गिरिजाप्रसादका ड्राइभरले म यो बाहेक केही भन्दिन भनेपछि .....

के हो ‘प्रजातन्त्रका लागि अपहरण’ ?

यो डकुमेन्ट्री २०३० साल जेठ २८ गते विराटनगरवाट काठमाण्डौंका लागि उडेको तत्कालीन शाही नेपाल वायु सेवा निगमको ९ एन एवीवी बिमान अपहरणमा केन्द्रीत छ । पञ्चायती व्यवस्था विरुद्ध चलाइएको शसस्त्र क्रान्तिका लागि पैसाको खोजि गरिरहेका नेपाली कांग्रेसका क्रान्तिकारीहरु जुनसुकै मूल्य चुकाएर भए पनि प्रजातन्त्र ल्याउनु पर्छ भनेर लागि परेका थिए ।    त्यसैले बैंक लुट्ने र अरु उपायबाट रकम जुटाउन गरिएका सवै प्रयास सफल नभए पछि जहाज अपहरणको योजना वनाइयो । नेपाल राष्ट्र बैंकले हरेक साता शानेवानीको नियमित उडान मार्फत बिराटनगरबाट काठमाडौं पैसा पठाउँथ्यो । यो कुराको सुँईको पाएपछि अपहरणको योजना वनाइयो । २०३० साल जेठ २८ गते विहान विराटनगरवाट काठमाण्डौका लागि उडेको पाँच मिनेटमै कांग्रेसका युवाहरुले जहाज नियन्त्रणमा लिई भारत विहारको फारवेशगञ्जमा अवतरण गराए ।

३० लाख भारतीय रुपैयाँ कव्जामा लिएपछि बिमानलाई सकुशल फिर्ता गरियो । दक्षिण एसियामै पहिलो पटक भएका विमान अपहरण थियो त्यो ।  त्यो घटनाका योजनाकार, अपहरणकारी, चालक, यात्रु सहित सबै पात्रहरुकै मुखवाट त्यो घटनाका बारेमा जानकारी दिन सक्नु नै यो डकुमेन्ट्रीको मुख्य विशेषता रहको छ ।

प्रेरणा

मलाई जहिले पनि लाग्थ्यो, पत्रकारितामा लागे पछि चुनौतीसँग खेल्नु पर्छ । अरुले हात नहालेको विषयमा समाचार वनाउनु पर्छ । हामी पत्रकार जहिले पनि आफूले वनाएको सामग्री पाठक, श्रोता, दर्शकका लागि रुचिकर हुन्छ की हँुदैन भनेर सचेत रहन्छौ र रहनु पनि पर्छ ।

नेपाली राजनीतिका वयोवृद्ध नेता गिरिजाप्रसाद कोइराला २०६२–०६३ को जनआन्दोलन पछि मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । १० वर्ष लामो शसस्त्र विद्रोह गरेको माओवादीलाई शान्ति प्रकृयामा ल्याएका कोइराला प्रधानमन्त्री मात्र होइन राजा निलम्वनमा रहेकाले राष्ट्र प्रमुखको भूमिकामा समेत हुनुहुन्थ्यो ।

हत्तपत्त अन्तर्वार्ता नदिने स्वभावका कोइरालाको जीवनीमा आधारित मेरो कार्यक्रम ‘आफ्नो इतिहास आफ्नै वृत्तान्त’ कान्तिपुर टेलिभिजनमा हरेक सोमवार प्रशारण भैरहेको थियो । झण्डै छ महिना चलेको त्यो कार्यक्रमले नै पत्रकारितामा मलाई सर्वाधिक माइलेज दियो जस्तो लाग्छ ।

२०६४ सालमा लगातार छ महिना चलेको कार्यक्रम एकाएक वन्द भयो । गिरिजावावुले त्यसपछि त्यसलाई निरन्तरता दिनु भएन । मैले प्रशारण नभएर पनि रेकर्ड गरेर राख्न प्रयास गरेको थिएँ । त्यो प्रयास निरर्थक भयो ।

त्यसको कारण थियो क्रान्तिका क्रममा भएको विमान अपहरण र नक्कली नोट छापेको प्रसंग आएपछि हंगामा भयो । भारतीय छापा र विद्युतीय सञ्चार माध्ययमा उहाँलाई कारवाही गर्नुपर्ने र कतिले त जेल नै हाल्नु पर्ने समाचार छापे ।

