‘लुट्न सके लुट् कान्छा...’ मन नपराउने ‘जनता’ 

२०७५ फाल्गुण १० शुक्रबार १६:२१:०० मा प्रकाशित

काठमाडौं । गायक पशुपति शर्माले ‘लुट्न सके लुट् कान्छा, लुट्न सके लुट...’ बोलको गीत गाए । दुई दिनमै खुब हिट भयो तर सत्तारुढ नेकपाको जुझारु संगठन युवा संघ नेपाललाई मन परेन । संघका नेताहरूले गीतका शब्द, भाव, दृश्य इत्यादि सबै केलाए । उनीहरूले गीतले राष्ट्रपतिको, प्रधानमन्त्रीको, नेकपा कार्यकर्ता आफूहरूको र सिंगै मुलुकको अपमान गरेको निष्कर्ष निकाले । अनि करियर सिध्याइदिने धम्की दिएर पशुपति शर्मालाई नै फोन पनि गरे । फोन अरूलाई गरेर भएन । यति गरेपछि गायकलाई लाग्यो होला एउटा पक्षले गीत मन पराएन, करियर नै रहेन भने के गर्नु, युट्युब च्यानलबाट हटाइदिऊँ । उनले हटाइदिए । सरकारकै पक्षलाई मन नपरेपछि के गर्नु ? अरूलाई मन परेर भएन !

उनले हटाएर के भयो र ? गीत हटाइएको भने पनि सुन्न/हेर्न खाँचो भए पो । झन् फैलियो । गीतका शब्द उही रहे, दृश्यहरू फेरिए । प्रविधिको जमाना जो छ । गायकका पक्षमा अर्को युवा जमात उर्लियो । उस्तै भावका गीतहरूले सामाजिक सञ्जाल भरिए । युवा संघलाई पो मन परेन त । अरूलाई मन पर्यो । मान्छेहरूलाई मन पर्यो । धेरै नेपालीलाई मन पर्यो। उनीहरूले पशुपति शर्माले समयको बोली बोलेको निष्कर्ष निकाले । अरू लेख लेख्थे । भाषण गर्थे । उनले गीत बनाएर गाइदिए । 

धेरै नेपालीलाई ‘लुट्न सके लुट् कान्छा, लुट्न सके लुट...’ मन पर्यो । साँच्चै मन पर्यो । किन मन पर्यो कुन्नि । मन पराउनेहरू नै जानून् । 
यता ‘जनता’ लाई चाहिँ मन परेन । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनता’ लाई गीत मन नपरेको घोषणा गरिदिए । सुदूरपश्चिम प्रदेशसभामा उनले भनिदिए–‘सरकारले गीतबारे केही बोलेको छैन, जनताले मन नपराएर विरोध गरेपछि गायक आफैँले हटाएका हुन् ।’ 

प्रधानमन्त्रीले नै जनताले मन पराएनन् भनेपछि मान्नै पर्ने भयो । उनी जनताबाट भारी मतले निर्वाचित नेता हुन् । जनताले सबैभन्दा धेरै विश्वास गरेका प्रतिनिधि हुन् उनी । दुई तिहाई बहुमतले सुसज्जित प्रधानमन्त्री परे उनी । उनले नै जनताले मन पराएनन् भनेपछि अरू नेपालीले मात्रै मन पराएर भएन ! 

सरकारको कुनै पनि निकायले ‘लुट्न सके लुट् कान्छा, लुट्न सके लुट...’ गीतमा प्रतिबन्ध लगाएको सूचना जारी गरेको छैन । मन्त्रिपरिषदले निर्णय गरेको भए बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता मन्त्रीले भनिहाल्ने थिए । उनले केही पनि भनेन् । गीत सरकारले प्रतिबन्ध गरेको होइन । त्यसो भए कसले पर्यो त ?

अनौठो यहींनेर भएको छ । यो अनौठोमात्रै छैन खतरनाक पनि छ । सरकारले उक्त गीत पशारण हुन अयोग्य ठानेर प्रतिबन्धित गर्ने निर्णय गरेको भए हुन्थ्यो बरु । सरकारले यसो गरेन । किन गरेन त ? युवा संघ छँदैछ भने सरकारले निर्णय गरिरहने दुःख किन गर्नु ? संगठनले गरिहाल्छ । यस्तै काम लाग्छ भनेर बनाएका संगठन त हुन् नि । 

कति सजिलो । शासकलाई व्यंग्य र कटाक्ष गरेको सृजना ‘जनता’ ले मन पराउँदैनन् । अनि सर्जक आफैँ त्यो हटाउन बाध्य हुन्छन् । ‘लुट्न सके लुट् कान्छा, लुट्न सके लुट...’  मन नपराउने जति ‘जनता’ र मन पराउनेजति जनताबाहिर । व्यंग्य पनि मर्ने लठ्ठी पनि नभाँचिने । ‘जनता’ भनिदिएपछि जिम्मेवारी पूरा ! को जनता, के जनता, को को जनता, को जनताबाहिर केही भन्नु नपर्ने । आउने दिनमा पनि यस्तै हुँदै जाने त होला नि ?

ताजा खबर