सन्दर्भ माघ १९: शाही ‘कू’ विरुद्ध उभिएको क्षण

२०७५ माघ १९ शनिबार १२:३७:०० मा प्रकाशित

दरबार हत्याकाण्डले सिर्जना गरेको रिक्तता, जननिर्वाचित संसद्लाई विघटन गरी सिर्जना गरिएको रिक्तता, लोकतान्त्रिक आन्दोलनको मूल प्रवाह नेपाली काँग्रेसलाई विभाजन गरी खडा गरिएको रिक्तता, पटक पटक चुनावको मिति सार्ने र प्रधानमन्त्री फर्ने घातक खेल, संकटकाल लगाएर सेनालाई विद्रोह दमनका नाममा सेनालाई परिचालन गरी सर्वत्र छाएको उन्माद अनी माओवादी जनयुद्धको नाममा चलिरहेको विध्वंशको शृंखला ।  कति भयावह र कहाली लाग्दो यथार्थता भोगिरहेको नेपाल । यस्तो पृष्ठभूमिमा राजा ज्ञानेन्द्रको महत्वकांक्षाले उत्पन्न गरेको अस्वाभाविक र अनपेक्षित माघ १९ को चिसो बिहानी । यतिबेला सम्झँदा पनि अत्यास लाग्दो रहेछ । शब्दहरुमा त्यो क्षणको वर्णन आफैँमा कठिन तर, रोमाञ्चक अनुभूति हुँदो रहेछ । 

माघ १९, २०६१ को त्यो चिसो बिहान एकाएक सैन्य चहलपहलको कब्जामा प¥यो । मानिसहरु अलमलिएका थिए । राजाले फेरि प्रधानन्त्री फेर्ने र मन्त्री बनाउने शृंखलामा केही अर्को नयाँ कदम चाल्दैछन् कि भन्ने अनुमानमा अलमलिएको नागरिक पंक्ति त्यतिबेला झस्कियो, राजाले रेडियो र टिभी प्रशारणमार्फत सत्ता सबै आफैँले सम्हालेको घोषणा गरे र केही दिन कफ्र्यु लाग्ने सूचना दिए । राजाको घोषणा सुन्दासुन्दै नागरिकको संवाद तन्तु टेलिफोन अवरुद्ध भएपछि मानिसहरुको मुटुमा चिसो पस्यो । शहरमा सन्नाटा छायो । सडकमा सेनाको कब्जा देखियो । 

माघ १९ को त्यो घटना हुँदा म कौसलटार, मध्यपुरस्थित आफ्नै घरमा थिएँ । बिहान २–४ जना मित्रहरुसँग टेलिफोन संवाद हुँदा केही कडा अवस्था सिर्जना हुने संकेत मिलेको थियो । केही राजनीतिक कार्यकर्ता साथीहरुको घरमा छापा मारिएको र केही गिरफ्तार पनि भइसकेका सूचना मिलेको थियो । तर, जे घोषणा म टिमीमा हेर्दै थिएँ, त्यस्तै होला भन्ने अनुमान चाहिँ गरिएको थिएन । राजाको घोषणा सुन्दै जाँदा जब मोबाइलमार्फत साथीहरुसँग संवाद गर्न खोजियो– टेलिफोन त अवरुद्ध भइसकेछ । झ्यालबाट बाहिर हेर्दा घर अगाडिको चौर र गौँडामा सुरक्षाकर्मीको चहल पहल र निगरानी देखियो । “अवस्था अस्वाभाविक छ, म सुरक्षित हुने प्रयास गर्छु है’ भनी श्रीमतीसँग भनेर घर पछाडिबाट म  निस्किएँ । 