अनी गिरिजावावुले अन्तर्वार्ता दिनु भएन । मेरो त्यो सो वन्द भयो । मेरो विस वर्र्षे पत्रकारिता जीवनमा त्यति माइलेज मैले कहिल्यै पाइन ।

मलाई याद छ । जहाँ गए पनि  नचिन्नेहरुसँग मेरो परिचय गराउँदा मनिसहरु भन्ने गर्थे । गिरिजावावुको अन्तर्वार्ता लिने एउटा केटा छ नी । हो त्यही केटा उहाँ नै हो ।

छक्क परें झैं गरेर मानिसहरु भन्थे टेलिभिजनमा त तपाई अर्कै देखिनुहुन्छ । ए त्यो सो त हजुरवाले नातीलाई कथा सुनाए जस्तो लाग्छ है भन्ने धेरै मानिस भेटेको छु ।

त्यो कार्यक्रम वन्द भयो । मलाई लाग्यो यो घटनाका वारेमा विस्तृत अनुसन्धान गर्छु । विस्तारै घटनासँग सम्वन्धित पात्रहरु खोज्दै गएँ । विराटनगर, फारवेशगञ्ज, दार्जिलिङमा सुटिङ भयो ।

धेरै नै काम भै सक्यो । त्यो जहाजको एउटै यात्रुका फेला पार्न सकिन । तै पनि हिम्मत हारिन । मेरा दाई मानवहादुर थापाले पनि साथ दिइनै रहनुभयो । कहिल्यै झण्झट मान्नु भएन । हुन्छ सर । गरौं न सर । प्रयास गर्दा नहुने के छ र भन्ने उहाँ ।

मेरो बानी नै छ आफैूले गर्न लागेको कामवारे जति सक्दो वढी प्रोफेशनलसँग शेयर गर्ने । त्यसवाट दुुई वटा फाइदा छ । एउटा मानिसलाई कतिको चासो हुन्छ आफूले उठाउन लागेको विषय वस्तुमा । अर्को उनीहरुले थाहा पाएको सूचना आफूले पाइन्छ । काम थाले पछि सयौं मानिससँग छलफल गरे हुँला । जे गर्दा पनि जहाजको यात्रु फेला पार्न सकिन । गुरु प्रा.पी. खरेलको सहयोगले एकै पटक चार यात्रु फेला पारें । तीमध्ये एक जना त म पहिलो पटक काठमाण्डौ आउँदा देखि माया गरेर शहर घुमाउने सञ्जीव अधिकारीकी आमा हुनुहँुदो रहेछ । अपहरणमा परेका नौ महिनाका वालक सञ्जीवदाई कै कान्छा भाई राजीव हुनुहुँदो रहेछ । आमा त त्यो घटना पछि ३० वर्षसम्म जहाज चढ्नु भएन  ।

विमानका एक मुख्य पाइलटको मृत्यु भैसकेको थियो । को पाइलट जसले अपहरणमा परे पछि कहिल्यै जहाज चलाउन पाएनन् । उनी भन्ने गर्थे म त पखेटा नभएको चरा जस्तै हुँ । अपहरणको ‘सक’का कारण लण्डनमा टाउकोमा मेजर अप्रेशन गर्नु प¥यो । साठी टाँका लागेको थियो उनको टाउकोमा । वातावरण प्रदुषणका कारण नेपालमा वस्न नमिले पछि उनी स्थायी रुपमै मलेसिया वसिरहेका थिए । क्याप्टेन बैद्य नेपाल आएको जानकारी दिदै अर्का गुरु प्रा. चिरञ्जीवी खनालले उहासँग अन्तर्वार्ताको समय समेत मिलाई दिनुभयो । सबै काम पुरा हुँदा चार वर्ष लाग्यो ।

डकुमेन्ट्री सो गर्दा गिरिजावावु र  पाइलटको मृत्यु भैसकेको थियो । चक्र वाँस्तोला पनि होसमा हुनुहुन्नथ्यो ।

एक महिना अघि तीनै जना अपहरणकारी, तीन जना यात्रु, चालककी श्रीमती र छोरा, कुसुम भाउजु (चक्रकी श्रीमती) सबैलाई एकै ठाउँमा राखेर सो गरिएको थियो । चालक श्रीदेव वैद्यकी पत्नी पद्मीनीले भन्नुभयो–क्याप्टेन बैद्यले मलाई दिएको अन्तर्वार्ता नै भिडियो क्यामेरामा वोलेको पहिलो र अन्तिम हो ।

