महानिरीक्षक खनालले सुन तस्करीका अभियुक्त भेटेका थिए ?

२०७५ माघ २२ मंगलबार १५:१५:०० मा प्रकाशित

 दुबई । प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युएई गएका बेला सुन तस्करका आरोपितसँगै भेट गरेको समाचार अहिले चर्चाको विषय बनेको छ । खनालले  दुबईमा सुन तस्करसँगै पार्टीमा भाग लिएको र सँगै ‘रिट्रिट’ गएको कुरा पनि चर्चाको विषय बनेको छ । 

केही सत्य र केही भ्रामात्मक समाचारहरू बजारमा छाएका छन्। सत्य यस मानेमा छन् कि महानिरीक्षक युएई आएका थिए, ईन्टरपोलको ८७औ महासभामा भाग लिन। अर्को सत्य के पनि हो भने उनी एनआरएन युएईको वार्षिक पार्षद भेलामा पनि सहभागी भए। 

महानिरीक्षक खनालसँगै सिआइबीका निर्देशक डीआईजी नीरज शाही, नेपाल प्रहरीको इन्टर पोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ साथमा थिए। तर यहीबीचमा खनालले उनले दुबईमा एनआरएन युएईको कार्यक्रममा सुन तस्कर र हुण्डीवालाहरुसँग भेट गरे भन्ने समाचार नेपालमा भाइरल भइसकेको छ । 

सत्य समाचारको बारेमा केही लेखौँ।   

‘सामूहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गत शुक्रवार सम्पन्न एनआरएन एयुएईको कार्यक्रममा नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलको प्रमुख आतिथ्यता थियो। समाचारहरूमा भनिए जस्तो खनाल प्रमुख अतिथि नभई कार्यक्रमको विशेष अतिथिको रूपमा उपस्थित भएका थिए। 

त्यसै गरी कार्यक्रममा नेपाली दूतावासका श्रम काउन्सेलर भेषराज कार्की, एनआरएनए आईसीसी उपाध्यक्ष कुमार पन्त, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसीसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, आईसीसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयदलगायतको विशेष उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँलले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल योजना सफल बनाउन प्रदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सहयोग रहने विश्वास गरेको बताए  । दूतावास श्रमिक मैत्री बन्ने र आगामी सोमबारदेखि युएईका सातवटै प्रान्तमा रहेका केन्द्रीय जेलहरूको भ्रमण गरिने जानकारीसमेत गराए।

कार्यक्रमका विशेष अतिथि कुमार पन्तले गैर आवासीय नेपाली सङ्घ र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनी निर्माण हुने र त्यसले देश विकासमा लगानी गर्ने बताए। उक्त कम्पनीमा ठुला व्यवसायी देखी साना आयस्रोत भएका गैर आवासीय नेपालीहरू लगानी गर्न सक्ने बताए।

कार्यक्रममा मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, आईसिसी सदस्य ठाकुर प्रसाद ढुङ्गाना, आइसिसी सदस्य मनोज श्रेष्ठ, नेपाली  समाज युएईका अध्यक्षचन्द्र प्रसाद सापकोटा, एनआरएन साउदीका राजु सैयद लगायतले शुभकामना मन्तव्य राखेका थिए। आईसीसी सदस्य ढुङ्गाना ३३ केजी सुन काण्डका आरोपित समेत हुन्। जिल्ला अदालत मोरङमा दोस्रो पटक पूरक अभियोग दर्ता गर्दा ढुङ्गानालार्इ पनि प्रतिवादी बनाइएको थियो। उनी अदालतमा उपस्थित भएर १० लाख धरौटी तिरेर छुटेपछि दुबर्इ पुगेका हुन्।

अहिलेसम्म उनी प्रत्यक्षरूपमा सुन तस्करीमा संलग्न भएको देखिएको छैन । उनका व्यवसायिक साझेदार बालकृष्ण खड्का र उनीबीचको  कारोबार नै उनलाई आरोप लगाउने आधार बनेको छ। खड्का र सुन काण्डका मुख्य नाइके मानिएको गोरेबीच पटक पटक लेनदेन भएको देखिएपछि खड्कालाई अनुसन्धानको दायरामा ल्याइएको थियो। हाल उनीहरू व्यापारिक साझेदार नरहे पनि उनीहरुबीच लेनदेन बाँकी रहेकाले कारोबार देखिएको ढुङ्गानाको दाबी छ। 

शुक्रवारको कार्यक्रममा महानिरीक्षक खनाल ढिला गरी पुगेका थिए। उनी पुग्दा नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा बोलिरहेका थिए। सापकोटापछि क्रमशः विजनेस काउन्सिल युएईका डाक्टर असिफअली सिद्धिकी, मध्यपूर्व उपसंयोजक गोपाल कँडेल र आईसीसी उपाध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए। पन्तपछि महानिरीक्षक खनालले सभालाई सम्बोधन गरेका थिए। 

खनालले सभामा बोल्दै तस्करहरूलाई सचिन आग्रह गरेका थिए। उनले तस्करका र सुटिङका दिन सकिएकोले नसच्चिए कारबाहीको भागीदार बन्न चेतावनी पनि दिए। महानिरीक्षक खनालले समग्र एनआरएनले नेपालप्रति देखाएको भावना, सहयोग, परदेशमा नेपालको प्रतिष्ठा बढाएको र रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग गरेको  भन्दै प्रशंसा गरेका थिए।