के गर्ने ? कता जाने ? के भएको हो ? के हुने हो ? कस्लाई भेट्ने ? एकाएक शून्यको अवस्था अनुभूति भयो । हनुमन्ते खोलाको फाँट, मनहरा खोलाको किनारा र बागमती खोला छेउको बाटो समातेर म पत्रकार महासङ्घको कार्यालय सिनामंगल पुग्ने प्रयासमा लागें । त्यहाँ पुग्दा सञ्चारग्राम क्षेत्र कडा सुरक्षा निगरानीको बीचमा थियो । फोन थिएन, इन्टरनेट थिएन, सार्वजनिक यातायात थिएन, सन्नाटा थियो । केही पत्रकार साथीहरु सुरक्षित बाटो खोज्दै मोटरसाइकलमा आइपुग्थे र सञ्चार माध्यमका कार्यालयहरुमा सैनिक पोशाकका सम्पादकहरु उपस्थित भइसकेको जानकारी दिन्थे । उनीहरुका धम्कीपूर्ण आदेशका कथा सुनाउथे । शहरमा को कहाँ छ, को–को गिरफ्तारीमा परे, कसलाई कहाँ लगियो, कुनै सूचना पाउने अवस्था थिएन । मानिसहरुका मुख बन्द थिए । अनुहार गम्भीर थिए । संवाद थिएन । विस्तारै कार्यालयमा प्रहरी चहल पहल बढ्यो । कोठाभित्रै हस्तक्षेपको सम्भावना देखियो । त्यहाँ बस्न नसक्ने स्थितिको अनुगमन गर्न सक्ने वातावरण भएन । घर जानसम्ने स्थिति पनि भएन । म त्यतै मित्रहरुको सुरक्षित डेरातर्फ लागें । त्यो दिन अन्योल र अकर्मण्यतामा नै बित्यो । के भन्ने यो घटनामा कुनै निष्कर्षमा पुग्न सकिएन । भन्ने र बोल्ने माध्यम र ठाउँ पनि थिएन । सुनाउने व्यक्ति पनि थिएनन् । राति त्यति निन्द्रा पनि लागेन । मस्तिष्कमा राजाको कदमबारे पत्रकार महासंघको धारणा के हुनसक्छ भन्ने कुरा मात्रै खेलिरह्यो ।

मध्यराति मैले एउटा धारणा बनाएको महसुश गरें । मनले निष्कर्ष दियो, ‘अब बाँकी के नै छ र ? संविधान, विधि, प्रक्रिया, फरक मत, विरोधको आवाज, कतै पनि छैन । न संसद छ, न अदालतले नै केही गर्न सक्ने अवस्था छ । न दलको अस्तित्व छ । न बोल्न पाइन्छ, न  लेख्न पाइन्छ, न भेला हुन पाइन्छ, यो अवस्था भनेको त सैन्य शासन नै हो, संविधान र नागरिक अधिकारविरुद्ध राजाको धोका हो, यसलाई शाही ‘कु’ नै भन्नुपर्छ ।” 

यसपछि मैले महासंघको धारणा यही हुनुपर्छ भन्ने ठानें । उठे र वक्तव्यको मस्यौदा गरें । ४–५ लाइनको सो मस्यौदा ४–५ पटक आफैँले पढें । केही शब्द थपघट गरें । त्यति गरेपछि मेरो मन हल्का भयो, सुतें । बिहान फेरि त्यसैमा घोत्लिएँ । अरु काम थिएन । पत्रपत्रिका प्रकाशन हुन सकेका थिएनन् । एफएम रेडियो प्रशारणहरु प्रायः  गीत र धुन प्रवाहमा सीमित थिए । सञ्चार सम्पर्क त थिएन नै यातायात सेवा पनि बिथोलिएका थिए । सुरक्षाकर्मीको नियन्त्रण र निगरानी नभएको कुनै ठाउँ र कार्यालय थिएन । अन्तर्राष्ट्रिय रेडियो सेवाहरुले दिएको नेपालबारेको घटना विवरण जुन आफैँमा सूचना र तथ्यको अभावमा चित्रण गरिएको अन्योलपूर्ण अवस्थाको जानकारी मात्रै मानिसहरुले पाएका थिए । सशस्त्र द्वन्द्व युद्ध लडिरहेको माओवादीले भूमिगत क्षेत्रबाट प्रशारण गरेको एफएमहरु सुन्न सक्ने ठाउँहरुमा उनीहरुका स्रोतले भेट्टाएका र उनीहरुको धारणा अनुरुपका सूचना भने मानिसले पाएका थिए ।

दोस्रो दिन माघ २० मा  फेरि पत्रकार महासंघको कार्यालयमा पुगें ।  मोटरसाइकलमा मूल सडक छोडेर भित्रभित्रै सञ्चारग्राम रहेको कार्यालयमा छिरियो । त्यहाँ प्रत्यक्ष हस्तक्षेप थिएन तर, सादा पोशाकका अपरिचित अनुहारको निगरानी बाक्लै थियो । केही समयमा केन्द्रीय समितिमा रहेका केही साथीहरु जम्मा भयौँ । के गर्ने भन्ने हामी सबै अन्योल मै थियौँ । अवस्थाको भयावहताले हामी रनभूल्लमा परेका थियौँ । तै पनि केही न केही धारणा त बनाउने र सकेसम्म सार्वजनिक  गर्नुपर्ने भन्नेमा हामी पुग्यौँ । 

