मेची किनारमा प्रदीप गिरिको प्रवचन

२०७५ फाल्गुण १५ बुधबार ०८:१७:०० मा प्रकाशित

भद्रपुर, १५ फागुन । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा ‘कला साहित्य उत्सव २०७५’ कार्यक्रमको तयारी भइरहेको छ । दुई वर्षको अन्तरालमा रिडर्स झापाले आयोजना गर्दै आएको उत्सवमा देशभरका साहित्यकारको जमघट रहने रिडर्सका उपाध्यक्ष दामोदर ढुङ्गेलले बताए। 

यही फागुन १८ गतेदेखि २० गतेसम्म हुने उत्सवमा विचारविमर्शदेखि विभिन्न साहित्यिक कार्यक्रमसम्म हुनेछन् । पहिलो दिन ‘साहित्यको दलन’ शीर्षकमा युग पाठक, जेबी विश्वकर्मा र सुधीर क्षेत्रीबीच विचारविमर्श हुने भएको छ । 

त्यस्तै, दोस्रो सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस हुने र सोही दिन ‘अभिव्यक्ति र बहिष्करण’, ‘भूराजनीतिक चिन्तन’ मा महेन्द्र पी लामादेखि अनुभव अजितसम्मले बहस गर्ने कार्यक्रम रहेको उपाध्यक्ष ढुङ्गेलले जानकारी दिए। 

दोस्रो दिन, पहिलो सत्र ‘काव्यमा विद्रोह शीर्षक’ मा अभय श्रेष्ठ, गुरुङ सुशान्त र अभयविक्रम केसीबीच छलफल हुनेछ । त्यस्तै, सोही दिन ‘लोक चित्रकला विमर्श’, ‘सांस्कृतिक राष्ट्रवाद’, ‘कविता वाचन’जस्ता शीर्षकका कार्यक्रम हुनेछन् । 

पाँचौँ सत्रमा ‘पर्यावरणको खबर’ शीर्षकमा श्रद्धा घले, नारायण वाग्ले र रमेश भुसालबीच बहस हुनेछ । अर्को, ‘दलालीको दलदल’ शीर्षकमा राम कार्की, विष्णु सापकोटा र अखिलेश उपाध्यायबीच बहस र अन्तिम सत्रमा ‘दक्षिणपन्थीको सांस्कृतिक जग’मा आहुतीको एकल वाचन हुनेछ । 

अन्तिम दिन, पहिलो सत्रमा ‘समृद्धि यात्राका सङ्कट’ शीर्षकमा विश्व पौडेल र खगेन्द्र प्रसाईंबीच बहस हुनेछ । त्यस्तै, सोही दिन, ‘समाचार, झुटा समाचार र खरीद समाचार’, ‘समाज विज्ञान र मानविकीको सङ्कट’ विषयमा बहस हुनेछ । पाँचौँ सत्र ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ शीर्षकमा खगेन्द्र सङ्ग्रौला र सिके लालबीच बहस हुनेछ । अर्को सत्रमा ‘पुरुषको मुक्ति कसरी’ शीर्षकमा प्रणीका कोयु, आहुती र सीमा आभासबीच बहस हुनेछ । अन्तिम दिनको अन्तिम सत्रमा ‘प्रेम र यौनः पहेली अनेक’ शीर्षकमा प्रदीप गिरीले प्रवचन दिनेछन् । रासस

ताजा खबर