यी हुन् नेपालको व्यापार घाटा बढाउने विलासी वस्तु...

२०७५ माघ २२ मंगलबार १०:१६:०० मा प्रकाशित

काठमाडौ,माघ । समृद्ध नेपालुको लक्ष्य लिएको दुई तिहाइ बहुमतको सरकारले हरेक दिन बढिरहेको व्यापार घाटा नियन्त्रण गर्न नयाँ नीति लिनु पर्ने सुझाव विज्ञहरूले दिएका छन्। अर्थशास्त्रीहरूले निश्चित विलासी वस्तुको आयातमै रोक लगाउन ढिलो गर्न नहुने बताएका छन्।
चालू आर्थिक वर्षको पाँच महिनामा व्यापार घाटा साढे पाँच खर्ब रुपैयाँ नाघेपछि उनीहरुको त्यस्तो सुझाव दिएका हुन्। निर्यातको तुलनामा आयातको आकार निकै बढ्दै गएपछि राष्ट्र ब्याङ्कले विदेशी मुद्रा सटही लगायतमा कडाइ गर्न थालेको छ।

कसरी बढ्दैछ व्यापार घाटा ?

अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ खर्ब १८ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो। यस वर्षको सोहि अवधिमा त्यो बढेर ५ खर्ब ६९ अर्ब पुगेको छ। छिमेकी मुलुकले विलासी वस्तुमा रोक लगाएको उदाहरण दिँदै नेपालले पनि त्यसको अनुसरण गर्नुपर्ने बताउँछन् अर्थशास्त्री केशव आचार्य। उनले भने,‘श्रीलंका र भारतले व्यापार घाटा कम गर्न सुन र मोटरकारको आयातमा बन्देज लगाइदिएका थिए। नेपालले पनि त्यसै गर्नु पर्दथ्यो ।’

नेपाल राष्ट्र ब्याङ्कका अनुसार पेट्रोलियम पदार्थ र मोटर गाडीदेखि दैनिक उपभोग्य चामलको आयातसम्म बढिरहेको छ। पेट्रोलियम पदार्थको आयात गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा यो आवको पाँच महिनामा २५ अर्ब रुपैयाँले बढेको छ।

ब्यापार घाटा बढाउने विलासी सामान के के होलान् ?

मोटर गाडीको आयात पनि बढिरहेको बताइन्छ। त्यतिमात्र कहाँ हो र ? आयात हुने र परनिर्भरता बढाउने सामानको सूचीमा दैनिक खाइने चामल पनि थपिएको छ। कुनै समय थियो जतिबेला नेपाल धान र चामलमा आत्मनिर्भर थियो। अब समय बदलियो। महङ्गो विदेशी सामान खाने चलन बढ्दो छ। त्यसले आयात पनि बढेको छ। सो ब्याङ्कका अनुसार चामलको आयातमा ३९ प्रतिशतले वृद्धि भएको छ र ४८ अर्ब रुपैयाँ भन्दा बढिको मोटर गाडी भित्रिएको उनले बताए।

यसको तुलनामा जम्मा ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात भएका कारण चालू आर्थिक वर्षको पाँच महिनामा देशको सोधनान्तर घाटा करिब ८५ अर्ब रुपैयाँ पुगेको छ। तर अझै आत्तिनु पर्ने अवस्था नरहेको राष्ट्र व्याङ्कका एक अधिकारी बताउँछन्।

विलासी वस्तुको आयात रोक्ने विषय समय समयमा उठ्ने गरेको छ। तर त्यस्ता वस्तुप्रति निर्णयकर्ताहरूकै मोह रहेको र व्यवसायीहरू हावी भएका कारण सरकारले यस्तो निर्णय लिन नसकेको कतिपय आलोचकहरूको भनाइ पाइन्छ। तर नेपालमा उत्पादन नहुने विलासी वस्तुमा रोक लगाउन व्यवहारिक कठीनाइ देख्नेहरूले खुला बजार नीति र कतिपय मित्र राष्ट्रहरूको स्वार्थ पनि त्यसमा बाधक भएको ठान्छन्।(बिबिसीबाट)

ताजा खबर