नयाँ फिल्मको शुटिङ गर्दै जान्हवी कपूर

२०७५ फाल्गुण १४ मंगलबार ११:३७:०० मा प्रकाशित


एजेन्सी । बलिउडका चर्चित निर्देशक/निर्माता बोनी कपूर र पूर्व नायिका श्रीदेवीकी छोरी जान्हवी कपूरको नयाँ फिल्मको शुटिङ शुरु भएको छ ।

लखनउमा शुटिङ गर्न शुरु गरिएको उक्त फिल्म फाइटर पाइलट गुञ्जन सक्सेनाको बायोपिक रहेको बताइएको छ । यस फिल्मको लागि शुटिङ गर्न गाडीमा क्यामरासहित गुडेको तस्विर बाहिरिएसँगै भारतीय मिडियाहरुले फिल्मको काम शुरु भएको दाबी गरेका हुन् ।

जान्हवीले यस फिल्ममा भारतकै पहिलो लडाकु महिलाको उपाधि पाएकी गुञ्जन सक्सेनाको भुमिकामा देखिनेछिन् । सन् १९९९ मा कारगिल क्षेत्रमा भएको भारत–पाकिस्तानको युद्धको समयमा गुञ्जनले ज्यानकै जोखिम मोल्दै थुप्रै साथीहरुको ज्यान बचाएकी थिइन् । उक्त बहादुरी पूर्वक गरिएको कामका कारण उनलाई सूर्यवीर पुरस्कार मार्फत् सम्मान गरिसकिएको छ ।

जान्हवीले सन् २०१८ मा डेब्यू फिल्म ‘धडक’ मार्फत् बलिउडमा पाइला हालेकी हुन् । कपूर परिवारबाट यस क्षेत्रमा आएकी जान्हवीको कामलाई दर्शकले मन पराइरहेका छन् ।

यस फिल्म बाहेक जान्हवी हाल ‘तख्त’ फिल्मको लागि अनुबन्धित भइसकेकी छिन् । जान्हवीको करियरको सुरुवात हेर्दा उनले बलिउडमा आफ्नी आमा श्रीदेवीकै सफल पदचिन्ह पछ्याउने छाँट देखिएको विश्लेषण हुने गरेको छ ।

 

 

ताजा खबर