दातृ संस्था र समुदायका भरमा ७६ विद्यालय

२०७५ फाल्गुण ३ शुक्रबार ०७:४८:०० मा प्रकाशित

चितवन, ३ फागुन । यहाँका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नुपरेको हो । 

विसंं २०६७ बाट माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मजवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक दरबन्दी नै छैन । तर त्यहाँ माध्यमिक तहको पठनपाठन भने हुँदै आएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने सो विद्यालयमा माध्यमिक तह सञ्चालनका लागि दातृ संस्था खोज्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक देवकुमार बस्नेतले बताए। 

दातृ संस्था खोजे पनि दिगो रूपमा नहुने भएकाले समुदायको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । शिक्षक दरबन्दी नहुँदा प्रावि र निमावि तहका शिक्षकलाई पठनपाठनका लागि जिम्मा दिनुपर्ने बाध्यता रहेको बस्नेतले बताए। माध्यमिक तहको शैक्षिक योग्यता नभए पनि उनीहरुले जेनतेन पढाइ रहेका छन् ।

यस्तै समस्यामा रहेको छ माडी नगरपालिका–९ कृष्णनगरमा रहेको कृष्णनगर माध्यमिक विद्यालयको पनि । विसं २०६८ देखि माध्यमिक तहको पठनपाठन शुरु गरी एसइई परीक्षामा सहभागी हुँदै आएको सो विद्यालयमा अहिलेसम्म माध्यमिक तहको दरबन्दी छैन । जसका कारण विद्यालय सञ्चालनमा समुदायको भर पर्नुपरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ सुवेदीले बताए। 

“अहिले विद्यालयमा मावि तहको दरबन्दी छैन, निमावि र निजी स्रोतका शिक्षकबाट काम चलाउनुपरेको छ”, उनले भने। माध्यमिक विद्यालय सञ्चालनका लागि विद्यालय विकास शुल्क भनेर विद्यार्थीसँग थप शुल्क उठाउने गरेको उनले जानकारी दिए। 

जिल्लामा यस्तो समस्यामा ७६ विद्यालय रहेका छन् जहाँ तल्लो तहको दरबन्दीमा रहेका शिक्षकले माथिल्लो तहसम्म हेर्नुपर्ने र सञ्चालनका लागि समुदाय वा दातृ संस्थाको भर पर्नुपर्ने बाध्यता छ । शिक्षा विकास समन्वय एकाइ चितवनले दिएको जानकारीअनुसार जिल्लामा रहेका २२ माध्यमिक विद्यालय र ५४ निम्नमाध्यामिक विद्यालयमा शिक्षक दरबन्दी अभाव रहेको छ । माध्यमिक तह सञ्चालनमा रहेका शहरदेखि गाउँसम्मका २२ विद्यालयमा अहिलेसम्म एउटा पनि दरबन्दी दिन नसकेको एकाइका प्रमुख दीपेन्द्र सुवेदीले बताए। निम्न माध्यमिक विद्यालयमा पनि यस्तै समस्या रहेको उनले बताए। 

सरकारले दरबन्दी निकासा नगर्दा आवश्यक मात्रामा शिक्षक पठाउन नसकेको सुवेदीले बताए। माध्यमिक तहको अनुमति लिएर सञ्चालन गरिएका विद्यालयमा न्यूनतम सोही तहका पाँच शिक्षकको दरबन्दी हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै निम्न माध्यामिक तहमा सोही तहको चार जनाको दरबन्दी हुनुपर्ने व्यवस्था रहेको छ । 

शिक्षक दरबन्दी पर्याप्त नहुँदा तल्लो तहका शिक्षकलाई उपल्लो तहसम्मको जिम्मेवारी दिन बाध्य भएको सुवेदीले बताए। उनले भने, “सरकारले दरबन्दी व्यवस्था गर्न सकेको छैन, जसका कारण माध्यमिक विद्यालयका निम्नमाध्यमिक तहको दरबन्दीले पठनपाठन सञ्चालन गरिरहेका छन् ।” कतिपय विद्यालयमा योग्यता नपुगेका शिक्षकले समेत माध्यमिक तहसम्म पठनपाठन गर्न बाध्य भएको उनले बताए। 

विद्यालयमा योग्य शिक्षकको अभाव हुँदा शिक्षाको गुणस्तर खस्कने उनले बताए। जिल्लामा हाल २६१ आधारभूत तह (प्रावि र निमावि) र ९८ माध्यमिक तहका सामुदायिक विद्यालय रहेका छन् । आधारभूत तहमा ५३ हजार ७२० र मावि तहमा १४ हजार ६७१ विद्यार्थी अध्ययनरत छन् । रासस

ताजा खबर