नेपाल प्रहरी घोप्ट्याउँछ र फाँड्छ

२०७५ माघ २१ सोमबार १२:३८:०० मा प्रकाशित

नेपाल प्रहरी गाँजा फाँड्छ । रक्सी घोप्ट्याउँछ । ससाना पोका व्यापारी समात्छ । बूढी बाख्री र उसका छोरा बोकाको मासु व्यापारीसँग सितन माग्छ अनि विदेशी मदिरासँग खान्छ । यही नै हो त नेपाल प्रहरीको काम अनि जिम्मेवारी ।

नेपाल प्रहरी घरेलु रक्सी देखिसहँदैन । देख्यो कि घैलाका घैला,जर्किनका जर्किन अनि गाग्रीका गाग्री रक्सी लाईन लागेर घोप्ट्याउँछ । पत्रकार रक्सी घोप्ट्याएको फोटो र भिडियो खिच्छन् र जोडतोडका साथ समाचार प्रशारण गर्छन् । नेपाल प्रहरी उनीहरुको खातिरदारी गर्छ र आफ्नो बहादुरीको बखान गराउँछ । के यही नै हो त नेपाल प्रहरीको पुरुषार्थ । मानौं देशका सबैभन्दा ठूला दुश्मन भनेका घरेलु रक्सी र गाँजा हुन् जसलाई निमिट्यान्न नपारी सुखै छैन । नेपाल प्रहरीको सबैभन्दा ठूलो दायित्व भनेको घोप्ट्यानु र फाँड्नु मात्रै हो त ?

कुनै चौकी,कुनै जिल्ला,कुनै अञ्चल र कुनै प्रदेशमा नयाँ हाकिम सरुवा भएर पुगेको छ भने थाहा हुन्छ अब यहाँ रक्सी घोप्ट्याउने कार्यक्रम आयोजना हुँदैछ । अझ गाँजा क्षेत्र परेछ भने गाँजा फाँडिनेछ । रक्सी घोप्ट्याउने र गाँजा फाँड्ने कार्यक्रम सम्पन्न गरिसकेपछि नेपाल प्रहरी शान्त मुद्रामा बस्ने गर्छ । शान्तै मुद्रामा उ तश्कर,काला धन्दावाला र राजनीतिक आवरणमा राज गरिरहेका आपराधिक पृष्ठभूमिका व्यक्ति र समूहसँग बसाउठा गर्छ । शान्ति सुरक्षा अमनचयन कायम गरेको सन्देश मिडियाबाट चिफ साहेबको कानमा भर्छ अनि सरुवा  हुँदा भएको लगानी जोखिम मुक्त बनाउने खेति गर्छ । रक्सी घोप्ट्याउँछ,गाँजा फाँड्छ र निरुपाय नागरिकको पेटमा बुट बजार्छ । नेपाल प्रहरी जनताको सेवामा यसरी तन मन र ज्यानले सेवारत छ । आम नागरिकले इतिहासदेखि नेपाल प्रहरीका बारेमा यस्तै दृश्य र कथा देख्दै सुन्दै आएका छन् ।

नेपाल प्रहरीले ठूल्ठूला आपराधिक घटनाको अनुसन्धान पनि गरेको छ । अपराधी समातेको पनि छ । इन्काउन्टरमा धेरै अपराधीको ज्यान पनि लिएको छ । शान्ति सुरक्षा कायम गर्न योगदान पनि दिएकै छ । उसका नराम्रा काम मात्र छैनन् धेरै चर्चा गर्न योग्य काम पनि भएका छन् । तर ससाना नकामले ठूला काम ओझेलमा परेका छन् । यो अरुले ओझेलमा पारिदिएका होईनन्,यो उ आफैंले स्वयंका कर्मले गर्दा ओझेलमा परेका  हुन् ।

आम मानिसले नेपाल प्रहरीप्रति नकारात्मक धारणा बनाएका छन् । यसको खास कारण छ । चर्चित घटनाको पटाक्षेप गर्न नसक्नु या त्यस्ता घटनाको सही अनुसन्धान गर्नुभन्दा सत्तालाई त्यसको दोषबाट कसैगरी जोगाउनु नेपाल प्रहरीको कर्तव्य जस्तो देखिँदा आम मानिसले उसकाप्रति कसरी सकारात्मक धारणा बनाउन सक्लान्  त । यो प्रश्नको जवाफ दिन नेपाल प्रहरी असफल रहँदै आएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको चर्चित घटनाले नेपाल प्रहरीलाई प्रश्नको घेरामा ठिंगुर्याई दिएको छ । त्यस घटनाले सत्तासीन शक्तिलाई त जवाफहीन बनाईसकेकै छ । साथै नेपाल प्रहरीलाई समेत हाँसोको पात्रमा रुपान्तरण गरिदिएको छ । यसको सही कारण के हो त ? सही जवाफ पनि नेपाल प्रहरीलाई थाहा हुनुपर्छ । तर उ सत्यको पक्षमा बोल्न असमर्थ छ ! यसका साथै देशका विभिन्न भागमा दिनहुँजसो बलात्कार र हत्याका घटना भैरहेका छन् । अरु आपराधिक घटनाको लेखाजोखा छँदैछ ।

यस्ता घटनाको अनुसन्धान र दोषीमाथि कानूनी कार्वाही गर्न नेपाल प्रहरी असमर्थ देखिन थालेको छ । राजनीतिक दवावका सामु उ निरीह छ भन्ने कुरा बुझ्न सकिन्छ । प्रदेश सरकार बनेपछि त झन् दवावको मात्रा कैयौं गुना बढेको छ भन्ने कुरा पनि नौलो रहेन । तर के नेपाल प्रहरी सधैं यसैगरी शान्ति सेवा सुरक्षणम् गरिरहन्छ त ? आममानिसका ओठमा झुण्डिएको प्रश्न हो यो । 

एक दशक लामो हिंसात्मक द्वन्दमा होस् कि अन्तर्राष्ट्रिय शान्ति मिसनमा होस् नेपाल प्रहरीले पुर्याएको योगदान अरु कुनै देशको तुलनामा कम मानिँदैन । यो खुशीको पक्ष पनि नभएको होईन । यो संगठनलाई नालायक बनाउनमा सत्तामा पुगेका प्राय सबै राजनीतिक दलले निन्दनीय हस्तक्षेप गरेको कुरालाई पनि चटक्कै बिर्सन मिल्दैन । व्यावसायिक स्वतन्त्रताको उपभोग गर्न नपाएर पनि यो संगठनले ससाना कामबाट बद्नामी कमाएर खुम्चिनु परेको देखिन्छ । त्यही संगठनको आन्तरिक सत्ता राजनीतिले आमन्त्रण गर्ने राजनीतिक हस्तक्षेपले सबैभन्दा बढी यसको साख र छवि व्यवसायिक बन्न नपाएको सत्यलाई नेपाल प्रहरीको नेतृत्व र सरकारको गृह प्रशासनले बुझेको हुनुपर्छ । बुझेर पनि बुझ पचाएकाले देशको एउटा पुरानो र महत्वपूर्ण सुरक्षा संगठन आम नागरिकको मनमा सम्मानजनक स्थान बनाउन असमर्थ देखिएको छ । यसमा सम्बन्धित सबैको ध्यान पुग्न आवश्यक छ ।
 

ताजा खबर