अब कविता लेख्नोस् ओली कमरेड

२०७५ फाल्गुण २७ सोमबार ०९:२०:०० मा प्रकाशित

 
कविता लेख्नेहरु भन्छन्, ईतिहास क्रुर हुन्छ । राजनीतिका पेशेवर खेलाडिहरु भाषण ठोक्छन्,‘हामीले ईतिहासबाट सिक्नुपर्छ ।’ ईतिहासको लिस्नो टेकेर सत्ताको गद्दीमा नितम्ब थेचार्नेहरु पाखण्ड पराकाष्ठाका परिसूचक हुन् । समाजको ऐना साहित्यले देखाउँछ । देखाउनुपर्ने हो । जतिबेला राज्य आतंकमा उत्रिन्छ, जतिबेला आम जनता निरीह हुन पुग्छ, जतिबेला पत्रकारितालाई कानूनको पासो लगाएर सत्तासीनहरु आफ्नो अभिष्ट पूरा गर्न खोज्छन्, जनताका आवाजका रुपमा साहित्य प्रकट हुन्छ । म्याक्सीम गोर्कीदेखि लियो तोल्स्तोय वा जर्ज अरवेल देखि एलेन गिन्सबर्ग उदाहरण  छन् ।
 
नेपालमा यस्ता साहित्य लेखिनेबेला सकिए । देवकोटा, रिमाल र शेरचनहरु ईतिहास भैसके । अहिलेको पुस्तामा त्यो आगोको फिलिंगो बाँकी छैन । राजनीति सँगसँगै साहित्य समेत स्खलित भएको छ । यतिबेला ‘जुकरबर्ग क्याफे’ र ‘कफी गफ’ को बजार फस्टाएको छ । पत्रकारिता नेताहरुको कुहिएको सागलाई गुन्द्रुक बनाउन सुकाउने आँगनतुल्य छ ।
 
तर ईतिहासको यात्रा रोकिएको पो कहाँ छ र ? बीपी कोईरालाको कुनैबेलाको राजनीतिक वर्तमान मेरो पुस्ताको लागि ईतिहास भयो । तर उनै  विश्वेश्वरप्रसाद कोईरालाका साहित्यिक कृतिहरुमाथि शोधार्थीहरुले विद्यावारिधि गर्ने क्रम जारी छ । राजनीतिक रुपले, बीपी नेपाली कालखण्डका एक युग भएर गए । या बीपी भन्दा पहिलेको राजनीति अथवा बीपी पछिको राजनीति । उनले एउटा कालखण्डको परिभाषा दिएर गए । साहित्यमा उनै कोइराला अझै बग्दैछन्,अविरल । यो हो ईतिहास । त्यसै होईंदैन युगपुरुष !  
 
तर, मेरो आजको ‘मोनोलग’ साहित्यका बारेमा होईन । निबन्ध लेख्दैछु । मलाई लेख्ने छुट छ । मैले कुनै सूत्रलाई उल्लेख गरेर समाचार लेखे जस्तो बाँधिनुपर्ने बाध्यता पनि छैन । साहित्यप्रति सम्मान छ, तर म साहित्यकार होईन । मलाई एउटा राम्रो कविता भन्दा खलबली मच्चाउने समाचारप्रति आशक्ति छ । तर एउटा राम्रो कवितामाथि म समाचार बनाउन सक्छु । म गाली बेइज्जतिको मुद्दा नलाग्ने ढंगले कसैका बारेमा पनि समाचार बनाउन स्वतन्त्र छु । कुनै पनि घटनाको विश्लेषण गर्न सक्षम छु । पात्र र घटनाको मिसावट त मेरा लागि लेखनको खानी हो ।  
 
आजका मेरा पात्र हुन्, कसैले रुचाएका अनि कसैले घिनाएका नेपाली राजनीतिको शीर्ष स्थानमा कीलो गढेर बसेका कमरेड केपी ओली । विरोधीका लागि कहिले उनी ‘उखाने’ हुन्छन्, कहिले के खाने ।’ तर उनलाई यसले फरक पर्दैन । आफूलाई बडा तिलस्मी देखाउँछन् । नेपालमा हुँदा कुनैबेला म एउटा अंग्रेजी अखबारका लागि काम गर्थें । भीमसेनगोला बानेश्वरतिर एउटा पहेंलो घरमा डेरा लिएर बसेका थिए उनी । बडो प्रेमले चिनियाँ हरियो चियाले स्वागत गरे । म अंग्रेजी अखबारको प्रतिनिधि भन्ने बुझेपछि झन्डै दुई घण्टा उनले नेपालीको एक शब्द बोलेनन् । मलाई मन पर्यो । कमसेकम कांग्रेसी रामशरण महत र महेश आचार्यपछि एउटा कम्युनिष्ट नेता त विदेशीसँग कुरा गर्न सक्ने निक्लियो । मैले मेरो फोटोग्राफर साथीलाई भनें । उसले सहमतिमा मुन्टो हल्लाउँदै भन्यो,‘हो यार, मान्छे ईण्टरेश्टिङ्ग रहेछन् यी ।’
 
