त्रिभुवन विमानस्थललाई हेप्यो हिमालय एयरलायन्सले, बक्यौता तिर्न आनकानी

२०७५ माघ २० आइतबार १२:२५:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विमानस्थलको प्रयोग गरेबापतको सेवा शुल्क तिर्न निजी कम्पनी हिमालय एयरलायन्सले आनकानी गरिरहेको थाहा भएको छ । 
नेपाल र चीनको संयुक्त लगानीमा सुरु गरिएको हिमालयले आकर्षक गन्तव्यहरुमा उडान गर्दै प्रशस्तै मुनाफा कमाइरहेपनि विमानस्थलको बक्यौता तिर्न नखोजेपछि विमास्थलले पत्र नै पठाउनु परेको छ । 

अबको एक महिनाभित्र बक्यौता नबुझाएमा उडान नै रोक्ने भन्दै विमानस्थलले पत्र पठाएपछि हिमालय एयरलायन्सका व्यवस्थापन झस्केको बताइएको छ । ठूलो रकम तिर्न बाँकी भएपनि पुसको अन्तिम साता जम्मा ५० लाख मात्र भुक्तानी गरेको हिमालयले अरु रकम तिर्न केहि समय माग गरेको थियो ।

तीनवटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न थालेको हिमालय पछिल्लो समय चरम नाफामुखी भएको आरोप पनि लाग्ने गरेको छ । युएईका एयरलायन्सहरु एयर अरेबिया, फ्लाई दुबई र इत्तिहात एयरवेजहरुले राजनैतिक कारण देखाइ कतारको दोहा उडान भर्न छोडेयता दोहाको लागि दैनिक २ वटासम्म उडान भरिरहेको हिमालयले यस क्षेत्रमा ठूलो मुनाफा गर्न सफल भएको थाहा भएको छ । 

यात्रु सेवामा कमजोर रहेको आरोप लागेको हिमालयले यसअघि सुरु गरेको श्रीलंकाको कोलम्बो र म्यानमारको याङगुनलागि सुरु गरेको उडान केहि समयमै बन्द गरेको छ । केहि समय यात्रु कम हुनासाथ उक्त क्षेत्र छोडेको हिमालयले अहिले क्वालालुम्पुर, दोहा, दम्माम, दुबई र चङकीङको लागि उडान भरिरहेको छ । 

पछिल्लो समय नेपाल एयरलायन्स नै उड्ने क्षेत्रमा मात्र उडान भर्दै सीमित यात्रुमा अनावश्यक प्रतिस्पर्धा गरेको आरोप पनि हिमालयलाई लाग्ने गरेको छ । विशेषगरी युएईको लागि सुरुमा अल–मोक्तम एयरपोर्टमा उडान सुरु गरेको हिमालयले दुबईको लागि उडान भर्न थालेपछि पनि यस्तो आरोप लाग्न थालेको जानकारहरु बताइरहेका छन् ।

विदेशी एयरलायन्सहरुले प्रशस्त मुनाफा कमाइरहेका ओमान, बहराइन, कुवेत जस्ता क्षेत्रमा उडान भर्न भन्दा युएई, कतार र मलेशियामा केन्द्रित रहेको हिमालयले दिल्ली र बैंककमा पनि उडान भर्न खोजिरहेको बुझिएको छ । 

राष्ट्रिय ध्वजाबाहकसँग अनावश्यक प्रतिस्पर्धा गर्दा दुबै पक्षलाई फाइदा नहुने हिमालयले बुझ्न सकेमा दुबै एयरलायन्सलाई दीर्घकालमा फाइदा हुने जानकारहरु बताइरहेका छन् ।

ताजा खबर