विदेशमा नेपालको गुटगत राजनीतिको भूत

२०७५ फाल्गुण ९ बिहीबार १५:१७:०० मा प्रकाशित

नेपाल प्राकृतिक हिसाबले विश्वकै उत्कृष्ट देश हुँदाहुँदै पनि कुशासनका कारण नेपाल छोडेर विदेशिने नेपालीहरुको संख्या तीव्र रुपमा बढी रहेको छ । विश्वका हरेक देशहरुमा नेपालीहरु छरिएका छन् । अवसर एवं समृद्ध जीवनको खोजी गर्दै आफ्नो देश छोड्नेहरुले नेपालको संस्कृति एवं सभ्यता सँगै लगेका छन् । यसले नेपाली मौलिकता र संस्कृतिको विस्तार एवं सम्बद्र्धन गरेको छ । तर यो सँगै नेपालमा रहेका विसंगत विषय वस्तुहरु समेत सँगसँगै लैजाने र नेपालीहरु आपसमा विभाजित भई भाँडिने समस्या पनि बढीरहेको छ ।

नेपालका राजनीतिक दलहरुको विरासत बोकेर विदेशमा त्यही विषयमा विभाजित हुनु वास्तवमा दुर्भाग्यपूर्ण कुरा हो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी तथा अन्य दलहरुको भजन गाएर ती पार्टीहरुको भ्रातृ संगठन खोलेर नेपालीहरुका वीचमा विभाजन सृजना गर्नुले नेपाल बाहिर रहेका नेपालीहरुलाई कमजोर बनाएको छ । दलीय तथा जातीय संगठन खोलेर एकले अर्कालाई निषेध गर्ने, विद्वेष पैदा गर्ने, एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुका सट्टा खुट्टा तान्ने संस्कार विकसित भईरहेको छ । राजनीतिक संगठनहरु खोल्ने अनि नेपालका सम्बन्धित दलका नेतासँग नजिकिने, नेतालाई भ्रमण गराउने अनि नेतासँग नजिक छु भनेर आफ्नै साथीहरुलाई धाक–धक्कु लगाउने विद्रप परम्परा झाँङ्गिएको छ । यस्तो गलत परम्पराले विदेशमा रहेका नेपालीहरुलाई बलियो बनाएको छैन, झनै कमजोर बनाएको छ ।

एउटा दलका नेता विदेश जाँदा अर्को दलका कार्यकर्ताले कालो झण्डा देखाउने, नेता पनि आफ्नै भक्तिमा लाग्ने कार्यकर्ता मात्रै खोज्ने अनि राजनीतिक आस्थाको नामबाट मात्रै कार्यक्रमहरु आयोजना गर्ने प्रवृति व्यापक छ । यसको सट्टा आफ्नो देश छोडेर आएका नेपालीहरुबाट नेपालको समृद्धि एवं सामाजिक, सांस्कृतिक एवं अन्य विकासमा के कस्तो योगदान हुन सक्छ भन्ने विषयमा गम्भीर छलफल भएको आजसम्म भेटिएको छैन । छलफल नै भएपनि कर्मकाण्ड मात्रै पुरा गरेको पाइन्छ ।

दलीय राजनीतिले दलहरुका समर्थक वीचमा मात्रै झगडा गराएको छैन, एउटै दल भित्र नेता पिच्छेका गुट–उपगुटहरुको छुद्रसंग्राम देख्न सकिन्छ । एउटै देशमा एउटै दलका ३/४ वटासम्म समिति बनेको पनि पाइएको छ । अमेरिका, क्यानडा, वेलायत, वेल्जियम लगायतका देशहरुमा पटक पटक कांग्रेसको भ्रातृ संस्थाको नामबाट अशोभनीय झगडा भएको छ । वेल्जियम र अमेरिकामा त हात हालाहाल सम्मको अवस्था पैदा भएको थियो । आखिर यस्तो गम्भीर झगडा के को लागि त ? आजसम्म नेपाली दलहरुसँग सम्बन्धित संघ–संस्थाहरुले त्यही रहेका स्थानीय नेपाली र नेपालका लागि के योगदान गरेका छन् ?

घण्टा गनेर हात फुटाइ फुटाइ भाँडा माझेर, अन्य प्रकारका शारीरिक श्रम गरेर अथवा जुनसुकै काम गरेर भएपनि कमाएको २/४ पैसा नेपालका नेताहरुलाई उपहार किनेर दिनु या लेवी उठाएर पार्टीलाई चन्दा दिनु कतिसम्म उपयुक्त भन्ने कुरा पनि विचारणीय विषय बनेको छ । नेताहरु विदेशमा रहेका आफ्ना नेपालीहरुको अवस्था बुझन भन्दा पनि भ्रमण गर्ने, केही उपहार बटुल्ने र फर्कने नियतबाट नै निर्देशित भएको पाइन्छ । एउटै सानु शहर भित्र बस्ने नेपालीहरुको बीचमा दर्जनौं संघ–संस्थाहरु छन् । संस्था–संस्था वीचमा समन्वय छैन । यसले के देखाइरहेको छ भने नेपालीहरु मिलेर बस्न सक्दैनन् । 