तर सत्ताको साँचो हातमा लिएर आफूले उडाएको ‘बोईङ्ग’ लाई निश्चित गतिमा निर्धारित गन्तब्यसम्म पुर्याउन ‘ईण्टरेश्टिङ्ग’ मात्र भएर नपुग्दो रहेछ । फेरि ईतिहासकै कुरा । राणा शासनको अन्त्य र दरवारको अनेकौं षड्यन्त्रपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोईरालाले पनि ‘बोईङ्ग’ नभएपनि त्यतिबेलाको‘डकोटा’को साँचो त पाएकै हुन् । तर आफूले पत्याएका तुलसी गिरी र विश्वबन्धु थापा जस्ता ‘को पाईलट’ ले धोका दिएपछि उनको जहाज १७ सालमा ‘क्र्यास’ भयो ।   
 
केपी ओली पनि अहिले आफ्नो ‘बोईङ्ग’ प्रचण्ड नामधारी‘को पाइलट’को भरमा उडाउँदैछन् । सैध्दान्तिक रुपले ओली बीपी भन्दा बढी ‘शक्तिशाली’ पनि छन् । बीपीले राजा र भारतको स्वार्थलाई सन्तुलनमा राखेर जहाज ऊडाउनुपर्ने बाध्यता थियो । ओलीका लागि राजाको चुनौति छैन । तर चुनौति कम पनि छैन । केवल दुई तिहाई मात्रै छ ।
 
प्रचण्डको काईते सत्ता समीकरणका कारण ओली अध्यक्ष भएपनि आफ्नै दलको अल्पमतको नेताका रुपमा खुम्चिएका छन् । पार्टीले उनले चाहे बमोजिम निर्णय लिन सक्दैन । उनले दोश्रोपटक जिताएकी राष्ट्रपति विद्या भण्डारी नयाँ महारानीको अवतारमा प्रकट भएको कारण अलोकप्रियताको भासमा परेकी छिन् । जनताले उनको सुरक्षाको लागि रोकिएको बाटोको तगारो भत्काउन थालिसके । सत्ताको बचाउमा लाग्ने अपेक्षा गरिएका अरिङ्गालहरुको चिल्ने क्षमतामा प्रश्न खडा हुँदैछ । प्रचण्ड मूकदर्शक छन् । उनले सरकारको बचाउमा केही बोल्न आवश्यक ठानेका छैनन् ।
 
अचानक, प्रचण्डका ईमान्दार सिपाही गृहमन्त्री रामबहादुर थापा कुनैबेलाका आफ्नै सहयात्री ‘विप्लवी’ नेत्रबहादुर चन्दलाई लखेट्न थालेका छन् । सुरक्षा निकायले बिप्लवका बारेमा तीन महिना अघि दिएको प्रतिवेदन गृह मन्त्रालयको कुनै दराजमा हराएको छ । बम बिष्फोटका घटनामा तीब्रता आएको छ । प्रचण्ड चूप छन् ।
 
ओली भारतीय प्रायोजनमा मंचित स्वतन्त्र मधेशका नेता सिके राउतसँग मंच साट्न विवश छन् । राम बहादुर थापाले हस्ताक्षर गरेको सहमति पत्रमा जनमत संग्रहको विवादास्पद बुँदा हुलिएको छ । सिके राउतका कार्यकर्ताहरु ‘मधेश, एशियाको नयाँ देश’ भन्ने तुल टाँगेर बिजयोत्सव मनाउँदै   छन् । अरिङ्गालहरु कुनै कारणले गूँडमै छन् । ओली लाचार छन् । प्रचण्ड चूपचाप छन् ।
 
लेखनको आरम्भमा साहित्यको कुरा त्यसै उठाईएको होईन । ओली साहित्यकार पनि हुन् । गएको भानु जयन्तीमा केवलकार चढेर, चन्द्रागिरिको डाँडोमा पुगेर, कविता लेखेर उनले आफूमा  छचल्किएको काव्यरशको प्रमाण दिइसकेका छन् ।
 
शेरबहादुर देउवा नामका प्रतिपक्षी नेता शिथिल छन् । आफ्नो जनै बिर्सिएर उनी म्याग्दीको तातोपानीमा डुबुल्की लगाउन ब्यस्त छन् । शेर बहादुरको बहादुरीबाट ओलीलाई कुनै खतरा छैन भने त्यो स्वाभाविक हो । तर प्रचण्ड जस्ता सहचालक हुन्जेल ओलीलाई शेरबहादुर नामको शत्रु चाहियो नै किन ? 
 
अब कवितातिर ध्यान दिनुस् कामरेड ओली । दुई तिहाईको दिन लामो छैन ।

(पत्रकार मिश्रको यो टिप्पणी उनकै सम्पादकत्वमा प्रकाशन भैरहेको psjtv.com बाट)

ताजा खबर