अायाे वाक्सेली थापाको ‘भस्मासुरको देश’ 

२०७४ श्रावण ३१ मंगलबार ०८:५३:०० मा प्रकाशित

काठमाडौं,३१ साउन । कवि वाक्सेली थापाकृत ‘भस्मासुरकाको देश’ नामक कवितासङ्ग्रह वरिष्ठ राजनीतिज्ञ एवं चिन्तक प्रदीप गिरी, वरिष्ठ कवि तथा पूर्व प्राज्ञ तोया गुरुङ्ग र कवि तथा संचारकर्मी डा। नवराज लम्सालद्वारा संयुक्त रुपमा विमोचन भएको छ ।
राजधानीको भृकुटीमण्डपमा जारी २१ औं अन्तर्रा्ष्ट्रिय पुस्तक प्रदर्शनी हलमा आयोजित समारोहमा कवि वाक्सेली थापाको पहिलो कवितासङ्ग्रहको विमोचन भएको हो ।

विमोचन समारोहमा प्रमुख अतिथि प्रदिप गिरीले २२ दिनदेखि अनसनरत डा। गोविन्द केसीप्रति सहानुभूति व्यक्त गर्दै कविता–उत्सव पनि विरोधको एउटा रुप हुने विचार व्यक्त गरे।

कवितासङ्ग्रहका ‘ढोका’, ‘आफैसँग प्रश्न’ लगायतका लगायतका कविताहरूले नविन दृष्टिकोण प्रस्तुत गरेको चर्चा गर्दै गिरीले वाक्सेली थापाको कवितासङ्ग्रहमा समेटिएका सबै कविताहरु प्रस्तुतिका हिसाबले सुन्दर भएको बताए।

सोही अवसरमा अर्का विशेष अतिथि वरिष्ठ कवि तोया गुरुङ्गले ‘भस्मासुरको देश’ सङ्ग्रहका कविताहरु वर्तमान समयको आवाज भएको बताईन्।
श्रष्टा यान्त्रिक पक्षमा नगई भावनात्मक पक्षमा जानु पर्ने सुझाव दिदैँ कवि गुरुङ्गले आम नेपालीलाई भस्मासुर प्रवृतिले दिन–प्रतिदिन नराम्ररी खाइरहेको विचार व्यक्त गरिन्। साथै उनले हरेक युगमा भस्मासुरहरुको उदय भइरहेको हुन्छ भन्दै त्यस्ता प्रवृतिलाई हामीले चिनेर परास्त गर्नुपर्ने बताईन्। विषयवस्तु र प्रस्तुति उत्कृष्ट रहेता पनि कतिपय कविताका शब्द चयनमा बिशेष ख्याल दिन सकेको भए उक्त कविताहरु थप उत्कृष्ट हुने उनको टिप्पणी थियो ।

विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कवि तथा सञ्चारकर्मी डा। नवराज लम्सालले कविता सुन्दर हुनका लागि विचार पनि सुन्दर हुनुपर्ने बताए। आफ्नो इतिहास र संस्कृतिमा टेकेर मौलिक साहित्य सिर्जना गर्न स्रष्टाहरुलाई आग्रह गर्दै ‘भस्मासुरको देश’ कवितासङ्ग्रहमा महिलाको पक्षमा ओकालत गर्ने उत्कृष्ट कविता भएको विचार व्यक्त गरे। डा। लम्सालले उक्त कृतिमाथि टिप्पणी गर्दै कवि वाक्सेलीले कवितामा लोकप्रिय नारा प्रस्तुत नगरी वर्तमान राजनीति विकृति, समसामयिक घटनाक्रम, जीवन, प्रेम लगायतका गम्भीर विषयमा उत्कृष्ट कविता सिर्जना गरी वर्तमान प्रवृतिमाथि जोडदार प्रश्न गर्नु भएको कुरा बताए।

बालाजी पब्लिकेशनद्वारा प्रकाशित १२६ पृष्ठ रहेको भष्मासुरको देशमा कवि वाक्सेली थापाका ५१ वटा कविता समेटिएका छन् ।

ताजा खबर