लुम्बिनीमा ४९० भिक्षुले लिए प्रवज्या

२०७५ फाल्गुण १८ शनिबार ०६:३९:०० मा प्रकाशित

रुपन्देही, १८ फाुगन । बुद्ध जन्मस्थल लुम्बिनीमा ४९० भिक्षुले सामूहिक प्रवज्या लिएका छन् । 

मायादेवी मन्दिर परिसरमा शुक्रबार धार्मिक अनुष्ठानका साथ चिवर र शिलधारण गरेर उनीहरुले प्रवज्या लिएका हुन् । उनीहरुलाई थाइल्याण्डका भिक्षु थावरले प्रवजित गरेका हुन् ।

नेपालका प्रथम महासङ्घनायक ‘अरिय धम्मरक्खित नेपाल बुद्ध शासन वंशालङ्कारसिरी सङ्घमहानयक अग्गमहापण्डित’ भिक्षु भद्धन्त प्रज्ञानन्द महास्थवीरको १२९औं जन्मजयन्तीका अवसर पारेर कुलपुत्रलाई प्रवजित गरी भिक्षु बनाइएको हो । कुलपुत्र प्रवजित कार्यक्रममा नेपाल, भारत, थाइल्याण्डलगायत विभिन्न देशका भिक्षु सहभागी थिए । बुद्धको जिवनी, लुम्बिनीको महत्व, बौद्ध धर्म र शिक्षाबारे जानकारी गराउन सामूहिकरुपमा प्रवज्या अर्थात् एकैपटक धेरैलाई भिक्षु बनाउने गरिन्छ । प्रवज्या कार्यक्रममा कुलपुत्रलाई स्थायी तथा अस्थायीरूपमा भिक्षु बनाइएको थाई भिक्षु कोनले जानकारी दिए । 

थाइ दाता, विभिन्न विहार र नेपाल पर्यटन बोर्डको सहयोगमा पाँचौँपटक लुम्बिनीमा आयोजना गरिएको प्रवज्या शिविरअन्तर्गत शुक्रबार विशेष समारोहको आयोजना गरी कुलपुत्रलाई सामूहिकरुपमा प्रवज्जीत गरिएको कार्यक्रमका सहयोगी प्रवीण शाक्यले बताए। 

तेइसदिने शिविरअन्तर्गत आज लुम्बिनीमा भिक्षुलाई सामूहिकरुपमा भिक्षाटन गराइने कार्यक्रम छ । बुद्ध धर्मअनुसार शाक्यमुनिमा एक दिनका लागि भए पनि भिक्षु बन्नैपर्छ भन्ने मान्यता रहेको छ ।राससका अनुसार, यस्तै फागुन २९ गते बुटवल, पाल्पालगायत देशका विभिन्न शहरमा भिक्षाटनको कार्यक्रम राखिएको छ । यही फागुन ३० गते शान्तिदीप प्रज्वलन गर्ने र चैत ३ गते शिविर समापन कार्यक्रम रहेको छ ।

ताजा खबर