संस्कृत, वेद र योग विधामा अनुसन्धान हुने 

२०७५ माघ २४ बिहीबार १६:२८:०० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन-अनुसन्धान गर्ने सहमति भएको छ । 

त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न पवित्र काम भएको बताउँदै विद्वानहरुको नाममा स्थापित सङ्घसंस्थाले विश्वविद्यालयका केन्द्रीय विभागसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्ने बताए । 

स्मृति संस्थाका अध्यक्ष डा प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्वान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुककै लागि गर्वको विषय रहेको बताए । उनले विभागको नाममा चार हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

सम्झौतापत्रमा विभागका प्रमुख प्रा डा नारायणप्रसाद गौतम र कुलचन्द्र गौतम स्मृति संस्थाका अध्यक्ष डा गौतमले हस्ताक्षर गरेका थिए । 
 
 

ताजा खबर