हिमालय एयरलायन्सले २० करोडमा १ करोड तिर्यो,अरु वक्यौता अनिश्चित

२०७५ फाल्गुण १२ आइतबार १३:५१:०० मा प्रकाशित

काठमाडौं, १२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २० करोड बक्यौता तिर्नुपर्ने हिमालय एयरलायन्सले १ करोड मात्र बुझाएको छ । 
लामो समयदेखिको बक्यौता बाँकी रहि २० करोड नै पुगेकोमा हिमालयले बक्यौता तिर्न यसअघि एक महिनाको अवधि माग गरेको थियो । विमानस्थलले हिमालयको जहाज उडान नै रोक्ने बताएपछि हिमालयले उक्त अवधि मागेको थियो ।

फागुन १२ गते उक्त अवधि पुरा हुने भएपनि हिमालयले चेकमार्फत् फागुन ८ गते विमानस्थललाई १ करोड बुझाएको थाहा भएको छ । बाँकि बक्यौताको लागि भने हिमालयले आफ्नो जहाज ओमानको बजेट एयरलायन्स सलाम एयरलाई छोटो अवधिको लागि भाडामा लगाउने र त्यसबाट आएको कमाइले तिर्ने भनेको थाहा भएको छ । 

तीनवटा जहाजबाट उडान शुरु गरेको हिमालय एयरलायन्सले पछिल्लो समय आर्थिक संकटमा परि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क लगायतको बक्यौता तिर्न आनकानी गरिरहेको बुझिएको छ ।

नेपालको यति वल्र्ड इन्भेष्टमेन्ट र चीनको तिब्बत एयरलायन्सको संयुक्त लगानीमा शुरु गरिएको यस एयरलायन्सले जहाजको पूर्ण उपयोग गर्न नसकेपछि अतिरिक्त आम्दानीको गर्दै बक्यौता तिर्ने जानकारी गराएपछि विमानस्थलले उडान नरोक्ने सहमति गरेको श्रोतले जानकारी दिएको छ । 
हिमालयले यसअघि श्रीलंकाको कोलम्बो र म्यानमारको याङगुनमा उडान भर्ने गरेको भएपनि यात्रु कम भएको भन्दै उक्त क्षेत्रको उडान रद्द गरेको थियो । सोचे अनुरुपको गन्तव्य पाउन नसकेको र चालेको गन्त्व्य नपाएको कारण उक्त एयरलायन्सले अपेक्षाकृत मुनाफा गर्न नसकेको स्रोतले बताएको छ । हिमालयसँग हाल ए३२० सिरिजको तीन वटा न्यारोबडी जहाज छन् । 

पछिल्लो समय यसले कतारको दोहा, मलेसियाको क्वालालुम्पुर, चीनको चोङकीङ, युएईको दुबई र साउदी अरबको दम्माममा उडान भरिरहेको छ । यी गन्तव्यमध्ये दोहामा मात्र हिमालयको दैनिक उडान छ । 

लामो समयदेखि भारतको राजधानी नयाँदिल्ली उडानको लागि हिमालयले गरेको प्रयास असफल भइसकेको छ । त्यस्तै चीनको ग्वाङझाउमा उडान भर्न गरेको प्रयास पनि असफल भएसँगै हिमालयले सुरुमै ताकेको आकर्षक गन्तव्यको अभावमा जहाजहरुको पूर्ण क्षमतालाई प्रयोग गर्न सकिरहेको छैन । 

समाचार सूत्रका अनुसार हिमालय एयरलायन्सका नेपाली मालिकको सिधा सम्पर्क प्रधानमन्त्री कार्यालयमै हुने गरेको हुनाले सोही ‘शक्ती’ को आडमा विमानस्थलको बक्यौता फुर्सदले तिर्ने चाँजो मिलाएका हुन् । विमानस्थलले पनि पुरै बक्यौता समयभित्रै नतिरे उडान नै रोक्ने धम्की दिएको भएपनि एक करोड तिरेपछि फरक व्यवहार देखाएको छ । विमानस्थलले हिमालयलाई नेपाली एयरलायन्स भएको र जहाज भाडामा लगाएर बक्यौता तिर्ने भनेको भन्दै बिस्तारै तिर्ने छुट दिएको बताइएको   छ । 

ताजा खबर