हाईज्याकरहरुसँग पटक पटक गरी लामो अन्तर्वार्ता लिए  । राष्ट्र बैंकवाट कुन दिन कति पैसा काठमाण्डौ जाँदैछ भन्ने सूचना दिन कर्मचारी मदन अर्याल, त्यो दिन पैसा वोकेको गाडी चलाउने ड्राइभर सबैसँग कुरा भयो ।

जहाज उतारिएको फारवेशगञ्जमा म र मानवहादुर थापा गएका थियौं । अपहरणको दिन गिरिजावावुको मोटर चलाएका चालक भारतीय नागरिक गणेशलाल शर्मालाई भेट्न । शर्माले भने – ‘म यो भन्दा वढी केही पनि भन्न सक्दिन । गिरिजावावुले मलाई भन्नु भएको छ । गणेश कतिपय कुरा यस्ता छन् मरे पछि साथमै लिएर जानु कसैलाई नभन्नु । मैले उहाँलाई नेता र गुरु मानेको छु ती कुरा म तपाईले जति सोधे पनि भन्दिन ।’ कति विश्वासिला मानिसलाई काममा लगाइएको रहेछ । कसरी सेक्रेसी मेन्टेन गरिएको रहेछ भनेर म छक्क परें ।

अनी मलाई त्यो वार्तालापको याद आयो । शुरुमा डकुमेन्ट्री वारे कुरा गर्दा त्यो घटनाका एक सदस्य पूर्व मन्त्री चक्र बास्तोलासँग सल्लाह गर्दा उहाँले भन्नु भएको थियो –‘ तिमी यो लफडामा नलाग, कोही वोल्न मान्दैनन् । अरु अरु काम ग¥यो भने सकिएला यो त सम्भव देख्दिन त म ।’ त्यस पछि म उहाँको अन्तर्वार्ता वाहेक सबै काम पुरा गरेर मात्र भेट्न गएँ । ल्यापटपमा गरेको काम देखाए । पुरै एक घण्टा हेर्नुभयो । हलचल नगरी, नवोली । चक्र दाईले त्यो दिन यति मात्र भन्नुभयो –‘मेरालाई तिमीले छुट्टाएको अंश वुझें । ल क्यामेरा खोल’ भनेर वोली दिनुभयो ।

प्रजातन्त्र वहालीका लागि विमान अपहरण जस्तो दुस्साहसिक कदम चाल्ने अपहरणकारीलाई आफ्नो वाहेक अरुको भूमिका के थियो भन्ने कुरा हाम्रो डकुमेन्ट्री हेरे पछि मात्र छर्लङ भयो होला भन्ने मलाई लाग्छ । एउटा स्पेशल सो मा हामीले तीनैै हाईज्याकर, पाइलट, चक्र दाई र क्याप्टेन यज्ञबहादुर थापाको परिवारलाई सिनेमा हलमा निम्त्याएका थियौं । मैले त्यहीं भनेको थिएँ सायद २०४८ पछि अपहरण टिमका तीनै सदस्य एउटै मञ्चमा यसरी सहभागी भएको यो पहिलो पटक होला । दुर्गा सुवेदीले तत्काल भन्नु भयो– हो त ।

उदेश्य

प्रजातान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घटना हो र त्यो घटनाका पात्रहरु जीवीत हुदै इतिहासको रक्षा गर्नु पर्छ भनेर हामीले यो काममा हात हालेका हौ ।

अर्को कुरा राजनीतिक विषय वस्तुमा मलाई रुचि भएका कारण पनि यो प्रोजेक्टले मुर्त रुप पाएको हो । यो काम पुरा हुँदा क्यामेरा, मोटर र एडिटिङ सबै काम गर्ने दाई मानवहादुर थापा र हर काममा झिजो नमानी सहयोग गर्ने मित्र चन्द्र अधिकारीलाई सम्झन्छु ।

