वाईड बडी संचालन नगरेकामा पर्यटन क्षेत्र चिन्तित 

२०७५ माघ १८ शुक्रबार २२:०६:०० मा प्रकाशित

काठमाडौँ, १८ माघ । पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । 

पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन प्रवद्र्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई अपिल गरेका हुन् । 

विगत लामो समयदेखि जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन उद्योगसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहीत भएसँगै वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको छ । 

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै ध्वजावाहक वाइड बडी खरीद प्रकरणमा देखिएका समस्याले सम्पूर्ण पर्यटन व्यवसायीलाई चिन्तित तुल्याएको विज्ञप्तिमा भनिएको छ । भ्रमण वर्षलाई असफल बनाउन र निगमलाई कमजोर बनाउन गरिएको सो खालको षड्यन्त्र र अवरोध पर्यटन व्यवसायीलाई स्वीकार्य नहुने भन्दै विज्ञप्तीमा आपत्ति जनाइएको छ । 

विज्ञप्ति सार्वजनिक गर्ने संस्थामा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट, नेपाल पर्वतारोहण सङ्घ, होटल एशोसिएशन अफ नेपाल, प्यासिफिक एशिया ट्राभल एशोसिएशन पाटा नेपाल च्याप्टर, हिमालय उद्धार सङ्घ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घलगायत छन् । रासस

ताजा खबर