राजनीतिले समाजलाई जोड्दैन । समाज जोड्ने काम संस्कृतिले गर्छ । संस्कृति जीवन–दर्शन पनि हो । जीवनको सौन्दर्य हो अनि सभ्यता पनि हो । राजनीतिले सभ्यतालाई संवोधन गर्न सक्दैन । राजनीति बाहिरी संसारको भौतिक विषय–वस्तुमा मात्रै केन्द्रित हुन्छ तर संस्कृतिले मानव चेतनाको आन्तरिक जगतलाई आलोकित गर्छ । राजनीति जीवन र जगतको पोखरीमा ढुङ्गा हानेर आफ्नो शक्ति आर्जन गर्ने डुङ्गा चलाउन चाहन्छ भने संस्कृतिले ढुङ्गाले अशान्त भएको तलाउलाई धर्म एवं अध्यात्मको माध्यमबाट शान्त बनाउन चाहन्छ । राजनीतिले समाजलाई फुटाएर, जुधाउने अनि शक्तिको बाग्डोर आफूले लिएर त्यही समाजमा शासन गर्ने अभिधेय राख्छ, तर संस्कृतिले फुटेको समाजलाई जोडेर दया, करुणा एवं सदाचरणको परिवेश तयार गरी चेतना एवं अध्यात्मबाट आफू शासित हुन चाहन्छ ।

त्यसैले विदेशमा गएर स्वार्थी राजनीतिको दलीय लफडामा फस्नुभन्दा सांस्कृतिक एकताको आनन्दमा डुबेर मानसिक एवं आत्मिक शान्ति प्राप्त गर्ने सरल एवं स्वच्छन्द बाटो तर्फ लाग्नुनै श्रेयस्कर हुने देखिन्छ । यदि नेपाली राजनीति गर्न नै मन छ र नेपालको समृद्धिका लागि राजनीतिबाट नै आफूलाई समर्पित गर्नुछ भने नेपाल छोड्नुको कुनै अर्थ छैन । नेपाली राजनीति नेपाल भित्र नै बसेर गर्नु उपयुक्त हुन्छ । नेपाली राजनीतिका अनैतिक विभेदकारी जडसूत्रवादी, स्वार्थी एवं संवेदनाहीन विरासत बोकेर विदेशिनुको कुनै अर्थ छैन । सुँगुरलाई स्वर्ग जान्छस् भनेर सोध्दा यदि स्वर्गमा यहाँ(धर्तीमा) मैले खाने गरेको कुरा खान पाउँछु भने जान्छु’ भने जस्तै कुरा हुन्छ । विकृति सँगै बोक्ने संस्कार त्यागेर संस्कृतिलाई आफ्नो जीवन पद्धति बनाउन सकियो भने हामी सुखी बन्नेछौं । 

ठूलो दृश्यमा हेर्दा विदेश जानेहरुको दुई प्रकारको अवस्था देखिन्छ । एकथरी केही वर्ष विदेश गएर कमाएर नेपाल फर्कने र त्यही पैसाले नेपालमा घर–घडेरी जोड्ने खेतबारी किन्ने अथवा कुनै व्यापार व्यवसायमा लगानी गरेर जीविकोपार्जन गर्ने उद्देश्य हुन्छ । अर्को थरी विश्वका अति विकसित देशहरुमा जाने र उतै स्थायी बसोबास गरी आफ्नो जीवन सजिलोसँग विताउने अभिधेयबाट विदेशिएका हुन्छन् । यसरी हेर्दा आवधिक पलायन र सँधैका लागि पलायन हुने दुई वर्ग देखिन्छ । यसको डरलाग्दो पक्ष के छ भने उच्च रुपमा दक्ष जनशक्ति स्थायी रुपमा नै पलायन भईरहेका छन् । नेपालको समृद्धिका लागि आफ्नो उच्च दक्षता प्रयोग गर्न सक्ने नागरिकहरु धमाधम स्थायी रुपमा अथवा नेपाल नफर्कने गरी पलायन भईरहेका छन् ।

ती नागरिकहरुलाई कसरी नेपाल फर्काउने भनेर नेपालका कुनै पनि राजनीतिक दलहरुसँग कुनै सोच छैन, योजना छैन । अनि पलायन भएकाहरुमा पनि हामी प्राकृतिक रुपमा स्वर्ग जस्तो आफ्नो मातृभूमि छोडेर विदेशिनु परेको छ भन्ने तथ्य खोजेर विश्लेषण गर्ने अभ्यास देखिँदैन । तिनै अयोग्य, धूर्त, भ्रष्ट, स्वार्थान्ध एवं नृशंश तथा कथित राजनीतिक नेतृत्वको अमानवीय व्यवहारले हामीलाई मातृभूमि, आफन्तजन र समस्त मित्रजनहरुबाट टाढा बनाएको कुरा विर्सनु हुँदैन र आफ्नो देश भित्र जतिसुकै प्रतिकूल अवस्था भएपनि आफूसँग नेपालमा बाँच्न सक्ने अथवा केही लगानी गर्न सक्ने अवस्था भएमा नेपालमै केही गर्नुपर्छ भन्ने चेतनालाई जागृत गराउनु नै पर्छ ।

राजनीति गर्ने धोको छ भने पनि नेपालमै फर्किएर राजनीति गरेको राम्रो हुन्छ । विदेशमा नेपाली दलको डोको बोकेर केही काम लाग्दैन यो त प्रत्युत्पादक हुन्छ । ४० डिग्री सेन्टिग्रेट तापक्रम हुने ठाउँमा स्याउ खेती गरेर काम लाग्दैन । जुन देशमा बसिन्छ त्यहीको राजनीति गर्नु राम्रो हो ।

ताजा खबर