देउवाको तदर्थवाद विरुद्ध नेताहरु गोलबन्द हुँदै 

२०७५ फाल्गुण २४ शुक्रबार १२:२१:०० मा प्रकाशित

 काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वेच्छाचारिता हावि गराएको आरोपमा उनी ईतर नेताहरु गोलबन्द हुन थालेका छन् । महासमिति बैठकको निर्णयलाई अनादर गरि कमजोर जनाधार भएका आफ्ना केही सीमित नेताको कोटरीको संरक्षण नीति लिएको भन्दै पार्टीका ५६ जिल्ला सभापतिले देउवा बिरुद्ध मोर्चाबन्दी सुरु गरे । यसलगत्तै सभापति देउवाको कार्यशैली प्रति विमती राख्दै आएका केन्द्रिय नेताहरु समेत जिल्ला सभापतिहरुसँग गोलबन्द हुने क्रम बढेको हो । 

५६ जना जिल्ला सभापतिले सभापति देउवाकै विरुद्धमा सार्वजनिक विज्ञप्ति निकाल्नु, केन्द्रिय समितिमा बहुमत रहँदाकै अवस्थामा समेत निर्णय गर्न नसकेकै कारण यतिबेला देउवा पार्टीभित्र प्राविधिक रुपमा मात्रै सभापति रहेको समेत घटनाक्रमले स्पष्ट गर्दै लगेको छ । पार्टीभित्र बढ्दै गएको दवाव पन्छाउनकै लागि यतिबेला देउवा ‘पार्टीलाई छल्ने’ नीतिमा लागेका देखिन्छन् । हिजो १३ औं महाधिवेशनताका देउवाका सारथीका रुपमा देखिएका पार्टीकै पुराना नेता केबी गुरुङ्ग, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी,सूर्यमान गुरुङ्ग, फरमुल्लाह मन्सुर लगायतका नेतामा यतिबेला देउवाका पक्षमा एकजना फरमुल्लाह मन्सुर मात्रै देखिएकाले पनि पार्टीमा देउवाको गिर्दो राखको संकेत दिएको छ ।  जिल्ला सभापतिहरुको चेतावनी सँगसँगै पार्टीभित्र आफू बिरुद्ध मोर्चाबन्दी शुरु भए लगत्तै कार्यकर्तालाई फकाउन कै लागि सभापति देउवाले आकस्मिक जिल्ला दौडाहा सुरु गेका छन् । उनले बिहीबार बिराटनगरबाट सुरु गरेको दौडाहा फागुन २८ गतेसम्म विभिन्न जिल्लामा जारी रहने बताईएको छ । 

यता, संस्थापन पक्षले बहुमतको बलमा विधान पारित गरेकै कारण देउवा इतर समूह आन्तरिक तयारीमा जुटेको बुझिएको छ । महासमितिमा गरिएको प्रतिवद्धता विपरीत विधानलाई आफू अनुकूल पारित गरेकोमा असन्तुष्ट ईतर समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा गत मंगलबार बुधबार दुई दिनसम्म चलेको थियो ।  बैठकमा तेश्रोधारका नेता कृष्णप्रसाद सिटौला समेत  इतरसमूहका शीर्ष तहका अधिकांश नेता उपस्थित छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरु सहभागी थिए । अघिल्लो साता बोलाइएको केन्द्रीय समितिको बैठकमा सभापतिले अनुशासन समिति गठनको प्रस्तावअघि बढाउन लागेपछि पौडेल र सिटौला समूहले बैठक बहिष्कार गरेका थिए ।  ५६ जिल्ला सभापतिले मंगलबार विज्ञप्ति निकालेर महासमिति बैठकबाट पारित गरिएको विधान विपरित विधान ल्याइएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन् ।

काँग्रेस सभापतिका हैसियतमा आफ्नो कार्यकाल छोटिंदै गर्दा सभापति देउवा भने आफ्नो कार्यकाल लम्ब्याउने षड्यन्त्रमा लागेको भन्दै पार्टीभित्र उनको तिब्र आलोचना शुरु भएको छ ।  आगामी २०७६ फागुन मसान्तमा सकिने वर्तमान कार्य समितिको म्याद अगावै पार्टी महाधिवेशन गराउनु पर्ने दवाव पार्टीमा बढ्दै जाँदा सभापति आफैं भने वर्तमान कार्य समितिको कार्यकाल साडे पाँच बर्ष पु¥याउने प्रपञ्चमा रहेको आरोप लाग्न थालेको छ । नेपाली काँग्रेसको सभापति निर्वाचित भएको तीन बर्षसम्म पनि पार्टीका महत्वपूर्ण विभागहरु गठन हुन सकेका छैनन् । पार्टीकै महत्वपूर्ण भातृ संगठनका रुपमा लिईने नेपाल बिद्यार्थी संघ यतिबेला अस्तित्वविहीन अवस्थामा पुगेको छ । पार्टीको समग्र अवस्था लथालिंग रहेको वर्तमान अवस्थामा पार्टीको महाधिवेशन गराएर पार्टीलाई गतिशील बनाउनु पर्नेमा स्वयं पार्टी सभापति आफैं आफ्नो कार्यकाल लम्ब्याउने दाउपेचमा कृयाशील भएको भन्दै उनी विरुद्ध पार्टी भित्रै जनमत निर्माण हुन थालेको देखिन्छ । 

