यो हो प्रेमको अजस्र स्रोत

२०७५ फाल्गुण २ बिहीबार १२:५८:०० मा प्रकाशित

जस्ताको तस्तै खोज्नु मात्रै सत्य हैन, यो सत्यको यस्तो स्वरुप मात्रै हो । जस्तो देख्यो,जस्तो महसुस गर्यो, जस्ताकोतस्तै व्यक्त गर्नु, यो सत्यको स्थूल रुप हो । सत्य सूक्ष्मतम् छ । सत्य कल्याणकारी छ । सत्य प्रिय छ र सत्य अति नै सुन्दर छ । जस्तो देख्यो त्यस्तै भन्ने सबै कल्याणकारी हुन्छ भन्नु जरुरी छैन । जस्ताकोतस्तै भन्दाखेरि कसैलाई मर्का पर्न सक्छ । कसैलाई अप्ठ्यारो पर्न पनि सक्छ । सुन्दर बनाउनलाई विवेक प्रयोग गर्नुपर्छ । शिवम् बनाउनको लागि, सत्यलाई शिवम् बनाउनु छ । शिवम् भनेको शुभ हो । शुभलाई शिवम् भनिन्छ । जसले हित मात्रै गर्छ । कसैको अहित गर्दैन । त्यो शिवम् हो । सत्य यस्तो होस्, जो शिवम् होस् । जो शिवम् छ त्यो त सुन्दर भई नै हाल्छ । अब त्योभन्दा प्रिय के हुन्छ ? हामी सुन्दरताको कुरा गर्छौं । कसैलाई देख्यो, कुनै वस्तु, कुनै दृश्य, मानिस, जनावर कोही पनि यो राम्रो रहेछ, यो नराम्रो रहेछ भनेर व्यवहार गर्छ । यो सुन्दर रहेछ भन्छौं । यो स्थूल रुप सौन्दर्य हो । झलक्क बाहिरबाट देखिने सौन्दर्य आज छ भोलि नहुन पनि सक्छ । यसको कुनै भरोसा छैन । सौन्दर्य भनेको शिवम् हो, शिवम् मात्रै सौन्दर्य हुन्छ । अरु कुनै हुँदैन । सुन्दर शिवम् हुन्छ । शिवम् भयो कल्याणकारी हुन्छ ।

जुन मानिस हरहमेसा मेरो हितमा काम गर्छ, जुन व्यक्तिले सदा मेरो सुखको चिन्तन गर्छ, मेरो नजरमा ऊ मात्रै सुन्दर हो । बाहिरबाट जतिसुकै सौन्दर्यले भरिएको होस्, अनुहार सजाएको होस्, शरीर सजाएको होस्, तर त्यो मेरो अहितमा काम गर्छ भने त्यो मलाई राम्रो लाग्छ र ? लाग्दैन । यसको अर्थ हो, जसले मेरो हित गर्छ, त्यो नै सुन्दर हो । जसले हित गर्छ, शुभ गर्छ त्यसलाई शिव भनिन्छ । शिव भनेको व्यक्ति हैन, शिव भनेको तत्व हो, जसले शुभ मात्रै गर्छ । मेरो हितमा कार्य गर्छ । काहीँबाट मेरो हितमा कार्य भएको छ भने त्यो शिवबाट भएको छ र त्यो मात्रै सुन्दर छ । सत्य पनि त्यही हो जो शिव हुन्छ । शुभ नहुने सत्य सत्य हैन । त्यो असत्य हो । जतिसुकै सत्यभाषी होस् । सत्यकर्मी होस् । केही अर्थ छैन । 
धेरैजना मानिसहरुले एउटा मानिसलाई लखेट्दै गए, त्यो मानिस भाग्दै–भाग्दै एउटा घरमा गएर लुक्यो । अब त्यो व्यक्तिलाई मार्न पूरै हुल हातहतियार लिएर आएकाहरु घरभित्र प्रवेश गरे । र घरवालालाई सोधे, ‘एक जना मानिस भाग्दै आएको थियो, तपाईंको घरमा आएको छ ?’ छैन भनौं भने असत्य हुन्छ, किनभने मानिस त भित्र बसेको छ । छ भनौं भने त्यसको हत्या हुनसक्छ । तिनीहरुले त छोड्दैनन् । मार्छन्, मार्न आएका छन् । यो बेलामा असत्य बोल्नु सत्य हो । 

