भोलेनाथ म धेरै खुशी छु !

२०७५ फाल्गुण २० सोमबार १६:३२:०० मा प्रकाशित

भोलेनाथ ! म आज राती १ बजे नै उठेर पूरै शरीर धोएर तपाईंलाई दर्शन गर्न भनेर गएँ, मलाई त्यो कति बजे होस् कुनै मतलव थिएन । मात्र तपाईंलाई दर्शन गर्न पाएमा म सदा खुशी हुँदै दौडन्छु र म यो संसारमा सबैभन्दा खुशी मानिस मध्ये एक हो भन्ने सम्झन्छु ।

भोलेनाथ ! मलाई लाईनमा लामवद्ध भएर जति घण्टा वस्दा पनि कुनै समस्या छैन तर कोहि जानी बुझी सजिलैसँग हाम्रै अगाडी हजुरको दर्शनका लागि तत्पर हुन्छन् तब मलाई सहन गाह्रो हुन्छ प्रभु । त्यतिबेला पनि म मेरो भगवान भोलेनाथलाई सम्झन्छु, तव सहजै मेरो समस्याको समाधान हुन्छ । भोलेनाथ ! म आफुलाई संसारमा सबैभन्दा खुशी मानिस मध्ये एक हो भन्ने सम्झन्छु भगवान् ।

भोलेनाथ ! हजुरलाई बेलपत्र धतुरोको फूल मन पर्छ भनेर पशुपतिनाथ मन्दिर समिपमानै किनेर चढाएँ । त्यो चढाउँदा पनि म हजुरको दर्शन गर्न आउने मध्ये सबैभन्दा नजिकको थिएँ भन्ने लाग्छ मलाई । हजुरले सार्वजनिक त गर्नु भएको छैन तर हजुरलाई भाङ धतुरो मन पर्छ अरे । मलाई भने त्यस्तैबाट बनेको झोल पदार्थ मन पर्छ प्रभु । सेवन गरेको बेलामा म आफुलाई संसारमा सबैभन्दा खुशी मानिस मध्ये एक हो भन्ने सम्झन्छु भोलेनाथ !

भोलेनाथ ! हजुरको दर्शनका लागि उपस्थित हुने समय पाउनु मात्र पनि मेरो भाग्य सम्झँदै गर्दा आज दक्षिण गेटबाट हजुरको दायाँ पारेर दर्शन गर्न मिल्ने अवसर मिल्यो । दर्शनका लागि प्रवेश गर्दा मैले देखेको जति लिङ्गको नछुटाईकन दर्शन गरें, लाग्छ म जस्तो भाग्यमानी र खुशी मानिस यो संसारमा कोहि पनि छैनन् ।

भोलेनाथ ! मैले मेरो शरीर हजुरको जिम्मा लगाएर हरेक दिन जस्तै मादक पदार्थ सेवन गर्ने गरेको छु अनि त्यति बेला पनि म यो संसारको सबैभन्दा खुशी र भाग्यमानी हो भन्ने सम्झन्छु । आज सोमबार परेको भोलेनाथको शिवरात्री, मेरो पनि जन्म भएको सोमबार अनि मेरो नाम पनि शिव त्यसैले म आज संसारका खुशी मानिस मध्ये आफुलाई एक सम्झन्छु प्रभु ।

भोलेनाथ ! म हरेक वर्ष बाबाहरुको लिङ्ग खुशीसाथ हेर्ने गरेको छु । मलाई त्यो हेर्दा पनि सुन्दर लाग्छ, यति सुन्दर पशुपतिनाथ, यति सुन्दर काठमाण्डौ, यति राम्रो संस्कार धन्य महादेव । जय शम्भू ।

ताजा खबर