वाईडबडी र महारानी आरजू देउवा

२०७५ माघ २९ मंगलबार ११:११:०० मा प्रकाशित

सन् १९९५ तिरको कुरा हो। तत्कालीन सोभियत संघको पतन भएको चार बर्ष नाघिसकेको थियो। संघको पतनपछि जन्मिएको राष्ट्रमण्डलका नयाँ सदस्य राष्ट्रहरुको आर्थिक अवस्था जीर्ण थियो। १९१७ को रूसको बोल्सेविक क्रान्तिमा होमिएकाहरु लेनीनको नेतृत्वमा "नून र पाउरोटी मात्र खाएर पनि" मजदूर र किसानको सरकारको समाजवादी शासन स्थापित गर्न लागिपरेको ईतिहास गर्लामगुर्लुम ढलेको थियो। पूर्व सोभियत संघका जनता संग नून थियो न पाउरोटी।  

 खण्डित सोभियत संघको नव गण राज्यहरुमा कमसेकम एक हजार नेपाली बिद्दार्थी पनि थिए। उनीहरु पुरानो सोभियत संघले दिएको छात्रवृत्तिमा धेरैजसो डाक्टर र ईन्जिनियर अनि केही वकील र पत्रकार बन्ने सपना देखेर त्यहाँ पुगेका थिए। नयाँ राज्यहरुले उनीहरुलाई बाँकी पढाई सम्पन्न गर्ने दया त देखाए। तर ती बिद्द्यार्थीहरुसंग नून र पाउरोटीको बन्दोबस्त थिएन। उनीहरुले त्यो बेला कसरी पढे र बाँचे भन्ने कथा एउटा पुस्तक हुन सक्छ। तर आजसम्म यसबारेमा कसैले केही लेखेका छैनन्।   

तर त्यतिनैबेला पूर्व सोभियत संघमा नेपाली युवाहरुको अत्यन्त सानो एउटा समूह यस्तो पनि थियो, जो त्यहाँ बिद्द्यार्थी भएर छिरे, तर कालान्तरमा ब्यापारी भएर निस्किए। उनीहरुको ठीक समयमा त्यतिबेलाका ठीक मान्छेहरुसँग सम्पर्क भयो। उनीहरुले नेपाल फर्किएर देशको सेवा गर्न रुचाएनन। बरु बिदेशमै आफ्नो व्यापारको झण्डा गाडे।

मेरो आफनै परिवार र छिमेकका दाईहरु भर्खरै दुख्खले उतैबाट पढेर फर्केका थिए। उनीहरु आफ्नो दुख्ख मात्र सुनाउन्दैनथे। उपेन्द्र महतो र जीवा लामिछाने नामका नेपाली बिद्ध्यार्थीहरुले गरेको भौतिक प्रगतिको कथा जीब्रो टोकेर सुनाउँथे। "अनि उनीहरुले तिमीहरुले दुख्ख पाउँदा सहयोग गरेनन् त?" म सोध्थें। जवाफ आउंथ्यो, "हैट , उनीहरु त माफिया जस्ता हुन्। हामीले 'कण्ट्याक्ट' गर्ने 'चान्स' नै थिएन नि।"

 

त्यतिबेला म गोरखापत्रको अन्तिम पानोमा हरेक बिहिबार 'नोटबुक' नामक एउटा स्तम्भ लेख्थें। हिन्दी सिनेमा हेर्ने बानी परेका हामीहरुलाई त्यतिबेला भारतका मध्यमबर्गीय बाबुआमाहरुले "एन आर आई" अर्थात नङ रेजिडेण्ट इण्डियनहरुलाई आफ्नो छोरी अन्माउने हुटहुटीका बारेमा थाहा थियो। नेपालीहरु पनि प्रवासी संगठन खोल्न एकदिन सक्षम हुनेछन भन्ने कुरा कल्पनाभन्दा परको कुरा थियो। तर मैले आफ्नो स्तम्भमा उपेन्द्र महतो र जीवा लामिछानेको उदाहरण दिएर "एन आर एन" को सम्भावना बारे एउटा लेख प्रकाशित गरें।