मैले मेरो कार्यकक्षमा जम्मा भएका केही साथीलाई राति गरेको मस्यौदा सुनाएँ । कार्यसमितिका मुख्य पदाधिकारीहरु र केही केन्द्रीय सदस्य साथीहरुको सुझाव अनुसार मस्यौदालाई अन्तिम रुप दिइयो । सुरक्षित रुपमा टाइप गरियो । २०–२५ प्रति प्रिन्ट गरियो । त्यहाँ आइपुग्नुभएका मिडियाका संवाददाता साथीहरुलाई दिइयो । अन्तर्राष्ट्रिय मिडियाका केही संवाददाताहरुकोमा सुरक्षित पु¥याउने प्रयास गरियो । हुन त उनीहरु पनि समाचार पठाउने माध्यमको अभावमा नै थिए । वक्तव्य प्रकाशन गरेको केही घण्टापछि नै राजधानीका केही भागमा सुन्न सकिने माओवादी एफएमले त्यो वक्तव्य पुरै पढ्यो ।

“माघ १९ को राज ज्ञानेन्द्रको  कदम असंवैधानिक छ । नागरिकका सबै अधिकार खोसिएका छन् । यो कदमबाट लोकतन्त्र र शान्ति स्थापना संम्भव छैन । यस कदमलाई नागरिक अधिकार र संविधान विरुद्धको शाही ‘कु’ भन्नुपर्दछ । र, यसका विरुद्ध आन्दोलित हुनुको विकल्प छैन । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता त सम्पूर्ण रुपमा निमोठिएको छ । पत्रकार महासंघ यस कदमका विरुद्ध नागरिक प्रतिरोधको अपिल गर्दछ ।” हाम्रो वक्तव्यको मुख्य सन्देश तिनै थिए ।

राजाको सो सैनिक कदमलाई यसरी परिभाषित गर्ने पहिलो संस्थागत धारणा पत्रकार महासंघको नै थियो । कुनै पनि पेशागत वा नागरिक संस्थाको त के कुरा कुनै पनि राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतको पनि राज्यको कदमबारे सार्वजनिक धारणा आएको थिएन । यो धारणालाई आधार मानेर सो शाही कदमबारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले केही दिनसम्म समाचार दिए । नेपाल बार एशोसिएशनले पनि सोही दिन साँझ आफ्नो धारणा सार्वजनिक गरेछ । राजाको कदमबारे धारणा सार्वजनिक गर्ने यिनै दुई संस्था थिए ।  राजाको कदम संविधान अनुकूल नै भएको र सो सम्बन्धमा नागरिकहरुले न्यायिक संघर्षको बाटो मात्र लिनुपर्ने धारणा राख्ने मानवअधिकारवादी संस्था र नेताको जमात व्यापक थियो । शाही ‘कु’ को केही दिनपछि संयुक्त राष्ट्रसंघीय आवासीय कार्यालय पुल्चोकमा भेला भएका नागरिक समाजका व्यक्तिहरुको भेलामा पत्रकार महासंघ र बार एशोसिएशन मात्र एक्लै परेका थिए । तर, समय कालमा तिनै अधिकारवादी चर्का गणतन्त्रवादीमा रुपान्तरण हँुँदै गए । विस्तारै राजनीतिक दलहरु र नागरिक समाज अनी अन्तर्राष्ट्रिय जगत पनि सोही धारणाको नजिकै गोलबन्ध हुँदै गए  र, राजाको निरंकुशता र नागरिक अधिकारविरुद्धको शाही ‘कु’ को अन्त्यको संघर्षमा जुटे । ऐतिहासिक जनआन्दोलनको सिर्जना भयो ।

माघ १९ को सो दिनलाई सम्झँदा आज पनि शाही ‘कु’ लाई परिभाषित गरिएको सो पहिलो वक्तव्य जारी गर्न सकेकोमा गर्व लागेर आउँछ । तथापि त्यो सन्देशले सिर्जना गरेको राजाको दमन सामना गर्न हामी विवस भयौँ । त्यसपछिको ३५ दिनसम्म म पूर्णरुपमा भूमिगत रहनुप¥यो । मेरो घर एक सातासम्म प्रहरीको कब्जामा प¥यो । परिवारले दुव्र्यहार र मानसिक आतंक सहनुप¥यो । म ३६ दिनमा अन्तर्राष्ट्रिय पत्रकार हासंघका अध्यक्षको पहलपछि घरमा बस्न सक्ने भएँ । महासंघका महासचिव विष्णु निष्ठुरीले २२ दिन लामो हिरासतमा रहनुप¥यो । संयुक्त राष्ट्रसंघीय निकायको कूटनीतिक आश्रयबाट प्राप्त सहयोगले देशका विभिन्न जिल्ला र अन्तर्राष्ट्रिय जगतसम्म स्वतन्त्रताका पक्षमा ऐक्यबद्धता जुटाउन र साथीहरुलाई संघर्षमा जोड्न सकियो । पत्रकार महासंघलाई क्षतविक्षत पार्ने सरकारी षड्यन्त्रको हामीले सामना ग¥यौँ । तथापि राजाको शाही ‘कु” विरुद्ध नेपाली जनतालाई दिशाबोध गर्ने ऐतिहासिक क्षणमा पूरा गरिएको सो नागरिक कर्तव्यका कारण सदैव आफ्नो शीर उचो भइरहेको महसुस हुन्छ । एउटा नागरिक दायित्व र नागरिक संस्थाको नेतृत्वको धर्म पूरा गर्न पाएकोमा जीवन सन्तुष्ट छ ।

