रणविर–आलीयाको फिल्ममा सेन्सर बोर्डको कैंची

२०७५ फाल्गुण १ बुधबार १२:५८:०० मा प्रकाशित


एजेन्सी । बलिउड नायक रणविर सिंह र नायिका आलीया भट्टको फिल्म ‘गल्ली ब्वाइ’ को केहि सिनहरुमा भारतीय सेन्सर बोर्डले कैंची लगाएको छ ।

बहुप्रतिक्षित यस फिल्मको ट्रेलर यसअघि सार्वजनिक भइसकेको छ । उक्त ट्रेलरलाई दर्शकहरुले मन पराएको बताइएको छ ।

फिल्म रिलिज हुने मिति नजिकिंदै जाँदा सेन्सर बोर्डले फिल्मलाई प्रमाणपत्र दिनुअघि केहि सिनहरु हटाउन आग्रह गरेको भारतीय अनलाइनहरुले दाबी गरेका छन् । आलीया र रणविरको १३ सेकन्ड लामो किस सिन पनि हटाउन बोर्डले आग्रह गरेको थाहा भएको छ ।

त्यस्तै फिल्मको ब्रान्ड पार्टनर रोयल स्ट्यागको नाम पनि हटाउन बोर्डले आग्रह गरेको बताइएको छ । सेन्सर बोर्डको अनुसार फिल्ममा कुनैपनि किसिमको नशालु पदार्थको विज्ञापन उचित हुँदैन ।

त्यस्तै धुम्रपान गरिएको दृश्यमा चेतावनी राख्न पनि बोर्डले भनेको बताइएको छ भने छाडा शब्द प्रयोग गरिएको स्थानमा ‘बीप’ साउन्ड प्रयोग गर्न सुझाइएको खबर बाहिरिएको छ ।

यसअघि यो फिल्मलाई ६९ औं बर्लिन फिल्म फेस्टिवलमा प्रिमियर गरिएको थियो । उक्त अवसरमा फिल्म हेर्ने अवसर पाएका विश्लेषकहरुले यस फिल्मको कथावस्तुलाई नौलो भनेका थिए । विश्लेषकहरुले आलीया–रणविरको कामको प्रशंसा गर्दै यसलाई छुटाउनै नहुने फिल्म भनेको दाबी गरिएको छ ।

फिल्म भोली अर्थात् भेलेन्टाइन डे को दिन रिलिज हुने तालिका रहेको छ ।   

 

ताजा खबर