सुन तश्करीबाट चोखिन दौडधुपमा भुसाल

२०७५ फाल्गुण २३ बिहीबार ११:२१:०० मा प्रकाशित

काठमाडौं । तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ३३ किलो ५ सय ७७ ग्राम सुन तस्करी प्रकरणका मुख्य दोषी भनिएका रोशन भुसाल अहिले सर्वोच्च अदालतमा सेटिङ गरी उन्मुक्ति लिने चलखेलमा लागेको बुझिएको  छ । त्यही तस्करीमा संलग्न भुसालका साझेदार हरिशरण खड्का केही समयअघि दुबईमा पक्राउ परेपछि हड्बडाएका भुसाल अहिले काठमाडौंमा बिचौलियासँग सेटिङ मिलाउन दौडधुप रहेको थाहा भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेपछि सुन तस्कर खड्का दुबईमा पक्राउ परेका थिए । तर, सोही प्रकरणका भुसाल भने प्रहरीको आँखा छल्दै काठमाडौंमै खुलेआम घुमिरहेको सुरक्षा सूत्रले बताएको छ । उनै भुसालले सुनतस्करीबाट कमाएको बीसौं करोड कालोधन जग्गामा लगानी गरेको बताइएको छ । त्यति मात्र होईन त्यो कालो धन दर्तै नभएको सरकारी जग्गा खरीदमा समेत लगानी भएकाले उनी अहिले छटपटाइरहेको समाचार स्रोतले बताएको छ ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तीन वर्ष अघि विमानस्थल भन्सारबाटै ३३ किलो अवैध सुन बरामद गर्दै तस्करीको सञ्जालबारे अनुसन्धान सुरु गरेको थियो । त्यसैक्रममा दुवईबाट सुन तस्करी गर्ने मुख्य योजनाकारमा हरिशरण खड्का र रोशन भुसाल पहिचान भएका थिए । उनीहरुलाई प्रहरीले पक्राउ गर्न नसकेपछि इन्टरपोल गुहार्नु परेको थियो ।  भुसाल भने छानवीन समितिले अदालतमा मुद्दा दायर गरेपछि सोझै अदालतमा उपस्थित भएर २० लाख धरौटी जमानतमा तारिखमा छन् । उक्त मुद्दा जिल्ला, उच्च हुँदै अहिले सर्वोच्च अदालतमा पुगेको छ । सुनतस्करीमा संलग्न भएकाले त्यतिबेला सीआइबीले विमानस्थलका एसपी श्याम खत्री, तथा अन्य प्रहरीहरु गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, विमानस्थल भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनिल श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठलाई समेत पक्राउ गरेको थियो । तर दुवईबाट सुन नेपालमा पठाउँदै आएका भुसाल र खत्रीलाई भने पक्राउ गर्न सकेकोे थिएन ।

भुसाललाई त प्रहरीका उच्च अधिकारीले नै संरक्षण गरेका कारण प्रक्राउ गर्न नसकिएको बुझिएको छ । अहिले तिनै भुसाल सरकारी जग्गा दर्ता प्रकरणमा जोडिएकाले अपराधीहरुको मनोवल कसरी उच्च भइरहेको छ भन्ने तथ्य पनि खुल्दै गएको छ । भुसालले गोंगबुको ११ रोपनी सरकारी जग्गा दर्ता समेत गरी सकार गर्न ११ करोड रुपैयाँ बैना गरिसकेको समाचार स्रोतले बताएको छ ।

 उनले तीन दशक अघि ०४४ साल मंसिर २९ को निर्णयले नेपाल सरकारको नाममा दर्ता रहेको हाल टोखा नगर पालिका भइँ साविक गोंगबु गाविसको ३(क) कित्ता नम्बर ९७ को ११ रोपनी जग्गा खरीदका लागि भुसालले पद्मकुमारी कार्कीका छोरा बलराम कार्कीलाई ११ करोड बैना लिएका छन् । तर जग्गा भने पदमकुमारीको नाममा आइनसकेकाले मालपोतमा सेटिङ मिलाउन अग्रिम लगानी गरेको बताइएको छ ।

सरकारी जग्गा दर्ता गरेर हड्प्नका लागि लगानी गर्ने सुनतस्कर भुसाल र सरकारी जग्गा दर्ता गरेर बेच्न आँट गर्ने भूमाफिया कार्कीको जालोबीचको सम्वन्ध समेत खोज्नु पर्ने समाचार स्रोत बताउँछ । अझ रोचक पक्ष त के छ भने पदमकुमारी कार्की समेतले उक्त ११ रोपनी जग्गा आफ्नो हो भनी काठमाडौं जिल्ला अदालतमा दायर गरेकोे मुद्दामा जिल्ला अदालतबाट उनीहरुको दाबी नपुगेको फैसला भएको थियो । तर उच्च र सर्वोच्च अदालतबाट उक्त जग्गा कार्कीका नाममा हुने फैसला भएको छ । यसमा सेटिङले काम गरेको सर्वोच्च स्रोत बताउँछ । विवादास्पद प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीका पालामा २०७४ जेठ २९ गते सर्वोच्चका न्यायाधीशद्वय देवेन्द्रगोपाल श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासले उच्चको फैसला सदर गरी ब्यक्तिकै नाममा हुने आदेश दिएको थियो ।

सरकारी जग्गा ब्यक्तिको नाममा हुने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउने आदेश दिने न्यायाधीशहरु भने उच्चका टंकबहादुर मोक्तान र भरतप्रसाद अधिकारी थिए । सुनकाण्डमै उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भूर्तेल, सारंगा सुवेदी, साधुराम सापकोटा, जनक पाण्डेसहितका ८ न्यायाधीश तान्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सरकारी जग्गा ब्यक्तिको नाममा कायम हुने फैसला गर्ने न्यायाधीशमाथि पनि कारवाही हुनुपर्ने आवाज अहिले न्यायालयमा उठिरहेको छ । किनभने तत्कालीन काठमाडौं जिल्ला अदालतकी न्यायाधीश प्रभा बस्नेतले वादीको दाबी नपुग्ने भएकाले उक्त जग्गा नै ठहर्ने फैसला गरेकी थिइन् ।

सुन तस्कर भुसालले काठमाडौंका अन्य ठाउँमा पनि यस्तै प्रकृतिका जग्गामा लगानी गरेको बुझिएको छ । दुई दशक अघि टेम्पो चालक रहेका भुसालसँग अहिले करोडौको सम्पत्ति रहेको छ । विभिन्न बैंकहरुमा खाता खोलेका भुसालले सन् २०१६मा एउटै बैंकमा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो । काठमाडौंमा मात्रा सात वटा घर निर्माण गरेका भुसालले दुबईमा खड्कासँग मिलेर याक एण्ड ज्वेलर्स ट्रेडिङ, एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट लगायत ९ वटा कम्पनीहरु सञ्चालन गरेको प्रहरी स्रोत वताउँछ ।

त्यति मात्र होईन भुसालले सन् २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाखको स्रोत समेत शंकास्पद रहेको रिपोर्ट सिआईबीले तयार पारेको स्रोतको दावी रहेको छ । (प्रकाश खबरबाट)
 

ताजा खबर