किनभने यो असत्यमा शिवम् छ । यो असत्यमा कसैको ज्यान बच्छ । कसैलाई राम्रो हुन्छ । यो चाहिँ सत्य हो । जहाँ शिवम् छ त्यही सत्य हो । सत्य भनेको जस्ताको तस्तै बोल्नु हुँदै होइन । हाम्रो बोली, हाम्रो अभिव्यक्ति यस्तो होस्, कि सबैको शुभ होस् । सबैलाई राम्रो लागोस् र सबैको लागि कल्याणकारी होस् । यो शिवम् हो र शिवम् सबैभन्दा महत्वपूर्ण छ । सत्यम्, शिवम्, सुन्दरम् । शिवम् बीचमा छ, शिव प्राण हो । शिवबाट नै सत्य प्रकट हुन्छ र शिवबाट नै सौन्दर्य प्रकट हुन्छ । त्यसैले युग–युगदेखि आजसम्म शिवको पूजा गरिएको हो । शिवको प्रार्थना गरिएको हो । शिवको गुणगान गाइएको हो । शिव सर्वकल्याणको स्थिति, प्रेम, करुणा, दया, सद्भाव, प्रशंसा, सम्मान यी सबै गुणहरु शिवम्मा समाहित हुन्छन् र जो व्यक्तिले शिवलाई जान्यो त्यो व्यक्तिको चेतना ऊध्र्वगमन भयो । सत्य त्यही हो जो शुभ होस्, सौन्दर्य त्यही हो जहाँ शुभ होस् । 

र, अब यो शिव कहाँ खोज्ने ? हरहमेसा मेरो हितमा लागिरहने शिव कहाँ छ ? जतिखेर पनि मेरो कल्याणको लागि चिन्तन गरिरहने व्यक्ति कहाँ    छ ? त्यो शिव कहाँ छ ? हामीले अतिकति आफ्नो  विवेकको ढोका खोलेर हेर्यौं भने त्यो शिव देखिन्छ र त्यो शिव हो– आफ्नो  पिता । आफ्नो  बुबाले कहिल्यै पनि अहित चिताउँदैनन् । कुनै पनि बाबुले आफ्नो छोराछोरीको अहित त चिताउँदैनन् नि । उनीहरुको अहितको लागि कर्म   गर्दैनन् । आफ्ना बच्चाहरुको प्यार लाग्छ र सदा–सदा आफ्नो भलाइको लागि कर्म गर्छन् । आफ्ना बच्चाहरुका लागि पूरै जीवन   रित्याउँछन् । यस्ता मातापिता शिवस्वरुपा हुन् । किनभने शिवम् मात्रै गर्छन्, कल्याण मात्रै गर्छन्, हाम्रो हितमा मात्रै काम गर्छन् । छोराछोरीको हितभन्दा बाहेक अरु जानेकै छैन । पाउनु केही छैन दिनु मात्रै छ । केही पाइन्छ यिनीहरुबाट भन्ने आश छैन ।

एउटी आमा अहिले जसलाई काखमा लिएर दूध खुवाइरहेकी छे, पछि त्यसैले तिम्रो हत्या गर्छ, यसैबाट तिम्रो मृत्यु हुनसक्छ, यसलाई हटाऊ भन्यो भने पनि आमा मान्दिनन् । आमा भन्छिन्, बाबा जुन बेलामा मार्छ त्यो बेलामा हेरौंला । अहिले त मेरो बाबु आइज छातीमा । कुनै प्रकारको स्वार्थ छैन । यो स्वार्थरहित शुभम्, यो स्वार्थरहित प्रेम आफ्ना  मातापिताबाट मात्रै पाइन्छ । प्रेम, भक्ति, स्नेहमा बहिखाता हुन्न । सन्तानले कति खाए खर्च थाहा हुन्न । 

कति खाए, कति थियो, बेहिसाब । केही हिसाबै रहन्न । अरुलाई एक रुपैयाँ सापट दियो भने हिसाब रहन्छ । मनमा लागिरहन्छ, कैयौं वर्ष पछाडि त्यसलाई देख्यो भने पनि याद आउँछ । यसलाई कुनै दिन मैले एक रुपैयाँ दिएको थिएँ, अहिलेसम्म तिर्दैन । तर आफ्ना छोराछोरीले कति खाए हिसाबै छैन । कुनै हिसाबै छैन । जसले बेहिसाब शुभको लागि कर्म गर्यो, यही हो शिव । यही हो शिवस्वरुपा । त्यसैले आफ्ना आमाबुबाभन्दा ठूलो कुनै भगवान् छैन । आमाबुबालाई छोडेर अन्यत्र भगवान् खोज्न गयौं भने धेरै ठूलो भूल हुन्छ । गल्ती हुन्छ । अन्यत्र त भगवान् छैन । बाबुआमाभन्दा बढी मेरो भलाइ सोच्ने मानिस यो पृथ्वीमा छैन । बाबुआमाभन्दा बढी भलाइ सोच्ने मानिस कोही छ र ? बाबुआमाभन्दा बढी मेरो शुभ चाहने मानिस कोही छ ? कोही हुनै सक्दैन । त्यसैले बाबुआमाभन्दा ठूलो भगवान् त छैन । जसले शुभ सोच्यो, शुभ गर्यो, त्यो मात्रै भगवान् हो । शुभ नै भगवान् हो, शिव नै भगवान् हो । शिव भनेको मेरो भलाइ जेले गर्छ, जसले उन्नति गराउँछ– यो शिव हो । यही नै सत्य हो र यही नै सुन्दर हो । 

