न ओली समस्या हुन् न सीके राउत

२०७५ फाल्गुण २६ आइतबार १३:२६:०० मा प्रकाशित

राष्ट्र भनेको के ? राष्ट्र विखण्डन भनेको के ? अनि समस्या काङ्ग्रेस र समाधान काङ्ग्रेस ।

१. सी के राउत र सरकारवीचको सहमतिलाई मैले स्वागतयोग्य माने ! धेरै मित्रहरूले उक्त सहमतिप्रति आशंका व्यक्त गर्नु भयो ! सधैं आशंका मात्र गरेर बस्ने, ठोस निष्कर्ष दिन नसक्ने अनि मुलुकलाई आशंकाकै बन्दी बनाइरहने कुरामा मेरो सधैं विमति !

देखेको कुरा छाती ठोकेर भन्न सक्नु पर्दछ, अविश्वास गर्ने प्रष्ट आधार नहुन्जेल विश्वास गर्नु पर्दछ भन्ने मेरो मान्यता हो ! अनि राम्रा कुरा कसैले गर्यो भने त्यसको तत्काल प्रशंशा गरेर राम्रोलाई थप प्रोत्साहन दिनु पर्दछ भन्ने मान्यतामा म सधैं रहिरहेको छु ! नेपालको आन्तरिक उर्जा र भूराजनीतिक यथार्थतालाई सीके राउतले अन्तर्मनले अङ्गिकार गरेका मैले बुझेको छु– बाँकी प्राविधिक कुरा मात्र हुन् !
 

२. राष्ट्र विखण्डनको कुरा गर्नुहुन्छ भने पहिला राष्ट्र भनेको के भनेर प्रष्ट हुनुपर्दछ ! राष्ट्र भनेको मुलुकको संविधान पनि हो ! नियम–कानुन पनि हो !सरकार, अदालत, संवैधानिक अङ्गहरू, सुरक्षा निकायहरू, स्कूल, कलेज, अस्पताल सबै राष्ट्र हुन् ! खेतबारी, नहर–कुलो नदी, खोला, पहाड, सडक, पुल सबै राष्ट्र हुन् ! पशुपतिनाथ, स्वयम्भु, मुक्तिनाथ, खप्तड,जनकपुर लुम्बिनी राष्ट्र हुन् ! निकुञ्जहरू हुन् राष्ट्र ! हिन्दु र वौद्ध धर्म हो राष्ट्र !
नेपालको हकमा हिन्दुत्व हो राष्ट्र !

पृथ्वीनारायण शाह, बहादुर कालु पाण्डे , झागल गुरुङ्ग, बिसे नगर्ची, भानुभक्तहरू हुन् राष्ट्र भनेको ! नेवारी र मिथिला सभ्यता र संस्कृति बेगर नेपाल राष्ट्रको परिचय निर्माण नै हुँदैन !  राम नवमी, कृष्णाष्टमी, तीज, पंचमी,दशैं–तिहार, ल्होसार आदि हुन् राष्ट्र ! लाखे नाच पनि हो राष्ट्र र देउडा नाच पनि !

राजा हुन् राष्ट्र !

विभिन्न जातजाती, भाषा र संस्कृति हुन् राष्ट्र– तिनलाई प्रतिनिधित्व गर्ने जनता हुन् राष्ट्र । ७२को संविधान मात्र होइन राष्ट्र ४७को संविधान पनि राष्ट्र थियो ! !

३. यी सबै आज कुन हालतमा छन् ? यी विखण्डित छैनन् ?  उदाहरणको लागि राष्ट्रको प्रतीक बनेका पृथ्वीनारायण शाह र भानुभक्तको सालिक फोर्ने न सीके राउत थिए न ती सालिक भत्काइँदा मुलुकमा ओलीको सरकार थियो !

राष्ट्र विखण्डन गर्छ भने संघियता, धर्मनिरपेक्षता र गणतन्त्रले गर्दछ तर ती मूल्यहरू मुलुकमा लाद्ने निर्णायक भूमिकामा न ओली थिए न राउत ! 
अनि को हो राष्ट्र विखण्डनको सूत्रधार ? 

४. कम्युनिस्टको विरोध गर्ने अनेकौं सैद्धान्तिक आधार छन् ! ओली सरकारको विरोध गर्ने दर्जनांै कारणहरू छन् ! स्पष्ट कारणहरू छन्– विरोध तिनमा केन्द्रित गरे भयो नी, किन काल्पनिक र अनुमानका कारण खोज्नु पर्यो ?
 

५. संसारभर प्रतिरक्षात्मक भएका कम्युनिस्टहरू नेपालमा यो हैसियतमा कसरी आइपुगे ?  काङ्ग्रेस आफैंले त्यसमा कस्तो योगदान पुर्यायो ? 
पुर्याइरहेको छ ?

६. संविधानले समाजवादलाई लक्ष बताउनुको अर्थ मुलुकले कम्युनिस्ट शासनलाई आफ्नो लक्ष बताएको हो भनेर मैले त भनिरहेको छु ! कम्युनिस्टले अवलम्वन गर्ने समाजवादी कार्यक्रमले मुलुकलाई प्रगति र समृद्धि दिन सक्दैन भनेर भनेको भन्यै छु ! आज काङ्ग्रेस मुलुकको राजनीतिक प्रतिपक्ष होइन, संसदीय प्रतिपक्ष मात्रै हो । 

७. प्रतिक्रिया मात्रै गरेर बस्ने हस्तक्षेपकारी विषय लिएर आउन नसक्ने, सत्तामा पुग्न र रहिरहन आफ्ना सबै मूल्य, विचार र राजनीतिक संस्कृतिलाई परित्याग गरेर जुनसुकै चरित्रको राजनीतिक शक्तिसँग साँठगाँठ गर्न काङ्ग्रेस पछि छ र ? सडकमा जसले जे भनेर आयो त्यही ठिक भन्ने र आफ्ना सैद्धान्तिक र वैचारिक धरातल मास्ने काङ्ग्रेस होइन आजको मुलुकको अवस्थाको कारण ? मुलुक जोड्ने अजेण्डा हराएको काङ्ग्रेस कै कारण हो आजको समस्या !

८. समस्या न नेकपा हो, न सीके राउत ! त्यसकारण समाधान पनि नेकपा होइन, सीके राउत होइन ! समस्या काङ्ग्रेस हो र समाधान पनि काङ्ग्रेस हो ! काङ्ग्रेस समाधान लिएर नआउने भएपछि जो स्थायी वा अस्थायी समाधान लिएर आउँछ उसको समर्थन गर्नै पर्यो नी !
काङ्ग्रेसले उपचार नदिएपछि पनि मुलुक रोग पालेर बसिरहने ? 

९. ओलीले राउतलाई मूलधारमा ल्याउने कोशिस गरे, त्यो प्रयाशलाई सम्मान ! जवसम्म परिणाम गलत देखिन्न त्यसलाई समर्थन गर्नु पर्दछ । 
सत्य प्रस्तुत गर्न नसक्ने, तथ्य सामू ल्याउन नसक्ने अनि कोरा कल्पना, अनुमान र षड्यन्त्र सिद्धान्त घोकेर मुलुकलाई अन्यौलमा मात्र राख्ने,कोठामा कानेखुसीमा षड्यन्त्रका कथाहरू रचेर बस्ने राजनीति, विश्लेषण र तर्ककाप्रति सहमत हुन सकिन्न ! !

षड्यन्त्र हो भने प्रमाण सहित छाती ठोकेर सार्वजनिकरूपमा भन्न सक्नु पर्दछ !

(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष तथा विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूकवालबाट)
 

ताजा खबर