राजाको शाही ‘कु’ विरुद्ध आवाज दिन राजनीतिक दलहरुलाई तीन हप्ता लाग्यो । बालुवाटार क्वाटरमै अपदस्थ प्रधानमन्त्री शेरबहादुर देउवाले राजाको कदमविरुद्ध एउटा पत्रकार सम्मेलन र वक्तव्य प्रकाशन गर्न समेत सकेनन् । घरमै नजरबन्दमा रहेका काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको धारणा नौ दिन पछाडि बेलायती राजदूतसँग भेटघाट जुटाएपछि मात्र बाहिर आयो । अहिलेका सत्ताशिनहरु त राजाको कदमले शान्ति र विधि दुवै स्थापना गर्ने विश्वासमा केही महिनासम्म ढुक्क भएर महलको छतमा रमाएर घाम तापिरहेकै थिए । जंगलमा युद्ध अभ्यास गरिरहेको माओवादी समेत “अब मालिकसँग वार्ताको अवसर आयो’ भनेर केही हप्तासम्म ‘सकारात्मक प्रतिक्षाको’ रणनीतिमा अलमलिएको   थियो । 

सत्ता मात्रै देख्ने राजनीतिक दलका नेताहरुको भर परेको भए नागरिक हकमाथि चलाइएको डोजरले कयौँ वर्षसम्म निरंकुश सत्तारोहण गरिनै रहने थियो । पत्रकार महासंघ र बार एशोसिएसन लगायतका पेशागत समूहले बनाएको पापड (प्रोफेसनल एलायन्स फर पिस एण्ड डेमोक्रेसी) र विस्तारै संगठित भएको नागरिक समाजले आन्दोलनमा नागरिकहरुलाई नजोडेको भए सायद ज्ञानेन्द्रको भाग्य चम्किनै रहने थियो । तर, सचेत नागरिक दायित्वले हामीलाई सत्यको पक्षमा बोल्न र लाग्न बाध्य बनायो । राजाको बहुलठीपूर्ण सो कदमले देशलाई अन्ततः शान्ति, लोकतन्त्र र गणतन्त्रको मार्गमा पु¥याई छाड्यो । आजको नेपालको अवस्था सन्तोषलायतक छैन, तर राजाको घोर निरंकुश सैन्य शासन रहीरहेको भए अवस्था अझ कति भयावह हुन्थ्यो होला त ? ।

पत्रकार महासंघ ज्ञानेन्द्र सत्ताका विरुद्ध चट्टान सरह उभियो । उनको सरकारलाई पूर्णरुपमा बाहिष्कार गरी त्यतिबेलाका सबै राजनीतिक दललाई एउटै मञ्चमा ल्याएर स्वतन्त्रताका पक्षमा एक ठाउँमा आउन वातावरण बनाइदियौँ । माओवादी र जनआन्दोलन पक्षधरबीच एकता र सहकार्यको लागि सहजीकरण ग¥यौ । माघ १९ को शाही ‘कु’ ले खडा गरेको चुनौतीका विरुद्धको संघर्षले आज पनि नेपाली पत्रकारहरुको गौरब बढाएको   छ । सत्य र स्वतन्त्रताको पक्षमा उभिने संस्कारको बलियो लिगेसी स्थापित भएको छ ।(लेखक दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष हुन् ।) 

(फायल तस्बिर: विशेष मिडिया मिसनमा काठमाडौं आएका अन्तर्राष्ट्रिय पत्रकार महासंघका तत्कालिन अध्यक्ष क्रिस्टोफर वारेन र महासंघका सभापति दाहाल शाही'कु'को केहीदिनपछि पत्रकार सम्मेलनमा ।)


 

ताजा खबर