यसलाई हामीले तीन प्रकारले हेर्न उपयुक्त हुन्छ । एउटा आफ्ना  मातापिता जो हरहमेसा शुभ गरिरहेका छन् । त्यसैगरी सबैका आमाबुबा भगवान् हुन्, किनभने सबैका आमाबुबाले आफ्ना – आफ्ना सन्तानहरुलाई त्यसैगरी शुभ गरिरहेका छन् र जहाँबाट शुभ प्रकट हुन्छ, त्यो भगवान् हो । त्यसकारण यो सृष्टिका, यो प्रकृतिका जति पनि बुबाआमा छन्, ती सबै भगवान् हुन् । सबै शिव हुन् । तेस्रो, जसले साह्रा सृष्टिकै रचना गर्यो,जसले मेरो बुबाआमाको पनि रचना गर्यो, मेरो पनि रचना गर्यो, त्यो सृष्टिकर्ता ध्यानस्वरुप परमात्मा जसले हाम्रो हरहमेसा शुभ मात्रै सोच्दछ, यो शिवम्, यो शिवस्वरुप हो । प्रकृतिले जहिले पनि हाम्रो हित सोच्दछ ।

हाम्रा बुबाआमाले जसरी हाम्रो हित सोचेको हुन्छ, त्यसैगरी यो सृष्टिकर्ता यो सर्जकले पनि हाम्रो हित चिताएको हुन्छ । बच्चा आमाको गर्भमा छ, सद्दे जन्मिन्छ या जन्मिँदैन, त्यो पनि थाहा छैन, न जन्मिनुभन्दा अगाडि नै मर्छ कि ? के भरोसा छ र ? तर पनि ऊ जन्मियोस्, नजन्मियो, सद्दे जन्मियोस्, बिसद्दे जन्मियोस्, मतलबै छैन । जब बच्चा गर्भमा रह्यो, आमाको छातीमा दूधका धाराहरु बग्न थाले, कस्तो दयालु छ परमात्मा । सबैको व्यवस्था गरेको छ । जन्मिने बित्तिकै के–के चाहिन्छ ? हावा चाहिन्छ, हावाको व्यवस्था छ, पानी चाहिन्छ पानीको व्यवस्था छ । खाद्यान्न चाहिन्छ, त्यसको व्यवस्था छ । सबै कुराको व्यवस्था छ । जे–जे हामीलाई चाहिन्छ, त्यो सब कुराको व्यवस्था पहिल्यै हामीलाई गरिदिएको छ । हामी अहंकार गर्छौं, सब मेरो कमाइ, मेरो कमाइले सबैलाई पालेको छु भन्छौं । मैले के पाल्नु ?

पालनकर्ता त ऊ छ, उसले पालेको छ । यो अन्न फल्ने माटो मैले बनाएको हैन, यो माटोमा हाल्ने पानी पनि मैले बनाएको हैन, त्यो माटोमा जे फल चाहिन्छ त्यो पनि मैले बनाएको हैन, हावा चाहिन्छ अक्सिजन– त्यो पनि मैले बनाएको हैन, यो धड्कन मैले चलाएको हैन, अनि मैले के गरेको छु ? 
यसरी हाम्रो पालन गर्ने, हाम्रो हितमा कर्म गरिरहने त्यो परमपिता परमात्मा शिवस्वरुप हुन् । जहाँ–जहाँबाट शुभ हुन्छ, कल्याणकारी काम हुन्छ, त्यही शिव हो । आफ्ना  मातापिता, सबैका मातापिता र ब्रह्माण्डकै मातापिता तीन प्रकारबाट हाम्रो शुभ भइरहेको छ, हाम्रो कल्याण भइरहेको छ । यो शुभ नै शिव हो र यो नै सत्य हो । शिव नै सत्य हो । जसले शुभ गर्यो त्यही नै सुन्दर हो । हामी सबैलाई जसले हाम्रो शुभम् गर्छ, शिवस्वरुपप्रति भक्तिभाव जागोस्, प्रेमभाव जागोस्, श्रद्धाभाव जागोस् । 
(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री) 

ताजा खबर