नेवानिले किन रोज्यो जापानको ओसाका

२०७५ माघ २८ सोमबार १६:४४:०० मा प्रकाशित

काठमाडौं  । वाइडबडी जहाजलाई घाममा सुकाएर आयु घटाइरहेको आरोप लागेको नेपाल वायुसेवा निगम (नेवानि) ले अन्ततः जापान उडान भर्ने भइसकेको छ ।

महत्वाकांक्षी योजना सहित अर्बौं रुपैंयाँ लगानी गर्दै भित्र्याएको एयरबस कम्पनीको दुईवटा ए ३३०–२०० जहाज आएसँगै नेवानिले जापानको लागि उडान भर्ने योजना सार्वजनिक गरेको थियो ।

ढिलै भएपनि यहि फेब्रुअरी महिना देखि जापान उड्नको लागि नेपालले उडान संचालन अनुमति (एओसी) पाइसकेको कार्यकारी अध्यक्ष मदन खरेलले सरल पत्रिकालाई बताए । 

यसअघि टोकियोको नारिता मै उडान भर्ने दाबी गरिएको भएपनि ओसाका उड्ने योजना बाहिरिए लगत्तै नेवानि व्यवस्थापनलाई निजी स्वार्थमा अल्झेर गन्तव्य परिवर्तन गरेको आरोप लाग्दै आएको थियो ।

यो आरोपको खण्डन गर्दै कार्यकारी अध्यक्ष खरेलले नारिता एयरपोर्टको उडान अनुमति तत्काल नपाइने भएकोले ओसाका उडान गर्न लागिएको बताए । अन्य कुनै स्वार्थमा नरहेको भन्दै नेवानिको व्यवस्थापनले अहिले मितव्ययीता तथा आयआर्जनलाई प्रमुख लक्ष्य बनाएर काम गरिरहेको उनले बताएका छन् ।

ओसाका विमानस्थलमा उडान भर्दा नेवानिले विशेष फाइदाहरु पनि पाएको थाहा भएको छ । उक्त विमानस्थलमा नेपालले चाहेको समय (टाइम स्लट) पाउने भएकोले पनि नेपालले वाइडबडी जहाजहरु पूर्ण क्षमतामा संचालन गर्न सहज हुने भएको छ । 

त्यस्तै खरेलले जानकारी दिए अनुसार ओसाका विमानस्थलमा नेवानिले उडान भर्दा एक वर्षसम्मका लागि ल्याण्डीङ र पार्किङ शुल्क नलाग्ने सुविधा समेत मिलेको थाहा भएको छ । त्यसपछिका समयमा पनि उक्त शुल्कमा भारी छुट दिने प्रतिबद्धता सम्बन्धित निकायबाट आएकाले पनि ओसाका उडान मितव्ययीताको हिसाबले पनि उत्तम रहेको छ । 

नेवानिको अध्ययन अनुसार ओसाका र त्यस क्षेत्रको आसपासमा नेपाली समुदायको बाक्लो बसोवास रहेकोले पनि उक्त क्षेत्रमा उडान भर्दा नेवानिलाई यात्रुको कमि नहुने देखिएको छ । साथै ओसाकाबाट टोकियो लगायतका क्षेत्रमा पुग्न बुलेट ट्रेनको सुविधा रहेकोले पनि ओसाका यात्रुको प्राथमिकतामा पर्ने दाबी गरिएको छ ।  

वाइडवडी जहाजहरुको संचालन खर्च अधिक भएको र कम्तिमा १४–१५ घण्टा दैनिक उडान समय नपु¥याएमा निगमलाई आर्थिक नोक्सानी पर्ने बुझिएको छ । अनुभवको आधारमा पनि निगमलाई ओसाका उडान सहज हुने भन्दै खरेल भन्छन् , ‘पहिले नै ओसाकामा उडान भरेकाले हामीसँग अनुभव पनि छ । त्यस्तै उडान अनुमतिको लागि जापान नागरिक उड्डयन ब्यूरोसँग नयाँ स्वीकृती लिनुको सट्टा पुरानो अनुमतिलाई पुनः सुचारु गराउन सजिलो हुन्छ । ’

ट्राभल र टिकेटिङ व्यवसायीहरु पनि उडान नै नगर्नु भन्दा ओसाकाको लागि निगम उड्दा नेवानिको फ्लाइट नेपाली यात्रुहरुको छनौटमा पर्ने दाबी गरिरहेका छन् । 

अहिले जापानसम्मको लागि सिधा उडान भर्ने कुनै एयरलायन्स छैन । कम्तिमा पनि हङकङ, थाइल्याण्ड, सिंगापुर, ग्वाङझाउ र दिल्लीमा ट्रान्जिट नबनाई जापानका शहर पुग्न सम्भव नभएको देखिएको छ । यस्तोमा नेवानिले ओसाकासम्म उडान भर्दा सिधा उडान मार्फत् यात्रुको खर्च र समयको बचत हुने थाहा भएको छ । 

त्यस्तै निगमले भविष्यमा जापानमा आन्तरिक उडान भर्ने एयरलायन्ससँग सहकार्य गरि जापानको फुकुओका, नारिता, नागोया लगायतका अन्य शहरहरुमा पनि पुग्न सक्ने सम्भावना रहेको पनि निगमले जनाएको छ । उडान गरेको छोटो समयमै नेवानिले मुनाफा आर्जन गर्न सक्ने सम्भावना प्रशस्त भएकाले पनि उसको पहिलो रोजाइमा ओसाका परेको बताईएको छ । 

ताजा खबर