शंकास्पद रुपमा मृत्यु भएकी दिव्या भारती दुई वर्षमै ‘हिट’ थिइन्

२०७५ फाल्गुण १३ सोमबार १२:११:०० मा प्रकाशित


एजेन्सी । सुन्दरता र अब्बल कलाकारिताको कारण बलिउडमा छोटो समयमै स्थापित भएकी नायिका दिव्या भारतीको अचानक मृत्यु भएपनि हालसम्म त्यस घटनाको रहस्य खुल्न सकेको छैन । सन् १९९३ को अप्रिल ५ को दिन दिव्याको मृत्यु भएको थियो ।

पढाइमा खासै रुची नभएकी र औपचारिक शिक्षामा धेरै अघि नबढेकी दिव्याले बलिउड प्रवेशको छोटो समयमै दर्शकको मन मस्तिष्कमा स्थान बनाएकी थिइन् ।

उनको छोटो करियर भएपनि १४ वर्षको उमेरमा नै तेलुगु फिल्म ‘बोब्बली राजा’ बाट फिल्मी दुनियाँमा प्रवेश गरेकी थिइन् । सन् १९९२ मा बलिउडमा पहिलो फिल्म ‘विश्वात्मा’ मा कलाकारिता प्रस्तुत गरेकी उनले २ वर्षको अवधिमा करिब १२ वटा फिल्म खेलेकी छन् । त्यसमध्ये उनको ‘शोला और शबनम’, ‘दिलका क्या कसूर’, ‘दिल आशना है’ र ‘दीवाना’ जस्तो चलिचत्र खुबै चलेको थियो ।

हिन्दु परिवारमा जन्मेकी उनले निर्देशक तथा निर्माता शाजिद नाडियावालासँग विवाह पश्चात इश्लाम धर्ममा प्रवेश पनि गरेकी थिइन् ।

मृत्यु नै शंकास्पद

बलिउडमा प्रवेश पश्चात ठुलै सफलता पाइरहेकी दिव्या भारती विवाह पश्चात त्यति खुशी हुन नसकेको खबर बाहिरिएको थियो । उनको श्रीमान शाजिदको सम्बन्ध अन्डरवल्र्डसँग भएको कारण उनि खुशी हुन सकेकी थिइनन् भने उनको सासूसँग पनि उनि खासै मिल्न नसकेको कारण उनलाई समस्या रहेको बताइएको थियो ।

उनको मृत्यु भएको दिननै उनले नयाँ फ्ल्याट लिएको बताइएको छ । दिनभर शुटिङमा व्यस्त रहेकी दिव्या राती १० बजे घरमा पुगेकी थिइन् । उनलाई भेट्नको लागि उनको डिजाइनर साथी नीता लुल्ला आफ्ना श्रीमानसँग त्यहि आइपुगेका थिए ।

दिव्याको घरको लिभिङ रुममा कुनै बाल्कोनी थिएन र त्यस कोठामा ग्रिल नभएको एउटा झ्याल थियो । सोही झ्यालबाट पाँच तलामाथीबाट अकस्मात खसेकी दिव्यालाई तत्कालै हस्पीटल लगिएपनि उनि बाँच्न सकिनन् ।

यसरी ‘दुर्घटना’ मा मृत्यु भएकी चर्चित नायिकाको विषयमा खुबै अनुसन्धान भयो । अनुसन्धानको क्रममा प्रहरीले पत्ता लगाए अनुसार दिव्या लडेको स्थानमा गाडीहरु पार्किङ गर्ने गरिएको भएपनि त्यसदिन त्यहाँ कुनै गाडी नै थिएन ।

धेरैले दिव्याको उक्त मृत्युलाई हत्या नै भनेका थिए भने केहिले आत्महत्या हुनसक्ने अडकल काटेका थिए । प्रहरीले हत्याको अनुसन्धानबाट केहि पत्ता लगाउन नसकेपनि सन् १९९८ मा केश नै बन्द गरेको थियो ।

केहि समर्थकहरुले भने आत्महत्या गर्ने मनसाय भएकी नायिकाले किन नयाँ फ्ल्याट खरिद गर्थिन् भन्दै प्रश्न तेर्साउँदै यो हत्या नै भएको दाबी पनि गरेका थिए ।
 

 

 

ताजा खबर