‘नेपाल सरकारले अहिले लिएको सुखी नेपाली समृद्ध नेपालको भावनालाई पुरा गर्न प्रदेशमा भएका नेपालीहरूको सीप क्षमताको आवश्यकता छ। देशमा लगानीको वातावरण रहेको छ,  लगानीका सुरक्षाको लागि सरकारले ठोस कदम चालेको छ', उनले भने, 'नेपाल प्रहरीलाई हिजो हेर्ने दृष्टिकोण हटाएर प्रहरीलाई सहयोग गर्नुहोस्। भ्रष्टाचार, महिला हिंसा, ठगी दलाली, अपराधहरूमा नेपाल प्रहरी सचेत रहेको छ, नेपालमा अब त्यो सम्भव छैन ।’

कार्यक्रमको अतिथि दीर्घमा उनी दायाँतिर एनआरएन अध्यक्ष रमेश श्रेष्ठ र कार्यवाहक राजदूत सागर फुयाँलसँगै बसेका थिए भने बायाँतर्फ श्रीमती खनाल थिइन्। अतिथि दीर्घको अर्को ‘रो’मा भने एसपी देउती गुरुङ, नेपाल प्रहरीको इन्टर पोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, सिआइबीका निर्देशक डीआईजी नीरज शाही साथमा थिए र उनीहरूसँगै अर्को कुर्सीमा ढुङ्गाना थिए।

महानिरीक्षक खनाल कार्यक्रम स्थलमा पुग्नुअघि नै ढुङ्गानाले बोलिसकेका थिए। जब महानिरीक्षक खनालले बोलिसके उनी कार्यक्रमस्थलबाट बाहिरिए। जम्माजम्मी कार्यक्रम अवधिभर उनी करिब एक घण्टा हलमा बिताए बोलिसकेर तुरुन्त बाहिरिए।

त्यसको दुई दिनअघि बुधवार एनआरएनयुएई र अन्य व्यक्तिहरूले महानिरीक्षक खनालसहित प्रहरी अधिकारीलाई रसअल खैमहको पहाडमा रिट्रिट पार्टी दिएका थिए। उक्त पार्टीमा म आफू स्वयम् पनि उपस्थित थिएँ र समाजका गन्यमान्य अन्य व्यक्तिहरू पनि। पार्टीमा खानपिनको फोटो नखिच्न भनिएको सत्य हो। आयोजकका अनुसार उनको सम्मानमा त्यो नितान्त व्यक्तिगत पार्टी थियो। सामान्य खानपिन चलिरहेकै थियो। पार्टीमा केही ढिला गरी पुगे ढुङ्गाना। उनी सरासर महानिरीक्षकको पछाडिपट्टि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको छेउमा गएर बसे। 

एनआरएन युएईका श्रेष्ठ छेउमा म बसेको थिएँ। म महानिरीक्षक खनालसँग विविध विषयमा गफिँदै थिएँ। ढुङ्गाना बेलाबेला उठ्दै फेरि आएर बस्दै गरे। उनी ३३ केजी सुन तस्करीका आरोपित त हुन् । अदालतमा मुद्दा चलिरहेको छ, जबसम्म अदालतले क्लिन चिट दिँदैन, तबसम्म उनी आरोपित नै रहन्छन्। दोषी करार गरे उनी तस्कर कहलिन्छन्। 

ढुङ्गाना पुगेदेखि पार्टी सकिउन्जेल म त्यही ठाउँमा छु। महानिरीक्षक र ढुङ्गानाले गोप्य कानेखुसी गरेको पनि देखिएन। महानिरीक्षक खनाल उक्त स्थानबाट एक पटक मात्र उठे, त्यो पनि शौचालय जान। छोटो समयमा पनि ढुङ्गानाले खनाललाई  भेटेनन्। उनी त्यहीँ थिए। उक्त पार्टीमा समाचारमा भनेजस्तो अर्का व्यक्ति दीपक मलहोत्रालाई पनि मैले देखिनँ। 

यो बाहेक समाचारमा उल्लेख गरिएकाहरूले कतै होटेल वा अन्य स्थानमा गएर गोप्य भेट गरे अर्कै कुरा हो, मलाई जानकारीमा छैन। तर कार्यक्रमस्थलमा जसरी तस्करहरूसँग महानिरीक्षकको भेटे भन्ने हल्ला सत्य होइन। 

कार्यक्रम हलमा वा रिट्रिट पार्टीमा महानिरीक्षक खनाल वा उनको टिम कसैले पनि कसैसँग व्यक्तिगत भेट गरेका थिएनन्। तर आफ्ना कोही पनि सदस्य गम्भीर आरोपमा मुछिएर अदालतमा मुद्दा दायर हुन्छ भने उनीहरूलाई एनअाएनले किन निलम्बन गर्दैनन् ? आन्तरिक छानबिन समेत गरिँदैन। विवादास्पद देखिएपछि उनीरूलाई औपचारिक कार्यक्रममा अतिथिको रूपमा निम्ता गरिनु हुँदैनथ्यो। अनौपचारिक भेटघाटमा पनि अवसर दिनु हुँदैनथ्यो । नेपालबाट विदेश भ्रमण गर्न जाने भीआईपीहरुले पनि यस्ता कुरामा ध्यान दिनु जरूरी भएको छ । (अन्नपूर्ण पोष्टले मंसीर १० गते प्रकाशित गरेको समाचार)

ताजा खबर