राष्ट्रपतिको सवारीमा नागरिकको ‘सकारात्मक विद्रोह’

२०७५ फाल्गुण २२ बुधबार ११:३३:०० मा प्रकाशित

काठमाडौं, २२ फागुन । मंगलबार साँझ घर फर्किँदै गरेका नागरिकले सडकमै राष्ट्र प्रमुख विरुध्द ‘सकारात्मक विद्रोह’ प्रदर्शन गरेका छन् ।

यो कुनै राजनीतिक माग वा पेशागत ज्ञापन नभै सार्वजनिक आवागमनमा अनावश्यक रुपमा पैदा गरिएको अवरोधका विरुध्दमा स्वतस्फुर्त सक्रिय असमहित थियो । राष्ट्र प्रमुख विरुध्द यसरी सार्वजनिक स्थानमा नागरिकको ठूलो समूहले भद्र विरोध गरेको पहिलो घटना हो ।

लैनचौर क्षेत्रमा ट्राफीक नियमको उल्लंघन गर्दै दुईपांग्रे तथा केहि चारपांग्रे सवारी साधनहरु ‘हर्न’ बजाइरहेका उक्त भिडियोमा देखिन्छ । अघिल्तिर ट्राफीक प्रहरीहरु भएपनि ‘एक हजार जरिवाना’ लाग्ने काम गर्न ती सवारी चालकहरु हच्किएका देखिएनन् ।

सोही क्रममा ट्राफीकले रोक्दारोक्दै एउटा स्कुटर फुत्त बाटो लागिहाल्यो । त्यहि स्कुटर पछ्याँउदै अन्य मोटरसाइकलहरु ‘एक्सीलेटर’ दवाउँदै अघि लागे । ट्राफीक प्रहरीले ती सवारीहरु रोक्न प्रयास गरेपनि कुनै गाडी नरोकिइ अघि बढ्न थालेपछि ट्राफीक नै त्यहाँबाट हट्नुपर्ने वाध्यात्मक अवस्था आयो ।

उक्त भिडियो राख्ने व्यक्तिले विवरणमा उल्लेख गरेअनुसार ती सवारीसाधनलाई ४० मिनेटदेखि ट्राफीक प्रहरीले रोकेर राखेको थियो । हर्न बजाउँदै बिस्तारै विरोध गर्न सुरु गरेका सवारी चालकमध्ये एकजनाले आजित हुँदै, ‘यो बाटो राष्ट्रपती भन्दा जनताको धेरै हो । राष्ट्रपतीलाई त हामीले बनाएका हौं’ भनेर आक्रोश पोखेका थिए । उनको भनाइलाई सबैले समर्थन गर्दै ‘हो, हो’ भन्दै अघि बढेपछि देखिएको दृश्य नै उक्त भिडियोमा कैद भएको बताइएको छ ।

यसरी सर्वसाधारणको साधनलाई रोकेर राख्नुपर्ने कारण चाहिं राष्ट्रपती विद्यादेवी भण्डारीको ‘सवारी’ रहेको खुलेको छ । सेना दिवसको अवसर पार्दै सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजको ‘शोभा’ बढाउन राष्ट्रपती जाने क्रममा बाटो बन्द गरिँदा त्यस्तो परिस्थिति आएको थियो । राष्ट्रपती वा अन्य भिआइपीको लागि सडक जाम गरिएको पहिलो पटक भने होइन । पटक–पटक राजा महाराजा झैं ‘सवारी’ को नाममा सडकमा साधनलाई रोकेर राख्ने गरेको भएपनि यसरी ट्राफीकको ईशारा विरुद्ध अघि बढेको सम्भवतः पहिलो घटना भएको बुझिएको छ ।

सामाजिक सञ्जालमा यो भिडियो हेरेर प्रतिक्रिया दिने अधिकांशले यसलाई ‘सकारात्मक विद्रोह’ को संज्ञा दिइरहेका छन् । कतिपयले यो भिडियो हेर्दा मन सन्तोष भएको पनि प्रतिक्रिाय दिएका छन् । यसले फेरी पनि यस्तो घटना नदोहोरिएला भन्न सकिने अवस्था छैन भन्दै केहिले भविष्यको लागि पनि खबरदारी गरिरहेका छन् ।

ताजा खबर