यसकारण लक्ष्मीसँगै गणेशको पनि पूजा हुन्छ...

२०७५ फाल्गुण १० शुक्रबार १२:३४:०० मा प्रकाशित


एजेन्सी । हिन्दु धर्मले शिवजी र पार्वतीका पुत्र गणेशलाई प्रथम पुज्य भगवान मानेको छ । शुभकार्य गर्दा गणेशको पूजा बिना उक्त कार्य सम्पन्न नहुने मान्यता रहिआएको छ । उनको पूजा गरि शुभकार्य गरेमा कुनै किसिमको विघ्न नपर्ने भएकाले पनि गणेश भगवानलाई विघ्नहर्ता पनि भन्ने गरिएको छ ।

हरेक पुजामा गणेशलाई दियो र कलशसँगै पूजा गरेपनि लक्ष्मी भगवानको आराधना तथा पूजा गर्दाको बखत गणेशको विशेष पूजा गर्नुपर्ने मान्यता रहिआएको छ । यसो हुनुको मुल कारण गणेश लक्ष्मी माताको पनि पुत्र भएकाले हो भन्ने पौराणिक कथाहरुमा उल्लेख गरिएको छ ।

वास्तवमा गणेश भगवान माता पार्वतीको शरिरबाट उत्पन्न भएको कुरा हिन्दु धर्माबलम्बीहरुमा व्याप्त छ । यस्तोमा लक्ष्मीको पनि पुत्र रहेको भन्ने भनाइ निम्नलिखित कथाबाट पुष्टी हुन्छ ।

गणेश भगवान यसरी भए लक्ष्मीका छोरा

परापूर्वकालमा लक्ष्मी मातालाई सम्पूर्ण लोकले पूजा गर्न थालेपछि धनकी देवीलाई घमण्ड चढ्न थालेछ । उनको अहंकार बढ्न थालेको भगवान विष्णुले चालपाइ गफ गर्ने क्रममा सम्पूर्ण लोकले मानेर पूजा गरेपनि लक्ष्मी माता पूर्ण हुन नसकेको बताएका थिए ।

यसरी पूर्ण हुन नसक्नुमा उनि आमा नहुनु प्रमुख कारण रहेको विष्णुले बताएपछि लक्ष्मी घोर चिन्तामा परेकी रहिछिन् । कुनै पनि महिला आमा नबनेसम्म पूर्ण नहुने कुरा थाहा पाएपछि लक्ष्मीले आफ्नो दुख पार्वतीलाई सुनाएकी रहिछिन् ।

पार्वतीले आफ्नी सखी लक्ष्मीको दुख थाहा पाइ आफ्नो पुत्र गणेशलाई लक्ष्मीको काखमा दिइछन् । यसरी पार्वतीको साथले उनले बाल गणेशलाई आफ्नो छोराको रुपमा पाइ खुशी भइ उनले छोरा गणेशलाई बरदान दिएकी रहिछिन् ।

उक्त बरदान अनुसार जसले पनि माता लक्ष्मीको पूजा गर्दछ, उसले गणेशको पनि पूजा गरेमा त्यस व्यक्तिलाई लक्ष्मीको सधैं कृपा हुनेछ । यसरी लोकले नै मानेकी देवीको यस वरदान पछि लक्ष्मी पूजनको प्रक्रियामा गणेश पूजन अपरिहार्य भएको पौराणिक कथाहरुमा उल्लेख गरिएको छ ।

 

 

ताजा खबर