‘पहिले मुन्टो बटारेर हिँड्थे,अहिले शीर झुकाएर आउँछन खोज्दैखोज्दै’

२०७५ फाल्गुण ११ शनिबार ११:५९:०० मा प्रकाशित

तुलसीपुर । 'कुनैबेला यतातिर देखिएला कि भने झैं गरी अर्कैतिर मुन्टो बटारेर हिँड्थे,अहिले भने शीर झकाएर आउँछन् अनुनयविनय गर्दै', यहाँको एक सामुदायिक विद्यालयका पदाधिकारीले स्थानीय अभिभावकको स्वभाव विश्लेषण गर्दै सुनाएका हुन् यी भनाई । 

पहिले अपहेलित झैं भएका सामुदायिक विद्यालयमा यतिबेला भने विद्यार्थीको भर्ना गर्न ल्याउने अभिभावकको चाप बढ्दो छ । तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको हो । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छन् । 

कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपरेको थियो तर अहिले विद्यार्थीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । पछिल्लो समयमा सामुदायिक विद्यालयमा पनि शैक्षिक गुणस्तर वृद्धि तथा कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । विद्यालयले उत्कृष्ट नतिजासमेत ल्याउन थालेको छ । विसं २०११ मा स्थापना भएको सो विद्यालयमा हाल निजी विद्यालयका विद्यार्थीसमेत पढ्न आउने गरेका छन् । 

एक दशकअघि कक्षा १ मा २५ देखि ३० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म एक हजार ५१८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ६ देखि ९ सम्म तीन श्रेणीमा विभाजन गरी पढाउनुपर्ने अवस्था छ । त्यस्तै नर्सरीमा २८ तथा कक्षा १ मा ६३ विद्यार्थी अध्ययनरत   छन् । अङ्गे्रजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले सुनाए। वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्न थालेको उनको भनाइ छ । विद्यालयमा न्यून दृष्टियुक्त विद्यार्थीले समेत अध्यनन गर्ने गरेका छन् । “पहिले विद्यार्थी खोज्नुपर्ने थियो अहिले रोज्नुपर्ने अवस्था छ”, विद्यालयका शिक्षक लेवेन्द्र केसीले सुनाए। 

उपमहानगरपालिकाका– ३, ४, ५, ६ र ७ का विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्का बताउँछन् । आव २०७४/७५ मा जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको छनोटमा परी जिल्ला शिक्षा कार्यालयबाट १० लाख पुरस्कारसमेत पाएको छ । त्यस्तै गत वर्षदेखि नमूना विद्यालयका लागि छनोट भई एक करोड रकमसमेत भौतिक निर्माणका लागि पाएको छ । राससका अनुसार, यस आवदेखि विद्यालयले प्राविधिक शिक्षा बाली विज्ञान तीन वर्षे डिप्लोमा पढाइ सञ्चालन गरेको छ । 

ताजा खबर