चार महिनापछि उडान भर्दै सौर्य एयरलायन्स

२०७५ फाल्गुण २३ बिहीबार ११:४६:०० मा प्रकाशित

काठमाडौं, २३ फागुन । चार महिनाभन्दा बढि समय जहाज ग्राउन्डेड गरेको सौर्य एयरलायन्सले भोली अर्थात् शुक्रबार देखि पुनः उडान भर्ने तयारी गरेको छ ।

यसअघि पाँच वटा गन्तव्यमा उडान भर्ने गरेको भएपनि सौर्यले भोलीदेखि दुईवटा गन्तव्यमा मात्र उडान भर्ने भएको छ । विराटनगर र भैरहवामा एउटामात्र उडान भर्ने तालिका सार्वजनिक गरेको सौर्यले धनगढि, नेपालगञ्ज र भद्रपुरमा भने तत्कालै उडान नभर्ने संकेत गरेको छ ।

यसअघि श्याम अधिकारी सहितको नयाँ व्यवस्थापनले सौर्य एयरलायन्स खरिद गरेपछि नियमति उडान हुने बताइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरुक्षा, काउन्टर, ल्याण्डीङ र पार्किङ शुल्क नतिरेपछि उडान पुनः संचालन हुन नसकेको थाहा भएको छ ।

गैरआवासीय नेपाली श्याम अधिकारी सहित श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको व्यवस्थापकीय टोलीले सौर्यको ऋणहरु सकार्दै खरिद गरेको थियो । उक्त टोलीले ३ करोडभन्दा बढि बक्यौता नतिरेपछि विमानस्थलले उसका सम्पूर्ण उडानहरु रोकेको थियो ।

सौर्यको व्यवस्थापनले हालसालै भारतीय समुह कुवेर गु्रपलाई सौर्यको ४९ प्रतिशत शेयर बेचेको थाहा भएको छ । उक्त कारोबार भएपछि ५० लाख बक्यौता तिर्दै सौर्यले बाँकि रकम दुई महिनासम्म किस्ताबन्दीमा तिर्ने सहमति गरेपछि विमानस्थलले उडानको स्वीकृती दिएको बताइएको छ ।

 

ताजा खबर