केसीको आमरण अनशन आईतबार तोडिने सरकारको दाबी 

२०७४ श्रावण २८ शनिबार १७:३०:०० मा प्रकाशित

काठमाडौं, २८ साउन । आमरण अनशनरत् डा गोबिन्द केसीले उनका सबै माग पूरा भैसकेकाले आईतबार अनशन तोड्ने सरकारका एक बरिष्ठ सदस्यले दाबी गरेका छन् ।

बिभागीय मन्त्रीका हैसियतले शनिबार एक कार्यक्रममा बोल्दै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले ‘आजै नभए भोलिसम्ममा’ अनशन तोड्ने दाबी गरेका हुन् ।

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएपछि असन्तुष्ट देखिएका श्रेष्ठले अब झिनामसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गरेका छन् । उनले केसीसँग आग्रह गरे – नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बस्नुहुँदैन।

श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्दै अब केसीले अनशन तोड्ने विश्वास लिएका छन् । यसअघि केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि केसी अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताए । एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमा नै विधेयक संसदीय समितिबाट पारित गराउन नसकिएको श्रेष्ठको जिकिर छ । 
 

ताजा खबर