कवि दिनेश अधिकारीको ‘तस्बिरको कथा’

२०७४ श्रावण ३० सोमबार १३:५८:०० मा प्रकाशित

काठमाडौं । उनलाई कविका रुपमा मन पराउने पाठक एक भव्य स्वरमा उनकै गीत सुनेर चकित पर्छ भने यसमा उनको कुनै दोष छैन । प्रशासनको उच्च तहसम्मको करिअरमा बेदाग पार हुने प्रशासकको चर्चा हुँदा उनको नाम आउनु,सबै बिचार र बर्गका मानिससँग उस्तै स्नेहपूर्ण सम्बन्ध जिवन्त बनाउने व्यक्तिको प्रसंग चल्दा पनि उनको नाम नछुट्नुमा पनि उनको कुनै दोष छैन ।

यसरी सबै विधा र वर्गमा समान पकड भएका उनी हुन् देशका एक लोकप्रिय कवि तथा गीतकार दिनेश अधिकारी ।उनका गीत नारायण गोपालको स्वरमा घन्किएको छ र कविता मदन पुरस्कारले सुशोभित भएको छ । उनको परिचय कवि र गीतकारको रुपमा त स्थापित छँदैछ । 

यी प्रिय कवि तथा गीतकार दिनेश अधिकारीका नाममा अर्को एउटा विशेषण थपिदिए अन्यथा नहुने भएको छ, त्यो हो अभिलेखक ।  गएको शुक्रबार यिनै कविले सार्बजनिक गरे एउटा अमूल्य कृति ‘तस्बिरको कथा’। 

विगतमा उनलाई जुरेका अमूल्य अवसरलाई तस्बिरमा कैद गरिएका घटनाहरुको कवितात्मक संकलन हो यो । गत शुक्रबार एकसय २६ पृष्ठको यो नवीनतम् कृतिको लोकार्पण तीन विशिष्ट व्यक्तिहरुका हातबाट  एकसाथ भयो – प्रा. अभि सुवेदी, गायक प्रेमध्वज प्रधान र मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीबाट ।

‘दिनेशको लागि आजका त्रिमूर्ति हामी नै भयौं,’ आफ्नो मन्तव्यको क्रममा समीक्षक विद्वान् सुवेदीले लेखकको प्रयासको सराहना गर्दै भनेका थिए। उनले अधिकारीको रचना यात्रामा कुनै पनि किसिमका जटिलताहरु नपाईएको उल्लेख गरे। सुबेदीले भने,  ‘दिनेशको सिर्जना यात्रा एकदम स्पष्ट छ ।’

अधिकारीका गीत–रचनाबाट आफू प्रभावित भएको अनुभव गायक प्रेमध्वज प्रधानले सुनाएका थिए।

त्यसैगरी प्रशासन सेवामा रहँदाका अधिकारीको कार्यशैली र दक्षता नजिकबाट चिन्ने अवसर पाएको अनुभव उनका मित्र मुख्य सचिव क्षेत्रीले सुनाए।

बीपी कोइराला, भूपि शेरचन, नारायण गोपाल, राजा वीरेन्द्र, प्रथम राष्ट्रपति रामवरण यादव, कमल दीक्षित, श्याम बेनगल (भारतीय चलचित्रका निर्देशक) सिद्धिचरण श्रेष्ठ, कीतिनिधि बिष्ट, राष्ट्रकवि माधव घिमिरे, रानी ऐश्वर्य, लोकेन्द्रबहादुर चन्द, सत्यमोहन जोशी जस्ता अनेक स्रष्टा र विशिष्ट व्यक्तित्वसँगका भेटमा खिचिएका तस्बिरमा मीठा शब्दहरुले चर्चा गरेका छन् लेखकले ।

गीतकार अधिकारीको यो नीजि डायरी जस्तो देखिए पनि साहित्य, संगीतको क्षेत्रमा अन्वेषण, अनुसन्धान गर्ने सबैका लागि यो कृति दूर्लभ स्रोत हुनेमा कुनै शंका छैन। 

 
 

ताजा खबर