लगानीको हिसाबमा पनि कसैसँग सहयोग लिएका छैनौं । सामान्य टिकट र यात्राका लागि केही शुभचिन्तकहरुको हसयोग छ । जस्तो अपहरणमा परेका क्याप्टेनकै छोरा सञ्जय बैद्य आफ्ना वावु अपहरणमा परेको विमान उडान रुचाउँथे, म त्यो जहाजको टिकट काटेर मानवहादुर दाईलाई चढाई दिन्थे । क्याप्टेन सञ्जय वैद्यले कथा वस्तु अनुसार जहाज उडाई दिनुभयो र मानबहादुरलाई एक दुई पटक वस्ने र खाने व्यवस्था आफूसँगै गरिदिनु भयो ।   व्यक्तिगत रुपमा मलाई के लाग्छ भने यस्तो काममा निस्वार्थ कसैले गरेको सहयोग लिन आपत्ति हँुदैन । तर मेरो अनुभवले के भन्छ भने हाम्रो जस्तो देशमा यस्तो राजनीतिक विषय वस्तुको अनुसन्धानका लागि कसैको सहयोग लियो भने सम्पादकीय स्वतन्त्रता नरहने खतरा हुन्छ ।

डकुमेन्ट्री हरे पछि कांग्रेस युवा नेता गगन थापाले ट्वीट गर्नु भएको छ – जगत नेपालको हाइज्याकिङ फर डेमेक्रेसी हेर्दा हामीले उपभोग गरिरहेको स्वतन्त्रताका लागि अग्रजहरुले चुकाएको मूल्य थाहा पाइन्छ । ती योद्धालाई सलाम ।

अनुभव

केही दिन अघि मात्र बीपी पुत्र श्रीहर्ष कोइरालाले भन्नुभयो – म त्यो वेला बम्बईमा पढ्दै थिएँ । विदामा केही दिनका लागि आएकाले घरमा वसौं भन्ने लागेको थियो । प्रकाश दाई भन्न थाल्नुभयो, तँ आज अहिले नै दार्जिलिङ गैहाल । त्यहाँ शसांकको स्कूलको फि नतिरेकाले होष्टेलवाट निकाल्ने वेला भैसक्यो । मलाई तुरुन्त जा भन्नु हुन्छ । अर्को तर्फ शेखर मेडिकल साइन्सको स्कलरसिपमा एप्लाई गर्न काठमाण्डौ जाँदै थिए । जहाजको टिकट लिइसकेको छ । अव प्रकाश दा उसलाई नजा भन्नुहुन्छ । शेखर र म सँगै वसेर छलफल गर्न थाल्यांै । प्रकाश दाको दिमाग खुस्किसक्यो ।

तर एकदमै प्रेसर गरे पछि म दार्जिलिङ गएँ । शसांकलाई पैसा दिएँ । उ त एकदमै खुसी भयो । वावाले अस्ति भर्खर पैसा दिनु भएको थियो । तपाईले पनि ल्याई दिए पछि त मस्ति हुने भयो । दार्जिलिङ पुगे पछि पो हाइज्याकिङको खवर पाएँ । त्यो तहको सेक्रेसी कायम गरिएको थियो ।

शेखरको पनि अन्तिम क्षणमा टिकट क्यान्सिल गरियो । नत्र उनी पनि अपहरणमा पर्ने ।

अर्को तर्फ विराटनगरका बिनोद अर्याललाई गिरिजाप्रसादले जहाज उतारे पछि सुरक्षित स्थानमा पैसा लैजाने मिसन कमाण्डर वनाएका थिए । त्यो टोलीका एक जना सदस्य सुशील कोइराला कांग्रेसको सभापति र प्रधानमन्त्री भए । मदनकै भाई मदन अर्यालले राष्ट्र बैंकबाट कुन मितिमा कति पैसा जान्छ भन्ने सूचना दिएका थिए । साक्खै दुई भाई रहेका विनोद र मदनलाई एक अर्काले मिसनमा सहयोग गरेको जानकारी थिएन ।

अपहरण गरी जहाज उतारेको ठाउ फासवेशगञ्ज जानका लागि मानवहादुर थापा र म विराटनगर गयौ । अमृत अर्याल दाईले हामीलाई सहयोग गर्नका लागि भाञ्जा सरोज धिताललाई फारवेशगञ्ज पठाई दिनुभयो ।

अपहरणको दिन गिरिजावावुको मोटर चलाएका भारतीय नागरिक गणेशलाल शर्मालाई भेट्न उनको घरमा गयौ । शुरुमा त उनी वोल्न मानेनन् । तपाईहरु को हो के हो म केही वोल्दिन भने । तर जव सरोज धितालले विराटनगरमा मामा विनोद अर्यालसँग फोनमा कुरा गराएँ अनी मात्र उनी हामीसँग कुरा गर्न तयार भए ।

