रानीपोखरी बन्ने नै भयो, बन्यो अनुगमन निकाय 

२०७५ फाल्गुण १६ बिहीबार ०६:५०:०० मा प्रकाशित

काठमाडौँ, १६ फागुन । रानीपोखरीलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौँ महानगरपालिकाले तोकेका तीन जना जनप्रतिनिधि रहने जनाइएको छ । 

प्राधिकरणले तोकेका सम्बन्धित विषयका तीन जना विज्ञ प्रा डा प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की र काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार सदस्य छन् ।

प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख समितिको सदस्यसचिव हुनेछन् । समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ । 

पुनःनिर्माणका लागि सुझाव दिने, गुणस्तर हेर्ने, आवश्यक सहयोग पु¥याउने र काममा देखापरेका समस्याको समाधान गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई आवश्यकताअनुसार उपसमिति गठन गरी पुनःनिर्माणलाई अगाडि बढाउने अख्तियारी छ । समितिले पुनःनिर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन तथा नीतिगत व्यवस्थाका लागि प्राधिकरणलाई अनुरोध गर्न सक्नेछ । 

समितिको बुधबार पहिलो बैठक बस्यो । बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली विशेष आमन्त्रितका रुपमा सहभागी थिए। रानीपोखरीको तल्लो भाग एवं पर्खाल निर्माण गर्दा कालीमाटी, बालुवा र इँटाजस्ता परम्परागत निर्माण सामग्री प्रयोग गर्ने, उपभोक्ता समिति गठन गरी सिफारिश गर्न महानगरपालिकालाई पत्राचार गर्ने निर्णय भएको छ । 

रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण तथा सौन्दर्यीकरण व्यवसायीमार्फत गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । रासस

ताजा खबर