गोरखापत्र प्रकाशित भएपछि म उपहासको पात्र भएँ। मेरा समाचार सूत्रहरु, परराष्ट्र मन्त्रालयका सरकारी कर्मचारीहरु, गोरखापत्रका सुकीला पत्रकारहरु अनि मेरो आफ्नै वृत्तका सम्वाददाताहरुले मलाई बेस्सरी उडाए। उनीहरुको बुझाईमा एन आर एन को अवधारणा तत्कालका लागी असम्भव थियो। कुरा सकियो। म बेवकूफ़ भएँ। आठ बर्ष पछि, सन् २००३ मा मलाई बेवकूफ़ भन्नेहरुको सातो फर्कियो। उनै नेपालमा जन्मिएका बेलारुसका नागरिक उपेन्द्र महतोको नेतृत्वमा एन आर एन अर्थात गैर आवासीय नेपालीहरुको संगठन जन्मियो।

कम्युनिष्ट कलर !

उपेन्द्र महतो एन आर एन का जर्ज वाशिंगटन हुन्। लगातार तीन कार्यकालको अद्द्यक्षता गर्ने उनी एकमात्र व्यक्ति हुन्। त्यसपछि एन आर एन को बिधान नै परिवर्तन भयो। अब दुई पटक बाहेक कसैले पनि यो संगठनको नेतृत्व गर्न मिल्दैन। तैपनि, एन आर एन को आठ बर्षे आयूमा चार कार्यकाल सोभियत संघबाट दिक्षित अगुवाहरुले नेतृत्व गरिसकेका छन्। तीन पटक उपेन्द्र महतो। एक पटक जीवा लामिछाने। उपेन्द्र महतो कुनैबेला कम्युनिष्ट थिए। यसमा कुनै शंका छैन। तर उनको राजनीतिक आस्थाको कुरा यहाँ किन उल्लेख गरियो? यसको जवाफ पाउन एन आर एन (अमेरिका) को राजनीति बुझ्न जरूरी हुन्छ। जुन कुरा यो आलेख पुरा पढ्ने व्यक्तिले मात्र बुझ्न सक्छ।

 

 

उपेन्द्र महतो अहिले त्यतिनै कम्युनिष्ट हुन्, जति नेपालमा सत्तारुढ नेकपाका सह नेता पुष्प कमल दाहाल "प्रचण्ड"हुन्। दुवैको सम्बन्ध प्रगाढ छ। प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालले सगरमाथा चढ्ने घोषणा गरेको भोलीपल्टै महतोले दुई करोडको थैली टक्र्याए। रोल्पाको बंकरबाट राष्ट्रिय राजनीतिमा सार्वजनिक भएका प्रचण्डले एकपटक  महतोको काठमान्डौ मातातीर्थमा बनेको भब्य महलमा सर्वदलीय नेताहरुको "अनौपचारिक" बैठक बोलाउँदा नेताहरु चकित परेका थिए। जवाफमा उनले भनेका थिए, "होईन होईन, यो मेरो घर होईन, बेलारुसका एकजना ब्यापारी मेरा साथी हुन्। यो घर उनकै भाई को हो।" त्यो बेला प्रचण्ड आफ्नो राजनीतिक अतब्यस्तताबाट थाकेकी आफ्नी पत्नी सीता दाहालको "मूड" परिवर्तन गर्नका लागि दूई साता देखि त्यही घरमा बस्दै आएका थिए।  

 