पत्रकार, प्रध्यापक, निर्माता/निर्देशक

म यस क्षेत्रमा पत्रकारिता पढेर आएको हुँ । मैले काम गर्दा पत्रकारिता पनि पढ्ने हो, त्यसै कलेजतिर हल्लेर हुन्छ र, पत्रकारिता त गरे भइहाल्छ नी भन्ने गरिन्थ्यो । यो बीस वर्षको बिच पत्रकारिताकै क्षेत्रमा आमूल परिवर्तन देखिरहेको छु । कुनै पनि मिडिया हाउसले आज एउटा रिपोर्टर माग्नु पर्दा न्युनतम योग्यता पत्रकारितामा बिए पास भन्छ । यो परिवर्तन हो । गाउँको मान्छे काठमाण्डौ आएको मान्छे । पत्रकारिता पढें । संयोगले एमएमा हाम्रो व्याच नै पहिलो थियो । अर्को संयोग त्यो व्याजको टपर पनि हुने अवसर पाए । पास गर्ने वित्तिकै पढाउन पाएँ । पढाउने र गर्ने दुवै पत्रकारिता भएकाले मलाई सहयोग पुगेको छ ।

पत्रकारिताको अवस्था

नेपालको पत्रकारिता पहिलेको भन्दा धेरै राम्रो र व्यवसायिक भएको छ । विश्वविद्यालयवाट पढेर आएका युवाहरुको प्रवेशले विकृतिहरु तुलनात्मक रुपमा कम भएका छन् । तर पत्रकारितालाई आड वनाएर अरु धन्दा गर्नेहरुवाट यो व्यवसाय सवै भन्दा वढी वदनाम भएको छ भन्ने लाग्छ ।

अर्को कुरा पत्रकारलाई काम लाउने तलव नदिने, तालिम नदिने प्रवृत्तिले पनि यसलाई विकृत वनाइरहेको छ ।

अहिलेको चुनौती के हो भन्दा पत्रकारिता भित्र भएका गैरपत्रकारहरुको शुद्धिकरण । अव प्रसंग पत्रकार महासंघको चुनाव आइरहको छ । म छ वर्ष सदस्य र सचिवको रुपमा महासंघमा वसें । अघिल्लो चुनावमा महासचिव हारें । यो अनुभवको आधारमा भन्छु महासंघमा गैरपत्रकार दिनप्रतिदिन हावी हुँदै गएको अवस्था छ । चरम राजनीतिकरण छ । यो दिनानुदिन वढ्दै छ । यही अवस्था कायम रहेमा अव चाहीँ खराबले असललाई बिस्थापित गर्ने खतरा छ । महासंघमा सबै भन्दा वढी छलफल, वहस र झगडा कसरी गैर पत्रकारलाई सदस्यता दिने भन्नेमा हुने गर्छ भने व्यवसायिक पत्रकारलाई पाखा लगाउने विषयमा सबैको सहमति हुने गरेको छ । खास गरी दलको भातृसंगठनका रुपमा रहेका संस्थाहरुको व्यवहार यस्तो छ ।

महासंघको चुनाव

मैले धेरै अघि सार्वजनिक रुपमा भनिसकेको छु म यसपटक महासंघमा उठ्दिन भनेर । महासंघमा छ वर्ष बस्दा व्यक्तिगत रुपमा मलाई धेरैले चिने । दुनियाँलाई मैले चिन्ने अवसर पाएँ । मेरो मान्छेहरुसँग सम्बन्ध राम्रो बन्यो । तर अहिलको संरचनामा जो कोहीले जिते पनि श्रमजीवी पत्रकारका पक्षमा काम गर्न कठिन छ ।

  महासंघको लिडरसिपमा केही इमान्दार र व्यवसायिक पत्रकारलाई जिताउने पक्षमा लविङ गर्नेछु । दोस्रो कुरा म छ वर्ष महासंघमा बस्दा मैले देखे सबैभन्दा ठुलो विवाद चाहि पत्रकारको क्षमता बृद्धि, न्युनतम पारिश्रमिक यी सब देखाउने दाँत मात्र हो । गैर पत्रकारलाई कसरी सदस्यता कसरी दिने सबैभन्दा ठुलो विवाद त्यसैमा हुन्छ ।   

दलिय आधारमा खुलेका पत्रकारका संस्थाको सिण्डिकेट कायम रहँदासम्म महासंघले स्वतन्त्र चरित्र धारण गर्न सम्भव छैन ।

सुकृत नेपालसँगको वार्तामा आधारित

ताजा खबर