भरतपुर विमानस्थलमा प्रचण्डको रुची

२०७५ फाल्गुण १ बुधबार १५:२४:०० मा प्रकाशित

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भरतपुर विमानस्थललाई भरपर्दो बनाउन रुचीपूर्वक लागेका छन् । उनको निर्वाचन क्षेत्रमा पर्ने यो विमानस्थललाई सुविधासम्पन्न बनाई नियमित उडानमा कुनै व्यवधान आउन नदिनेगरी बिस्तार गर्न दाहालले विशेष चासो राखेर अनुगमन गरिरहेको बुझिएको छ ।

तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिका पनि यस काममा ध्यान दिन थालेका छन् ।
जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमका अनुसार हाल धावनमार्ग एक हजार दुई सय मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग भएको छ । जसका कारण जहाजले सहज उडान र अवतरण गर्न कठिन भएको छ भने जहाजभरी यात्रु बोक्न सकेका छैनन् । यसले पाटपूर्जामा समेत असर पारेको छ । 

विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको गौतम बताए । 

 राससका अनुसार, केही घरका छतमा रहेको ट्रस्ट हटाएर विद्युतीय तार भूमिगत गर्न सकेमा हालको समस्या समाधान हुने गौतमले बताए । दीर्घकालीन विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको छ । सो ठाउँ विस्तार गर्दा ८ सय देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपालिकाको बैठकले विमानस्थल विस्तारका लागि पहल गर्ने निर्णय गरेको बताईन् । 

भरतपुरबाट करीब १५० किलोमिटरको दुरीमा चारैतर्फ अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भरतपुरको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने पहल गरिएको दाहालले सुनाईन् ।  

जिल्लामा क्रिकेट रङ्गशाला, सिटी हलजस्ता ठूला पूर्वाधार बन्ने तयारीमा रहेको र पर्यटकीय केन्द्र भएकाले ७२ सिट क्षमता भएको जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने दाहालको भनाइ छ ।  

  नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलको नेतृत्वमा आएको एक टोलीले विमानस्थलको अध्ययन गरी फर्किएको छ । पोख्रेलका अनुसार अहिले विमानस्थल जोखिमपूर्ण ढङ्गले सञ्चालनमा आएको छ । 

विस्तार गर्न नसकिए बन्द गर्नुपर्ने अवस्था रहेकाले सरोकारवाला सबैको ध्यान विमानस्थलतर्फ केन्द्रीत भएको बताउँदै उनले यसलाई स्तरीय विमानस्थल बनाउन सकिने बताए । 

प्राधिकरणले देशका अन्य विमानस्थलको स्तरोन्नती गरिरहेको भन्दै उनले विस्तार गर्ने ठाउँ पाएमा रात्रिकालीन उडान भर्नसक्ने गरी स्तरीय विमानस्थल बनाउन सकिने बताए ।  

विस्तार गर्ने ठाउँ उपलब्ध भएमा गुरुयोजना निर्माण गरी प्राधिकरणले काम गर्ने पनि उहाँले बताए । विसं २०१५ मा निर्माण थालेर तत्कालीन हवाई विभागले विसं २०१८ मङ्सिर १२ गतेबाट भरतपुर विमानस्थल सञ्चालनमा ल्याएको थियो । 

नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका समयमा निकै चाप बेहोरेको यस विमानस्थलबाट हाल नौवटा उडान काठमाडौँ र एउटा उडान पोखरा गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि आठ सय जनालाई सेवा दिँदै आएको छ ।
 

ताजा खबर