‘सकरात्मक प्रेम चाहनेले जानी नजानी हेनैपर्छ’

२०७५ फाल्गुण २८ मंगलबार ११:२०:०० मा प्रकाशित

 मोदनाथ खनाललाई चलचित्र निर्माताका रुपमा सक्रिय देख्दा धेरैलाई अनौठो लाग्न पनि सक्छ । दर्शन,अध्यात्म र पत्रकारितामा जमेका खनाल एक शुक्ष्म विश्लेषक समेत हुन् । उनको रुची र सक्रियता यिनै तीन विधामा हुनेगरेको हो विगत तीन दशकयता ।

एउटा शिर्जनशील प्रतिभाले हिँडिरहेको बाटोभन्दा अलिक भिन्न बाटो समात्यो भने त्यसलाई उसको सफलताकै पाटो मान्न सकिन्छ । यसैपनि मानिस गतिशिल प्राणी हो,त्यसमा पनि शिर्जनशील व्यक्तिले नयाँनयाँ क्षेत्रमा काम गर्नु झनै सुन्दर पक्ष हो ।

चिन्तन,साधना र लेखनमा जमेका मोदनाथ खनालले सिर्जनाकै अर्को पाटो चलचित्रमा हाल हालेर के गर्न लागेका होलान भनेर सबैलाई चासो लाग्नु स्वाभाविक नै हो । उनले देशान्तरका प्रतिलिधिसँग आफूले निर्माण गरेको चलचित्र "जानीनजानी"का बारेमा केही रोचक कुराहरुमा चर्चा गरेका छन् । अरु विवरण उनकै शब्दहरुमा:

पत्रकारिता, समाजसेवा हुँदै चलचित्र निर्माणमा हात हाल्नुभएको छ । चलचित्र क्षेत्रमा किन आउनुभयो  ?

जीवनमा अनेकौं रंगको संयोजन भयो भने जीवन सफल हुन्छ । त्यसमाथि चलचित्र भनेको कला क्षेत्र हो । कला भनेको जीवनलाई अझ सफल बनाउने, ऊर्जा भर्ने, जीवनको समग्र सौन्र्यलाई आलोकित गर्ने शक्ति पनि हो । यही कारण नियमित काम गरेको भन्दा नयाँ क्षेत्रमा काम गरौं झैं लाग्यो । जीवन र कलाप्रतिको यो धारणाले नै मलाई चलचित्र निर्माणमा लाग्न प्रेरित ग¥यो । 

चलचित्रको नामै जानी नजानी छ । चलचित्र क्षेत्रमा जानेर लाग्नुभयो कि नजानेरै ? 

जीवन नै नजानीकन सुरु हुन्छ । हाम्रो जन्म नै नजानीकन सुरु हुन्छ । त्यस्तै यो जानी नजानी चलचित्र प्रेम कहानीमा बढी आधारित छ । प्रेम भन्ने विषय आफैंमा कुनै योजनाबाट हुने विषय होइन, जानी नजानी नै हुने विषय हो । कुनै प्राप्तिका लागि योजना हुन्छ तर प्रेम त प्राप्तिभन्दा समर्पणको विषय हो । जान्नु नजान्नु भनेको निर्दोष विषय हो । यही कारण चलचित्रको नाम जानी नजानी भयो । म पनि जानी नजानी नै यो क्षेत्रमा आएको छ, नजानेका कुरा जान्दै गर्छु ।  

पत्रकारिता र दर्शन क्षेत्रको मान्छे प्रेमकथाको चलचित्र किन बनाउनुभयो ? 

पत्रकारिता, दर्शन, साहित्य सबै प्रेममा आधारित हुन्छन् । प्रेम नै सिर्जना र सौन्दर्य हो । सिर्जनाबाट मान्छेले आनन्द प्राप्त गर्छ । पूर्वीय दर्शनले प्रेमबाट सचित आनन्द प्राप्त गर्ने विषयमा विश्वास गर्छ । प्रेम वासना वा तृष्णााको विषय होइन । यो त एउटा चेतना हो । यही चेतनाले मलाई कुनैबेला पत्रकार बनायो अहिले चलचित्र निर्माता बनाएको छ । 

चलचित्र कस्तो बनेको छ  ?

चलचित्र समग्रमा राम्रो बनेको छ । सबै निर्माताको दावी आफ्नो चलचित्र रामै्र छ भन्ने हुन्छ । मेरो चलचित्रले प्रेम र जीवनको सौन्दर्यलाई जोडेको छ । यो भित्र बहकिने प्रेममात्रै छैन । सिर्जना र चेतनाबाट पैदा भएको प्रेमको शक्तिले मान्छेलाई जीवनको सफलता तर्फ डो¥याउँछ । यो चलचित्रमा प्रेमबाट आफ्नो भविष्यको चिन्तनसंग प्रेमसंग जोडिएको छ । भविष्यको सफलतालाई प्रेमले ऊर्जा भरेको छ । यो चलचित्रले प्रेमलाई सफलताको ऊर्जाका रुपमा प्रस्तुत गरेको छ । विषयवस्तु र प्राविधिक सबै हिसाबले चलचित्र उत्कृष्ट बनेको छ । मैले झैं दर्शकहरुले पनि मन पराउनुहुनेछ । 

जानी नजानी हेर्न दर्शकहरु हलसम्म किन जाने  ?

