१६ शृङ्गारमा सजिएर बसिन् तर दुलाहा आएनन् 

२०७५ फाल्गुण १९ आइतबार १४:३४:०० मा प्रकाशित

चिप्लेढुङ्गा, १९ फागुन । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा आएनन् । 

शनिबार सोफियाजस्तै छ जना बनेर सजिए, दुपट्टा साडी र लेहङ्गामा गरगहनाले सुसज्जित भएका थिए । लाग्थ्यो अब बेहुला आउँदैछन्, जन्तीसहित उनीहरुलाई लिन तर सोचेजस्तो जन्तीसहित कोही बेहुला दुलहीको सामु आएनन् । कारण थियो उनीहरु विवाहमण्डपमा नभई स्टेजमा उत्रिएका थिए बेहुली शृङ्गार प्रतियोगिताका सहभागी भएर । 

राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बेहुली शृङ्गार प्रतियोगितामा ११ जिल्लाका १३ सौन्दर्यकर्मीले सहभागिता जनाएका थिए । विभिन्न चरणबाट छानिएका ६ प्रतिस्पर्धीले ६ थरि बेहुली शृङ्गार गरेका थिए । चितवनकी नवीना लामाले दुलही शृङ्गार प्रतियोगिताको उपाधि जितिन्। 

राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले परापूर्वकालदेखि सुन्दरताको महत्व निकै हुने गरेको र सुन्दरता व्यक्तित्वको एक सबल पक्ष भएको बताउँदै विवाहमा पनि बेहुलीको शृङ्गार र सुन्दरताकै विशेष महत्व हुने बताईन् । श्रेष्ठले भनिन्, “सौन्दर्य पेशा सीपमूलक भएकाले सीप सिकेर कला प्रदर्शन गर्ने सक्ने जोकोही आत्मनिर्भर हुन्छ, पछिल्लो समय सौन्दर्यक्षेत्रले महिलालाई रोजगार प्रदान गरेको छ। ” 

कार्यक्रम संयोजनक दीपा कार्कीले सौन्दर्य पेशा कलात्मक र सिर्जनशील भएकाले यसको महत्वलाई उजागार गर्न बेहुली प्रतियोगिताको आयोजना गरिएको जानकारी दिईन्। सङ्घका जिल्ला अध्यक्ष सोनाम गुरुङले सौन्दर्यकर्मीको पेशागत दक्षता तथा क्षमता बढाउन र हरेक परिस्थितिमा आत्मविश्वासका साथ अग्रसर हुने वातावरण निर्माणका लागि सङ्घ क्रियाशील छ भनिन्।

सङ्घका संस्थापक अध्यक्ष चन्द्र श्रेष्ठले विवाहमा बेहुलीको सुन्दरता र शृङ्गारको चर्चा निकै हुने भएकाले बेहुली पहिरनअनुसारको शृङ्गारमा सौन्दर्यकर्मीले विशेष कलातर्फ ध्यान दिनुपर्ने बताईन्। सो कार्यक्रममा फष्ट रनर अप आकृति गुरुङ र सेकेण्ड रनर अप मनिषा कोँजु र भिओर च्वाइस सुप्रिया भुजेल भएकी थिईन्। रासस

ताजा खबर