भीआईपी उडानको लागि कडा नियम बनाउँदै उड्डयन प्राधिकरण

२०७५ फाल्गुण २६ आइतबार १२:०४:०० मा प्रकाशित


काठमाडौं, २६ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपी फ्लाइट संचालनको लागि अति आवश्यक रहेको कडा नियम बनाउने भएको छ । यसको लागि प्राधिकरण तयारी गरिरहेको थाहा भएको छ । यसरी बनाइने नियम एयरलायन्स र चालक दलका सदस्यहरुले दृढतासाथ पालना गर्नुपर्ने बताइएको छ ।

यसरी बनेर आउन लागेको नियम अनुसार, उडान भर्ने पाइलटसँग भीआईपी उडानको लागि पर्याप्त अनुभव हुनुपर्ने, पाइलट, चालक दलका अन्य सदस्य तथा इन्जीनियरहरु नियुक्त गर्दा टे«निङ दिनुपर्ने जस्ता नियम हुने बताइएको छ । त्यस्तै उडानको समय पालन गर्नुपर्ने केहि अत्यावश्यक विधिहरुपनि पनि सो नियममा रहने बताइएको छ ।

प्राधिकरणले सो नियम यहि आर्थिक वर्षभित्र बनाइसक्नु पर्ने बताइएको छ । पछिल्लो समय एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सुरक्षा सम्बन्धी विषयमा गम्भीर लापरवाही भएको खबर बाहिरिएसँगै भीआईपी उडानलाई थप सुरक्षित बनाउन यो नियम आउने भएको बुझिएको छ । उक्त दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा यती एयरलायन्सका प्रमुख आङ छिरिङ लगायतका भीआईपीहरुको मृत्यु भएको थियो ।

त्यस्तै गत मंगलबार समय प्रधानमन्त्री केपीशर्मा ओली चढेको यती एयरलायन्सको जहाज आकाशमै २० मिनेटसम्म होल्ड भएको विषयले पनि प्राधिकरणलाई कडा नियम बनाउन दबाव परेको थाहा भएको छ ।

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएको विषयको अनुसन्धान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सह सचिव सुरेश आचार्यको अध्यक्षतामा छानविन समिति नै गठन गरेको छ । भीभीआईपी उडानको लागि प्राथमिकता दिने अभ्यास भएपनि प्रधानमन्त्रीको जहाज रोकिएपछि यस विषयका छानविन नै गर्नुपर्ने अवस्था आएको भनिएको छ ।

पर्यटन मन्त्रालयका अधिकारीहरु हवाइ सुरक्षालाई थप मजबुत बनाउन पनि कडा नियम आउनुपर्ने भएकाले प्राधिकरणलाई निर्देशन दिएको बताइरहेका छन् ।

पछिल्ला समय हेलिकप्टरका पाइलटहरुलाई एयरलायन्सहरुले नै खराब मौसममा पनि हेलिकप्टर उडाउन दबाव दिने गरेको खबरहरु बाहिरिइ रहेको छ । सोहीकारण पनि प्राधिकरणले हेलिकप्टर संचालक कम्पनीहरुलाई उडान सुरक्षा बढाउन सतर्क गराएको पनि थाहा भएको छ ।

 

ताजा खबर