वास्तवमा चलचित्र हेर्ने भनेको आधारभूत रुपमा मनोरञ्जनकै लागि हो । दैनिक जीवनका अनेक तनावकाबीच चलचित्र हेर्दा दर्शकले तनाव बिर्सेर आनन्द महसुस गर्नुपर्छ । दर्शकको यही अभिष्ट पूरा होस् भन्ने उद्देश्यले हामीले चलचित्र बनाएका छौं । सवा दुई घण्टाको चलचित्र हेरुन्जेल दर्शकले पूर्ण रुपमा आफूलाई चलचित्रमै समाहित गरुन् भन्ने हाम्रो प्रयास छ । चलचित्र हेर्दा हेर्दै आत्मादेखि नै अनूभूत गर्ने सौन्दर्य हामीले पोखेका छौं । जानी नजानी हेरेपछि हलसम्म पुगेकोमा दर्शकलाई पछुतो हुनेछैन भन्नेमा हामी विश्वस्त छौं । 

चलचित्रमा स्वदेशी उद्यमलाई प्रबर्धन गरेको भनेर प्रचार गर्नुभएको छ, के छ त्यस्तो ? 

चलचित्र आफैंमा एउटा सन्देशमूल विषय हो । मनोरञ्जनसंगै सन्देश पनि आवश्यक छ । हामीले जानी नजानी चलचित्रका माध्यमबाट राष्ट्रियताको प्रबर्धन गर्ने प्रयास गरेका छौं । खासगरी नेपालको घरेलु उद्योगलाई प्रबर्धन गर्नुपर्ने विषयलाई चलचित्रले उठान गरेको छ । नेपालमा ढाका उद्योग मौलिक र सम्भावना बोकेको क्षेत्र हो । हामीले चलचित्रमा ढाका उद्योग सञ्चालन गरेर सफल भएको उद्यमीको विषय चलचित्रमा समेटिएको छ । यसले ढाकाको प्रबर्धन भएको छ भने देशभित्रै उद्यम गरेर राष्ट्रलाई योगदान गर्न सकिन्छ भन्ने सन्देश जानी नजानी चलचित्रले दिनेछ । 

निर्माताका रुपमा पहिलो चलचित्रको काम सकिसक्दा नेपाली चलचित्र उद्योको सम्भावना के बुझ्नुभयो  ?

नेपाली चलचित्र उद्योग अझैं उद्योगको रुपमा स्थापित भइनसकेको मलाई अनूभूति भयो । धेरै अप्ठ्याराहरु बाँकी नै छन् । पद्दति बस्न नसकेको रहेछ । बाहिरबाट हेर्दा चलचित्रमा जति क्रेज छ, भित्र उत्ति नै अस्तव्यस्त छ । चलचित्र क्षेत्रमा व्यवसायिकताको अभाव देखिन्छ । सुधारको खाँचो छ । तरपनि यो क्षेत्र उभो नै लाग्दैन भनेर निराश हुनुपर्ने छैन । यसभित्र धेरै व्यवसायिक र सिर्जनशील मान्छेहरु सक्रिय छन् । सबै चलचित्रकर्मीले इमान्दारिताका साथ व्यवसायिक चरित्र निर्वाह गर्ने हो भने चलचित्र क्षेत्रले उल्लेखनीय फड्को मार्न सक्छ । 
पहिलो चलचित्रपछि धेरै निर्मार्ता हराउँछन्, तपाई कत्तिको टिक्नुहोला ? 

सूर्य उदाएपछि बीच बाटोमै अस्ताउनुहुँदैन । हामी पनि यही प्रकृतिको , यही पृथ्वीको मान्छे हौं । हरेक क्षेत्रमा चुनौती हुन्छ, चलचित्र क्षेत्रमा पनि चुनौतीको चाङ छ । गाउँमा हुर्केको मान्छे , आजसम्म धेरै चुनौती सामना गरेको छु । चलचित्र क्षेत्रमा म प्रवेश गरिसके, अब एउटै चलचित्रको अनुभवबाट म टाढा जान्न । यति सजिलै म भाग्दिन, चलचित्र क्षेत्रमा धेरै नै काम गर्न सकिन्छ भनेर लागेको हु । मेरो उद्देश्यमा म दृढ छु । 

चलचित्र ‘टिम वर्क’ हो भन्छन् । जानी नजानीको टिम कस्तो छ  ?

मैले चलचित्र सुरु हुनुअघि आफ्नो टिमसंग बसेर पर्याप्त छलफल पनि गरेको थियो । सबैको मेहेनतबाट नै उत्कृष्ट चलचित्र बनाउन सकिन्छ । सबै सफल भए चलचित्र सफल हुन्छ भन्नेमा हामी विश्वस्त थियौं । एकजना व्यक्तिले मात्रै चलचित्र सफल हुँदैन । सुरुदेखि नै यही स्पिरिटका साथ हामीले काम गरेका छौं । टिमका सबै सदस्यहरुले समर्पणका साथ, व्यवसायिक हिसाबले उत्कृष्ट काम गर्नुभयो । म यो टिमसंग सन्तुष्ट छु । मुख्य सहायक निर्देशकका रुपमा स्थापित बसन्त अधिकारीले जानी नजानीको निर्देशन अत्यन्त प्रभावकारी ढंगले गर्नुभएको छ । उहाँको कामबाट म खुसीमात्रै होइन प्रभावित नै छु । कलाकारहरु मनिष श्रेष्ठ, निरिषा बस्नेत, नम्रता श्रेष्ठ र सनी सिंहको काम प्रसंशनीय छ । सामिप्यराज तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको संगीतले चलचित्रलाई उत्कृष्ट बनाएको छ । प्रस्तोताका रुपमा रोशनी केसीको मेहेनतले दर्शकलाई हलसम्म डो¥याउने विश्वास लिएको छु । समग्रमा जानी नजानीको टिमले राम्रो काम गरेको छ । दर्शकले मन पराउनुहुनेछ ।

ताजा खबर