१६ वर्षको उमेरमै खराब लत भएकी पुजा भट्ट यसरी सुध्रिइन्

२०७५ फाल्गुण १२ आइतबार १२:३३:०० मा प्रकाशित


एजेन्सी । ९० को दशकमा राम्री नायिकामा दरिएकी पुजा भट्टले आज अर्थात् आइतबार ४७ औं जन्मदीन मनाउँदै छिन् ।

उनी फिल्ममेकर महेश भट्ट र किरण भट्टकी जेठी छोरी हुन् । हिरोइनको रुपमा ‘दिल हे कि मानता नहिं’ र ‘सडक’ जस्तो सफल चलचित्रमा काम गरिसकेकी पुजा पछिल्लो समय फिल्म निर्देशनमा केन्द्रित छिन् ।

सेलिब्रेटी परिवारमा जन्मेकी पुजाको करियरमा धेरै उतारचढाव आएको उनले बताएकी छिन् । सन् १९९० मा उनले १६ वर्षको उमेरमा पिताले निर्माण गरेको फिल्म ‘ड्याडी’ मा काम गरेकी थिइन् । उक्त फिल्मको सफलता पश्चात उनलाई त्यस वर्षको ‘फिल्मफेयर न्यू फेस अफ द एयर’ अवार्डले सम्मानित गरिएको थियो ।

त्यसपछि उनले ‘दिल हे कि मानता नहिं’ ‘बोर्डर’, ‘चाहत’ र ‘सडक’ जस्ता थुप्रै फिल्ममा काम गरिन् । त्यस समयकी चल्तीकी नायिका पुजाले पछिल्लो समय आफ्नो पुराना तथ्यहरु खोलेकी छिन् । वयस्क उमेरमा आफुले गरेको गल्तीको लामो फेहरिस्त लगाएकी उनले त्यसबाट मुक्त हुनसकेको कारणको पनि खुलासा गरेकी छिन् ।

उनको भनाइअनुसार उनलाई १६ वर्षको उमेरमै रक्सी खाने बानी लागेको थियो । २३ वर्षको उमेरमा चुरोट पनि खान थालेकी उनले घरमा बियर र वाइन जतिबेला पनि उपलब्ध हुने गरेको बताएकी छिन् ।

उनको नशा गर्ने बानीले दिक्क भएका पिता महेश भट्टले एकदिन फोन गरेपछि उनलाई आफ्नो खराब लत छोड्न प्रेरणा पाएको बताइन् । पिता महेशले फोनमा कुरा गर्दै भने, ‘मलाई पिताको रुपमा माया गर्छौ भने पहिला आफुलाई माया गर । किनकी म तिमी भित्रै छु । ’

पितासँगको त्यस कुराकानीपछि आफ्नो लतले पिताको मन दुखाएको महसुस भएको उनले बताइन् । त्यस दिनदेखि उनले आफ्नो खराब लत छोड्न प्रयास थालेको र अन्ततः सफल भएको बताइन् ।

उनले त्यसपघि खराब लत छुटाउन सकेको सफल कथाको बारेमा किताब नै लेख्ने पनि सोचेको बताएकी छिन् ।

 

 

ताजा खबर