प्रचण्ड र महतोका बीच धेरै असमानताका बीच पनि केही समानता छ। प्रमुख समानता पैसा र शक्तिको संयोजन हो। बहुचर्चित 'पानामा पेपर' प्रकरणमा महतोको बिदेशी बैंकमा लुकाएको पैसाको तपसील सार्वजनिक भएको धेरै भएको छैन। पूर्व राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंहका कुनैबेलाका कारिन्दा अजेय पराजुली सुमार्गीको नाममा आएको अरबौँको राशी उनको नभएर प्रचण्डले शान्ति प्रक्रियामा हिनामिना गरेर लडाकुको नाममा कुम्ल्याएको रकम हो भन्ने कुरा सबैलाई थाहा छ। राजनीतिका खेलाडी र ब्यापारीहरुको गठजोड गजबको हुन्छ। उनीहरु प्रमाण देखाउन पनि सक्छन, प्रमाण मेटाउन पनि।

 

नेपाल वायुसेवा निगमको कुख्यात 'वाईड बडी' जहाज खरिद प्रक्रियामा अरबौंको घोटाला भएको खबरले नेपाली आकाशमा चर्को चट्याङ्ग पारेकै हो। तर यो प्रक्रिया अहिलेको सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारीले शुरु गरेका थिएनन। यसमा शेर बहादुर देउवा देखि बिजय गच्छदारका पोष्यपुत्र जितेन्द्र देव अनि देउवाकी दरवारिया महारानी आरजू देउवाको समेत स्वार्थ थियो। जब यो कुरा प्रकाशमा आयो, नेपालमा 'वाईड बड़ी' काण्ड सामसुम भयो। किन होला?

 

नेताहरु जनतालाई अल्मल्याउन कुरा गर्ने जादूगर हुन्। कार्यकर्ता हातको सफाईमा सघाउने भीड। नेताहरु भित्र भित्र मिलेका हुन्छन। कार्यकर्ताहरु कुरै नबुझी भिड्छन। समाचार बन्छ। जनता कारक बिर्सिन्छ। कृत्य सम्झिन्छ। ०४६ सालपछिको राजनीतिक मोलतोलमा संधै यस्तै भैआएको हो। 'भोटर'को स्मरणशक्ति कमजोर हुन्छ। फाईदा नेता र व्यापारीले उठाउंछन्।   

 

कम्युनिष्ट अमेरिका?

 

नेपालको यो साङ्गोपाङ्गो परिदृश्य एउटा उदाहरण हो। सन्दर्भ एन आर एन को हो। भ्रुणावस्थामा नाभीको बिकास भएन भने कालान्तरमा त्यसले मगजमा असर गर्छ। आमाको गर्भमा रहंदा पोषणको एउटै माध्यम नाभी हो। नाभी संग जोडिएको सालनाल हो।आहारा त्यही साल र नाल मार्फत नाभी हुँदै भ्रुणमा जाने हो। रासायनिक प्रतिक्रिया।  

 

एन आर एन (अमेरिका) को चुनाव हुँदैछ। अहिले एकथरी सदस्यता संख्या बढाउन लागिपरेका छन्। अर्काथरी पनि छन्, जो सकेसम्म अमेरिकामा बैधानिक रुपले आफ्नो जीविकोपार्जन गर्ने नेपालीहरुले यसको सदस्यता नलिदिउन भन्ने हेतुले फेसबुकमा ताण्डव नाच गर्दैछन। किन होला? यो प्रश्नको जवाफ त्यही नेपालको नाभी संग जोडिएको छ।

 

एकथरी प्रजातन्त्रवादी छन् अमेरिकामा। उनीहरु जनसम्पर्क मंचका नामले जुटेका छन्। फुटेका छन्। उनीहरुलाई आफू कांग्रेसी कार्यकर्ता बनेर चारतारे झोला बोक्न स्वतन्त्र ठान्छन। उनीहरु आफूलाई छाती ठोकेर कांग्रेसी कहलाउनमा गर्व  गर्छन। अर्काथरी छाद्मवेशी कम्युनिष्टहरु पनि छन्। अमेरिकीहरु जतिसुकै उदारवादी किन नहोउन! उनीहरु कम्युनिष्ट हुन सक्दैनन्। माओवादी र एमाले पार्टीमा लागेका, शरणार्थी वा डी भी चिट्ठा परेर आएका कम्युनिष्ट बिद्ध्यालयका दिक्षित प्रवासीहरु अमेरिकामा सिद्दान्तका आधारमा आफ्नो छाती ठोक्न सक्दैनन्। त्यसैले उनीहर्तुले छद्म भेषमा "प्रवासी मंच" खोलेका छन्।

