हिमालय एयरलायन्सका जहाज भाडामा, निगम हत्याउने दाउ

२०७५ फाल्गुण ३ शुक्रबार १२:४६:०० मा प्रकाशित

काठमाडौं, ३ फागुन । अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलायन्सले आफ्नो एउटा जहाज भाडामा लगाउन लागेको थाहा भएको छ । नेपालको यति वल्र्ड इन्भेष्टमेन्ट र चीनको तिब्बत एयरलायन्सको संयुक्त लगानीमा शुरु गरिएको यस एयरलायन्सले जहाजको पूर्ण उपयोग गर्न नसकेपछि अतिरिक्त आम्दानीको विकल्प रोजेको बुझिएको छ । 

तीनवटा जहाजबाट उडान शुरु गरेको हिमालय एयरलायन्सले पछिल्लो समय आर्थिक संकटमा परि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क तिर्न आनकानी गरिरहेको बताईएको छ । लामो समय देखिको भुक्तानी बाँकी रहि १४ करोड भन्दा माथि पुगेकोमा हिमालयले यसअघि एक महिनाको अवधि माग गरेको थियो । उक्त अवधि केहिदिनमै सकिँदै छ । 

यसअघि श्रीलंकाको कोलम्बो र म्यानमारको याङगुनमा उडान भर्ने गरेको भएपनि कम यात्रु भएको भन्दै उक्त क्षेत्रको उडान रद्द गरेको हिमालयले सोचे अनुरुपको गन्तव्यहरुबाट मुनाफा गर्न नसकेको स्रोतले बताएको छ । हिमालयसँग हाल ए३२० सिरिजको तीन वटा न्यारोबडी जहाज छन् । 
पछिल्लो समय यसले कतारको दोहा, मलेसियाको क्वालालुम्पुर, चीनको चोङकीङ, युएईको दुबई र साउदी अरबको दम्माममा उडान भरिरहेको छ । यी गन्तव्यमध्ये दोहामा मात्र हिमालयको दैनिक उडान छ । 

लामो समयदेखि भारतको राजधानी नयाँदिल्ली उडानको लागि हिमालयले गरेको प्रयास असफल भएको छ । त्यस्तै चीनको ग्वाङझाउमा उडान भर्न गरेको प्रयास पनि असफल भएसँगै हिमालयले सुरुमै ताकेको आकर्षक गन्तव्यको अभावमा जहाजहरुको पूर्ण क्षमतालाई प्रयोग गर्न सकिरहेको   छैन । 

सोही कारणपनि हिमालयले अहिले सुरुमा एउटा जहाज तीन महिनाको लागि ओमान एयरलाई भाडामा लगाउन लागेको थाहा भएको छ । 
अहिलेलाई एउटा जहाज छोटो समयको लागि दिने भनिएपनि पछि दुईवटा जहाजनै भाडामा लगाउने एयरलायन्सको योजना रहेको समाचार स्रोतले दाबी गरेको छ । 

सोचे अनुरुपको गन्तव्य नपाउनु, संचालन खर्च अत्यधिक हुनुले आर्थिक संकटमा परेको हिमालयले जहाज भाडामा लगाइ केहि आकर्षक गन्तव्यहरुमा मात्र सातामा ३ देखि ४ वटा उडान भर्दै नाफा बढाउन चाहेको बुझिएको छ । 

यता,पर्यटन मन्त्रालय सम्बध्द एक उच्च सूत्रले बताए अनुसार, हिमालय एयर लायन्सका संचालकहरु आफ्नो जहाजहरु भाडामा लगाएर नेपाल वायु सेवा निगमको व्यवस्थापन हात पार्ने प्रयाश गरिरहेका छन् । यसका लागि सत्तारुढ दलका उच्च तहका नेता र विभागीय अधिकारीहरुसँग नियमित भेटघाट भैरहेको बताईन्छ । सरकारले निगमलाई जति अपनत्व दिएर व्यवसाय प्रवध्र्दनमा सघाउ पुर्याउनु पर्ने हो त्यति नगर्नुलाई सरकार नै निगमको जिम्मेवारीबाट मुक्त हुन चाहिरहेको हो कि भनेर चर्चा हुनथालेको सूत्रले बताएको छ ।

सूत्रले भन्यो– ‘निगमको छवि बिगार्न यस्तै समूह र उनीहरुबाट प्रभावित निगमका कर्मचारीको ठूलो हात रहेको छ ।’
 

ताजा खबर