मल्टी पार्टनरको चक्करमा फसेको चलचित्र ‘जानीनजानी’

२०७५ फाल्गुण १६ बिहीबार १२:३२:०० मा प्रकाशित

काठमाडौं । “चड्कन दिनुपर्नेलाई धड्कन दिएपछि यसरी नै रुनुपर्छ” नवीन शैलीको प्रेम कथामा आधारित जानी नजानी चलचित्रको यो ‘डायलग’ सुन्दा नायिकाले प्रेममा धोखा पाएको बुझिन्छ । तर फेरि “खोइ यो कस्तो धागो हो, जुन तिमी सँग जोडिएको छ, टाढा गए चुडिएला भन्ने डर नजिक आए अल्झिएला भन्ने’ अर्को डायलगले नायक नायिका विचमा गहिरो प्रेम सम्बन्ध भएको दर्शाउँछ । यता फेरि “एउटीलाई मुटुमा घर अर्कोलाई कलेजीमा” भन्ने गीत सुन्दा हिरो प्रेमी भन्दा पनि एक खपीस खेलाडी भएको बुझिन्छ । 

गत शुक्रबार सार्वजनिक भएको ट्रेलर हेर्दा यी पेचिला सम्बन्धहरु बाहेक नेपालको राष्ट्रिय पहिचान बोकेको ‘ढाका’ कपडाको व्यवसायलाई ‘करिअर ब्रेक थ्रु’ का रुपमा पनि देखाउन खोजेको अनुमान गर्न सकिन्छ । ‘देव’ को भूमिकामा रहेका नायक मनिष श्रेष्ठ “बाउले कमाएको पैसा छोराले नउडाए कस्ले उडाउँछ त ?” भन्दै एक उद्दण्ड एवं गैर जिम्मेवार छोराको रुपमा देखिएका छन् । वर्षा क्यारेक्टरमा देखिएकी नायिका नम्रता श्रेष्ठको डायलग सुन्दा उनी पनि केटाको लफडामा फसेर दिक्क भएकी भन्ने बुझिन्छ । “केटाहरुलाई लभ र कुकुरहरुलाई घिउ पच्दै पच्दैन” उनको यो डायलगले हिरो प्रति गहिरो विकर्षण देखाउँछ ।

ट्रेलर सार्वजनिक भएको बेलामा निर्माता टीमले एकै स्वरमा आधुनिक प्रेम कहानी भनेर प्रष्टयाउन खोजे पनि यो चलचित्र प्रेम कहानी भन्दा पनि आज भोलि वासना र उद्वेगले भौतारिएका युवा–युवतिको ‘मल्टी पार्टनर कल्चर’ देखाउन खोजिए जस्तो बुझिन्छ । अझ निर्माता मोदनाथ खनालले त आदर्श प्रेम कथाको संज्ञा दिदै प्रेम र जीवनलाई जोड्ने एउटा मौलिक चलचित्र भएको बताउन भ्याए । तर देखिएका दुवै नायिका भन्दा फरक अर्के केटीसँग वेड्सीन देखिनुले निर्माताको आदर्श प्रेमको व्याख्या आफैमा खण्डित भएको पाइन्छ ।

चलचित्रकी प्रस्तोता रोशनी के.सी. भन्छिन् “जति विछोड, रोदन एवं पीडा हुन्छ त्यति नै प्रेमले जीवनलाई बलियो अनि सफल बनाउँछ ।” “तर भाग्यमा लेखिएको मान्छेको नाम निधारमा हुन्छ नलेखिएको मनमा” नायिकाको यो अभिव्यक्तिले प्रेमभन्दा पनि भाग्यले पो मान्छेलाई सफल बनाउँछ भन्ने अर्थ पनि लाग्छ । मधु क्यारेक्टरमा देखिएकी नायिका निरिशा बस्नेत आफ्नो एउटा मुटु दुई तिर बाँडेर आफै अलपत्र भएको देखिन्छिन् । उनी दुई प्रेमी सँगको अफेयर्समा चुँडेको चङ्गा जस्तै कता पुगेर खस्ने हो, भन्ने वेवारिसे अवस्थाको शिकार बनेकी हुन् कि जस्तो लाग्छ । देवको सेरोफेरोमा घुमीरहेको चलचित्र एक्कासी मधुको डायलगबाट चिराग क्यारेक्टरमा रहेका शनि सिंहको अनपेक्षित इन्ट्री हुन्छ ।

यसले चलचित्रलाई झनै रहस्यमय बनाइदिन्छ । यस चलचित्रका कथा एवं पटकथा लेखक सामीप्यराज तिम्सिनाले भने झै आधुनिक प्रेम, युवा जिम्मेवारी एवं राष्ट्रिय भावनाले भरिएको कथा वस्तुलाई निर्देशक वसन्त अधिकारीले कत्तिको कलात्मक ढंगले पस्किएका छन् र कथा कुन क्लाइमेक्समा पुगेर टुङ्गिन्छ भन्ने कुरा चाहि चैत्र १ गते मात्र थाहा पाउन सकिने छ ।
 

ताजा खबर