सिनेमा हलमा भेटिए अख्तियार प्रमुख 

२०७५ माघ २३ बुधबार १५:४३:०० मा प्रकाशित

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’लाई ‘अख्तियारको उद्देश्यलाई बोकेको चलचित्र’को उपमा दिएका छन् । घिमिरेले मंगलबार पुलचोकस्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि ‘अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र’ भनी कलाकारहरुलाई प्रोत्साहित गरेका हुन् ।

प्रमुख आयुक्तले भने, ‘चलचित्र सन्देशमूलक छ । चलचित्र हरेक नेपालीले हेर्नुपर्ने किसिमको छ । अख्तियारको मूल मर्मलाई नै बोकेर चलचित्र बनेको रहेछ । भ्रष्टाचारका बिषयमा मौन रहनु झन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्नेकाम यो चलचित्रले गरेको छ ।’ चलचित्रलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालले पनि हेरेका थिए ।
 
शुक्रबार रिलिज भएको रामशरण पाठक निर्देशित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ,  उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ ।  

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्माता हुन् ।
 

ताजा खबर