महासमिति बैठक लगत्तै बसेको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पार्टीकै वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते पार्टीको १४औं महाधिवेसनको तिथि प्रस्ताव गरेकोमा सभापति देउवाले पौडेलको उक्त प्रस्तावको ठाडै बिरोध गर्दै पार्टीको आगामी महाधिवेशन साडे पाँच वर्षमा मात्रै हुने बताएका थिए । सभापतिको उक्त ‘घोषणा’ को तत्काल नै कतिपय पार्टी नेताहरुले विरोध गरेपनि देउवा भने त्यही रणनीतिमा रहेको स्पष्ट हुन थालेको छ । पार्टी विधान बमोजिम वर्तमान केन्द्रिय समितिको म्याद आगामी फागुन मसान्तसम्म मात्रै छ । तर असाधारण स्थितिमा थप एक वर्ष बढाउन सकिन्छ । यस्तै नेपालको संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा राजनैतिक दलको केन्द्रिय समितिको अवधि साडे ५ वर्ष भनेर उल्लेख गरिएको छ । यतिबेला पार्टी विधानमा उल्लेख ‘असाधारण परिस्थिति’ र संविधानको त्यही प्रावधान टेकेर आफ्नो कार्यकाल लम्ब्याउने दाउमा देउवा लागेको सहजै बुझ्न सकिन्छ ।

योसँगै यसअघि स्व. सुशिल कोईरालाका पालामा समेत साडे पाँच बर्षमा पार्टी महाधिवेशनमा गएकाले सभापतिले, अरुले कार्यकाल साडे पाँच बर्ष पु¥याउन हुने मैले चाहीं नहुने भन्दै खोचे थाप्ने गरेको काँग्रेसकै केन्द्रिय नेताहरु बताउन थालेका छन् । देउवा ईतर पक्ष भने साडे पाँच बर्ष कार्यकाल लम्ब्याउँदा बाहिर गलत सन्देश जाने भएकै कारण समयमै महाधिवेशन गराउनका लागि सभापतिलाई दवाव दिंदै आएका छन् । यता देउवा पक्षकाहरु भने हिजो पार्टी जसरी चलेको थियो आज पनि त्यसैगरी चल्छ । हिजो जे भएको थियो, आज त्यही हुन्छ भन्ने ओठे जवाफ दिंदै हिंड्न थालेका छन् । 

नेपाली काँग्रेसको ईतिहासमै पहिलो पल्ट देउवाको यो कार्यकाल नेपाली काँग्रेस र यसका सहयोगीहरुका लागि भालुको कन्पट बन्न पुगेको कार्यकर्ताहरु नै टिप्पणी गरिरहेका छन् । पार्टीमा बढेको बेथितिले पार्टी कमजोर हुने भयले यतिबेला समग्र काँग्रेसजन चिन्तित देखिन्छन् । १३ औं महाधिवेशनले देउवाको नेतृत्वमा चुनेर पठाएको वर्तमान कार्य समितिले पार्टीका ४२ वटा विभागमा एउटा विभाग समेत निर्माण गर्न सकेको छैन । पार्टीका भातृ संगठनको अवस्था झनै कमजोर देखिन्छ । कतिपय भातृ संगठनको अस्तित्व नै धरापमा परेको छ ।

पार्टीभित्र मौलाएको चरम गुटबन्दीकै परिणाम यतिबेलासम्म महाधिवेशन सम्पन्न भएको ब्यवस्था अनुरुप दुई महिनाभित्रै गठन गरिसक्नुपर्ने ४२ वटा विभाग अहिलेसम्म गठन भएका छैनन् । निर्वाचन समिति र अनुशासन समिति जस्ता महत्वपूर्ण निकाय बन्न सकेका छैनन् । दस महिनाअघि विघटित केन्द्रीय कार्यसम्पादन र संसदीय समिति कहाँ छन् अत्तोपत्तो छैन ।

दुई वर्षअघि पोखरामा भागबन्डाका आधारमा नेतृत्व छानिएको तरुण दलको ९५ सदस्यीय केन्द्रिय कार्य समिति अहिलेसम्म चार जनामै सीमित    छ । अध्यक्ष जितजंग बस्नेत, महामन्त्री भूपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङ मात्रै यतिबेला तरुण दलको केन्द्रिय समितिका रुपमा कार्यरत छन् । सभापति निर्वाचित भएको दुई बर्षमा पाँच पदाधिकारी मनोनयन गरेका सभापति देउवाको यो कार्यकाल समग्रमा तदर्थवादमै चलेको छ । र फेरि उनै देउवा अर्को कार्यकालका लागि पनि आफ्नै नेतृत्व काँग्रेसमा खोजी रहेका छन् । शुक्रबारको विमर्श साप्ताहिकमा समाचार छ– जसले पार्टीमा यतिबेला गुटबन्दी र विवादले झनै मौलाउने ठाउँ पाएको छ । 
 
 

ताजा खबर