 

फेसबुकमा हुण्डरी ल्याउने बाहेक उनीहरुको साङ्गठनिक आधार कमजोर छ। जन सम्पर्क मंचका कथित कांग्रेसीहरुलाई यो कुरा थाहा छ। त्यसैले उनका कार्यकर्ताहरु अमेरिकाको कुनै पनि संगठनमा "हामी कब्जा गर्छौं" भनेर सार्वजनिक रुपले हाँक दिन्छन। यो दम्भको चरम हो। यसले कम्युनिष्ट हुँदाहुँदै आफूलाई कम्युनिश्ट्य़ भन्न नसक्ने एउता जमातलाई कुनोमा पारेको बिरालोको अवस्थामा पुर्याएको छ।   

 

एन आर एन को अमेरिका शाखा यसका अन्य सम्पूर्ण शाखाभन्दा बृहद छ। बिशाल छ। संख्या र मानव शरित र साधनका रुपले पनि यसले उदाहरण प्रस्तुत गर्नुपर्ने हो। तर यस्तो हुँदैन। एन आर एन प्रति नकारात्मक छवी बनाउने निकृष्ट भूमिका कसैको छ भने त्यो अमेरिका बस्ने नेपालीहरुकै छ।

 

एन आर एन को उद्देश्य बिदेशमा कीलो गाडेर बसेका नेपाली र स्वदेशका बीच सेतुको सम्बन्ध कायम गर्ने हो भने यस मामिलामा अमेरिका बस्ने एन आर एन का कथित नेताहरु दोषी हुन्। यीनिहरुको सोचले नेपाल र अमेरिका बीच सम्बन्ध बिस्तार गर्ने त् टाढाको कुरा, स्वयं अमेरिकी समुदायमा फूट ल्याउन मात्र भूमिका खेलेको छ। राम्रो लुगा लगाएर, महँगो मोटर चढेर अनि गतीलो रक्सी पिउंदै भाषण गरेर मात्र लाज छोपिने भए नेपालमा राजतन्त्र ढल्ने थिएन। अमेरिकामा रहेका कथित छुसी सामाजिक अभियन्ताको के कुरा?

 

कम्युनिष्ट बिरासत?

 

एन आर एन को चुनावमा खुला रुपले आउने कांग्रेस र लुकेर गुरिल्ला युद्द लड्ने कम्युनिष्टका बीच हुने द्वन्द कुनै मुलुकमा हुन्छ भने त्यो अमेरिका मात्रै हो। यसअघि जापान र बेलायतमा पनि एन आर एन भेलामा कुटाकुट भएको समाचार आएका थिए। तर त्यो बिचार भन्दा व्यक्तिमा आधारित थियो। अघिल्लो पटक नेपालमा भएको कुटाकुट पनि व्यक्तिगत मनोमालिन्यकै कारण थियो। तर अमेरिका बस्ने नेपालीहरुको एउटा तप्कालाई कम्युनिष्ट खेमाप्रति किन यस्तो मोह? एन आर एन को मूल मुद्दा बिर्सेर यो बैचारिक लडाईं गर्ने बाध्यता किन आयो?

