साराले पछिल्लो समय फिल्म छनौटमा विशेष ध्यान दिइरहेको बताइएको छ । नाम धुमिलिएपछि बलिउडमा फेरी उठ्न गाह्रो हुने बुझेकी साराले फिल्म छनौटमा ध्यान दिनुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

पछिल्लो समय उनलाई स्वतन्त्रता सेनानी उधम सिंहको विषयमा बन्न लागेको शुजित सरकारको फिल्मको लागि प्रस्ताव गरिएपनि आफु अहिले त्यस किसिमको रोल गर्ने मनस्थितीमा नरहेको भन्दै प्रस्ताव फर्काइदिएको बताइएको छ । उनले फिल्ममा आफ्नो अभिनय कला र आफ्नो प्रतिभा देखिने रोलमा काम गर्ने इच्छा भएकोले सपोर्टिङ रोलमा आफुलाई खेल्न मन नभएको बताएकी छिन् ।

यस फिल्मको मुख्य भुमिकामा विक्की कौशल छनौट भइसकेका छन् । फिल्ममा कथा वस्तु क्रान्तिकारी उधम सिंहले ब्रिटिश भारतका पूर्व गर्भनर माइकल ओ’ डायरको हत्या गरिदिएको विषयमा आधारित छ ।

विक्कीलाई पछिल्लो समय चलचित्र छनौटमा अब्बल मानिएको छ । उनले विभिन्न किसिमका फिल्ममा आफुलाई प्रमाणित गर्न अनेक मेहनत गरिरहेका छन् ।
खबरहरुका अनुसार यस फिल्मको शुटिङ छिट्टै नै शुरु हुन लागेको छ । साराले यो फिल्ममा काम नगर्ने भएपछि अन्य नायिकालाई प्रस्ताव पठाइसकेको बताइएको छ ।
 

 

ताजा खबर