प्रचण्डको नयाँ तुरुप: पोलिटब्यूरोमा आधा भाग

२०७५ माघ १७ बिहीबार १५:१०:०० मा प्रकाशित

काठमाडौं । एकता भएको आठ महिनासम्म नेपाल कम्यूनिष्ट पार्टीको एकीकरणले पूर्णता पाउन सकेको छैन । एकीकरण सम्पन्न गर्न चार–चार ओटा कार्यदल गठन भईसकेपनि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।

एकीकरण प्रकृया लम्बिदै जाँदा पार्टीभित्र अन्यौल बढेको त छ नै नयाँ–नयाँ शर्तहरुले ठाउँ पाउन थालेका छन् । यसले गर्दा पार्टी विधि प्रकृया अनुसार चल्न सकेको छैन । गत पुस १२ गते सम्पन्न भएको स्थायी समिति बैठकले एकीकरण प्रकृया सम्पन्न गर्न नौ सदस्यीय कार्यदल गठन गरेको थियो । तर, कार्यदलमा एकीकरण प्रकृया बारे सहमति जुट्न नसकेपछि शर्तहरु थप हुन थालेका छन् ।

स्रोतका अनुसार कार्यदलमा शुरुमा एक ब्यक्ति एक पदको कुरा उठेको थियो । तर, पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिने स्थायी समिति सदस्यद्वय शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई लक्षित गरी ल्याईएको एक व्यक्ति एक पदको तुरुपमा सहमति जुट्न नसकेपछि माधवकुमार नेपाल पक्षले प्रदेश कमिटीमा १० प्रतिशत सदस्य थप्ने प्रस्ताव गरेको थियो । नेपाल पक्षले पार्टीको संगठित सदस्य नै नरहेकी कोमल वलीलाई लगायतका प्रदेश कमिटी सदस्यमा परेका तर, पार्टीमा लामो समयदेखि योगदान दिएका दर्जनौ नामहरु छुटेकाले उनीहरुलाई समेट्न हाल कायम प्रदेश सदस्य संख्यामा १० प्रतिशत थप्नुपर्ने प्रस्ताव गरेका थिए । प्रदेश कमिटी गठन गर्नु अघि पूर्व अञ्चल सदस्य हुनुपर्ने मापदण्ड बनाईएको थियो । तर, मापदण्ड विपरित प्रदेश कमिटी सदस्य बनाईएकाहरुले सपथ ग्रहण गरिसकेकाले यो प्रस्तावमा कार्यदलले सहमति गर्न नसकि अध्यक्षद्वयको थाप्लामा पुगेको  छ ।

कार्यदलमा १० प्रतिशतको एजेण्डा आएपछि पूर्व माओवादी पक्षबाट पालिटब्यूरोमा ५० पूर्व एमाले र पूर्व माओवादीबाट ५०/५० प्रतिशतबाट गठन गर्ने नयाँ प्रस्ताव आएको थियो । यस अघि पूर्व एमालेबाट ६० र पूर्व माओवादीबाट ४० को सेरोफेरोमा एकता प्रकृया अघि बढ्दै आएको छ । यसरी सहमति खोजेर एकीकरण प्रकृया सम्पन्न गर्न बनाइएको कार्यदल काम सम्पन्न गर्न भन्दा थप एजेण्डामा फस्न थालेपछि अहिले सुतेर बसेको छ ।
पार्टी एकीकरणमा अहिलेका पूर्व एमालेभित्र देखिएको दुई धारले समस्या गरिरहेको बताइएको छ । पूर्व एमालेबाट एक ब्यक्ति एक पद प्रदेश

कमिटीमा १० प्रतिशत थप लगायतका विषयमा विवाद रहेको मौका छोपेर प्रचण्डले पोलिटब्यूरोमा ५०/५० प्रतिशतको हिस्सा खोजेका छन् । पूर्व एमालेहरु विभाजित भएको अवस्थामा नेकपाभित्र अहिले पूर्व माओवादीलाई एक ठाउँमा राख्न प्रचण्डलेसफलता प्राप्त गरेको बताइएको छ ।  प्रकाश खबरका (http://prakashkhabar.com) अनुसार, स्थायी कमिति बैठकमा पूर्व माओवादीलाई एक ठाउँमा राख्न सफल प्रचण्ड कार्यदलमा रहेका पूर्व माओवादीले पनि एकै स्वर बोलेका थिए । यसले एकिकृत पार्टीमा कसरी आफूहरु हावी हुँदै जाने भन्ने ध्याउन्मा पूर्व माओवादी लागेको बुझिएको छ ।

ताजा खबर