 

सम्भवत: अमेरिकामा रहेका कम्युनिष्ट नेपालीहरुलाई सोभियत संघका उपेन्द्र महतो र जीवा लामिछानेको पहलमा स्थापित संगठनमा आफ्नो बर्चस्व कायम गर्ने लालसा छ। दुवै जना कम्युनिष्ट मुलुकमा पढेका हुर्किएका अन्तर्राष्ट्रिय ब्यापारी हुन्। जसरी उनीहरु आफूलाई कम्युनिष्ट भन्न रूचाउँदैनन्, त्यसैगरी अमेरिकामा रहेका नेपाली कम्युनिष्टहरु पनि खुलेर आउँन रुचाउन्दैनन। यसो गर्दा उनीहरुको घरमा अभर पर्छ। एन आर एन अमेरिकाका वर्तमान नाईके केशव पौडेल माथि "हार्ड ड्राईभ" सदस्यता वितरण गरेको आरोप छ। तर उनलाई चुनौती दिने टेक्सासका आई टी उद्दमी गौरी जोशीले बिचैमा आफ्नो उम्मेद्वारी किन त्यागेका होलान? एउटा पक्ष यसबारेमा मौन छ। यो समस्या समाधान गर्न परिचय पत्र प्रणाली लागू गर्ने कुरा आउँदा अविश्वासको कोकोहोलो सुनियोजित रुपमा किन उठाईयो?  

 

कम्युनिष्ट पत्रकारहरु

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले एक औपचारिक बिज्ञप्ति मार्फत अमेरिकामा रहेका नेपालीहरुलाई एन आर एन को सदस्यता लिएर आगामी नेतृत्वका लागी मतदान गर्न आव्हान गर्यो। त्यसको लगत्तै नेजाबाट उछिट्टिएको एउटा समूहले खोलेको अर्को पत्रकार संगठनले एन आर एन ले सदस्यताका लागि परिचय पत्र मागेको आधारमा यसको बिश्वसनीयतामाथि प्रश्न उठायो। आफूलाई अन्तर्राष्ट्रिय रुपमा बिस्तार गरेको बताउने यो संगठनका अगुवाहरु सबै कम्युनिष्ट पृष्ठभूमिबाट आएकाहरु हुन्। धेरैलाई यो कुरा थाहा नहुन सक्छ, तर नेपालमा पत्रकारिताको दूईचार भोटो फ़टाउनेहरु यसको ज्ञातब्य छन्।

 

अघिल्लोपटक अमेरिकामा रहेका तीन लाख नेपाली मध्ये एन आर एन को सदस्यता लिनेको संख्या झन्डै १४ हजार थियो। यसपटक त्यसको आधा हुने लक्षण देखिन्छ। सदस्यता संख्या ६ हजार भन्दा उकालो नलागेको अवस्थामा "कब्जा गर्ने" कथित कांग्रेसी उमेदवारहरुलाई पराजित गर्ने सम्भावना रहन्छ। एन आर एन को सदस्यता लिने छद्मवेशी कम्युनिष्टहरुको संख्या अमेरिकामा करिब पैंतीस सयको हाराहारीमा छ।

 

सदस्यता संख्याले तीन हजारको सीमा नाघेपछि कथित पत्रकार संगठनका नेताहरु र उनका हिमायती फेसबुके पत्रकारहरुले सुनियोजित रुपमा परिचय पत्रको त्रास देखाएर आम समुदायलाई एन आर एन को गतिविधिबाट टाढा राख्न खोजेको स्पष्ट देखिन्छ। यी तथाकथित पत्रकारहरु कसको सेवा र स्वार्थमा जुटेका हुन्?

 

भांडहरुको हालीमुहाली भएको समाजमा असल व्यक्तिले जिते पनि उ या कृष्णप्रसाद भट्टराई हुन्छ, अथवा मनमोहन अधिकारी। अमेरिकाका कांग्रेसी र कम्युनिष्टहरुले यो कुरा जति छिटो बुझ्यो, समुदायका लागि उतिनै राम्रो। (पत्रकार राजेश मिश्रको यो लेख उनकै सम्पादनमा प्रशारित https://psjtv.com बाट साभार)       

ताजा खबर